केही साताअघि अमेरिकाको सेन्टर फर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्शन (सीडिसी) ले पूर्ण खोप लगाइसकेका अमेरिकीहरूले बाहिर खुला क्षेत्रमा हिँडडुल गर्दा मास्क लगाउन नपर्ने घोषणा गर्यो।
नयाँ मापदण्डमा उसले खोपका आवश्यक मात्रा लगाइसकेका मानिसलले एक्लै हुँदा वा खोप लगाइसकेका अन्य व्यक्तिहरूको सानो समूहमा अनुहार ढाक्नु नपर्ने उल्लेख गर्यो।
अमेरिकामा जस्तै नेपालमा पनि खोपको दुवै मात्रा लगाएका व्यक्तिहरूले मास्क लगाउनु नपर्ने कतिपयको धारणा रहेको पाइन्छ।
तर चिकित्सक तथा विज्ञहरूले भने तुलनात्मक रूपमा समृद्ध राष्ट्रको व्यवस्था सिको गर्ने सक्ने अवस्थामा नेपाल नरहेको र नेपाली परिवेशमा खोप लगाइसकेका व्यक्तिहरूले समेत मास्क प्रयोग गर्नुपर्ने बताउँछन्।
सबैभन्दा बढी सङ्क्रामक भनिएको डेल्टा भेरिअन्ट नेपालमा पनि पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
यस्तो सङ्क्रमणशीलता धेरै भएको भेरिअन्ट थोरै भुलचुक हुँदा समेत सर्न सक्ने भएकाले मास्क नलगाई हिँडडुल गर्न सकिने अवस्था नरहेको विज्ञहरूको मत छ।
सबैलाई खोप उपलब्ध गराउन सक्ने सरकारको क्षमता भए पनि कतिपय बिरामीको विभिन्न कारणवश खोप लगाउन नमिल्ने हुन सक्छ। त्यस्तै रोग प्रतिरोधी क्षमता कम भएकाले खोप लगाए पनि खोपले काम नगर्ने हुन्छ। उनीहरूलाई जोगाउन अरूले मास्क लगाउनै पर्ने हुन्छ।