काठमाडौं, असार २।
बेलायत सरकारले नेपालसहित दक्षिण एशियाली र अन्य देशमा जनस्वास्थ्यका क्षेत्रमा प्रदान गर्दै आएको सहायता बजेटलाई कटौती गरेको छ ।
अन्तर्राष्ट्रिय परिवार नियोजन महासंघ (आइपिपिएफ) मार्फत् सहयोग गर्दै आएको करिब एकसय मिलियन अमेरिकी डलर कटौती गरेको जनाइएको छ । महासंघमा नेपाल परिवार नियोजन संघसहित विश्वका १४१ देशका परिवार नियोजन संघ आबद्ध छन् । अब ती देशका सीमन्तकृत किशोर किशोरी, युवा तथा महिलाहरू यौन तथा प्रजनन स्वास्थ्य सेवाबाट वञ्चित हुनेछन् ।
बजेट कटौतीको असर विशेष गरी ती देशका मानवीय विपद् प्रभावित क्षेत्रका सीमान्तकृत समुदायलाई प्रदान गरिँदै आइएको यौन तथा प्रजनन् स्वास्थ्य सेवालाई प्रत्यक्ष असर पुर्याउने जनाइएको छ । साथै सहायता कटौतीले ती देशमा यौन तथा प्रजनन् स्वास्थ्य सेवाका क्षेत्रमा सञ्चालित परियोजना समेत बन्द हुने अवस्थामा पुगेका छन् ।
अमेरिकी राष्ट्रपति जो वाइडनले यौन तथा प्रजनन् स्वास्थ्यको नीति ‘ग्लोबल ग्याग रुल’लाई हटाउने हालै निर्णय गर्नुभएको थियो । सो निर्णय लगत्तै बेलायतले पनि दक्षिण एशियाली मुलुकलाई जनस्वास्थ्यका क्षेत्रमा प्रदान गरिरहेको सहायता बजेट कटौती गर्ने निर्णय गरेको बताइएको छ ।रासस