काठमाडाैं, जेठ २६
ज्वानाले सयौँ किसिमका खाना पचाउन मद्धत गर्छ। संस्कृत भाषामा र चरक संहिता दुबैमा ज्वानोको गुणको बखान गरिएको छ। भारतका केही भागमा त ज्वानोले हैजालाई पनि ठीक गर्छ भन्ने विश्वास गरिन्छ ।
सुत्केरीका लागि ज्वानो महत्वपूर्ण खाद्य मानिन्छ। यो बालबालिका, वृद्ध सबैका लागि भोजन र औषधी दुबै हो। यसमा रहेको क्याल्सियम उच्चकोटिको हुन्छ र शरीरमा सजिलैसँग पच्छ। ज्वानोमा धेरै क्याल्सियम हुन्छ। यसले हाडलाई बलियो बनाउँछ ।
ग्याँस भरिँदा
तीन देखि चार चम्चा ज्वानोलाई कागतीको रसमा भिजाउने र छायाँमा सुकाउने । पूरै सुकेपछि यसमा अलिकति बिरेनुन हाल्ने र दिनको दुई चोटी अलिकति तातो पानीसँग चपाएर खाने । त्यसबेलामा चिल्लो, पिरो र मासु नखानु राम्रो हुन्छ ।
बच्चाहरुको नाक बन्द हुँदा
आधा मुठीजति ज्वानोलाई अलि–अलि थिचेर एउटा कपडामा बाँधेर बच्चाको सिराननिर राख्ने । त्यसको गन्धले बच्चाहरुको नाक खुल्न मद्दत गर्छ ।
चिसो लागेका बेला
आधा चम्चा ज्वानोको धुलो र एक चम्चा बेसार एक गिलास पानीमा राखी उमाल्ने र सहन सक्ने तातो पिउने ।
नाक बन्द भएका बेला
एउटा भाँडोमा पानी हाली एक चम्चा ज्वानो पानीमा उमाल्ने र पानीको वाफ लिने ।
खोकी लाग्दा
आधा चम्चा ज्वाना, दुई–तीनवटा ल्वाङ र अलिकति नुन पानीमा मिसाएर बारम्बार पिउने ।
सुत्केरीलाई पनि ज्वानोको सुप बनाएर दिने चलन छ । बिरामीबाट तङ्ग्रिन लागेको बालकदेखि बृद्धसम्म सबैलाई ज्वानोले फाइदा गर्छ । कुपोषण भएका बालबालिकालाई ज्वानको सुप पिउन दिएमा उनीहरुको स्वास्थ्य राम्रो हुँदै जान्छ ।