मनसुनको आगमनसँगै विभिन्न स्थानमा बाढी-पहिरो

काठमाडाैं, असार ३ । मनसुनको आगमनसँगै यस वर्ष बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने जल तथा मौसम विज्ञान विभागले केहि दिनअघि बताउँदै सतर्कता अपनाउन सबैमा आग्रह गरेको थियाे ।

याेपनि हर्नुहाेस् : मनसुन प्रवेशसँगै बाढीपहिरोको जोखिम उच्च, सतर्कता अपनाउन आग्रह

नभन्दै असारको पहिलो दिनमै देशका विभिन्न स्थानमा बाढी-पहिरो भौतिक र मानवीय क्षति पुर्‍याएको छ। मनसुन सुरू भएसँगै लगातार परेको पानीले सिन्धुपाल्चोकदेखि बाजुरासम्म बाढी-पहिरो आएको छ।

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार अहिलेसम्म बाजुरामा दुई जना बगेर बेपत्ता भएका छन्, गोरखामा एक जनालाई खोलाले बगाएको छ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरूण पोखरेलले दिएको जानकारी अनुसार हेलम्बु गाउँपालिकामा मंगलबार साँझ आएको बाढीमा परी ७ जनाको मृत्यु भएको पुष्टि भएको सेतोपाटी अनलाइनले जनाएकाे छ। त्यहाँ केही मानिसहरू बेपत्ता भएका छन्।सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढीले बजारमा क्षति पुर्‍याएको छ। बाढीका कारण होटल छतमा फसेका दुई जनालाई बुधबार नेपाली सेनाको हेलिकप्टरले उद्धार गरेको छ।

यसैगरी, लमजुङको दोर्दीखोलामा मंगलबार साँझ आएको बाढीले हिलेबजारका १३ घर बगाएको छ।स्थानीय क्षितिज लामाकाअनुसार मंगलबार साँझ ६ बजेदेखि बजारमा खोला पसेको थियो। रातभरि खोलाले बजारका घरहरू बगाउन थालेको र अहिले पनि जारी रहेको उनले बताए।

‘कोही त मेला गएका थिए, साँझ घर आउँदा बगाइसकेको थियो’, लामाले भने, ‘राति घर बगाउँदा मान्छे भागेर ज्यान जोगाए, सामान निकाल्न पाएनन्। बाढीले भत्काउन लागेका घरका सामान निकाल्न आफूहरू लागिपरेको उहाँले बताए।

लमजुङका प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले हिलेबजारका स्थानीयको उद्धारमा इन्स्पेक्टरको नेतृत्वमा प्रहरी टोली खटाएको बताए।

मनाङको ङावलमा पहिरोले मर्स्याङ्दी नदी थुनिएको छ। बुधबार बिहानै पहिरो झरेर नदी थुनिएको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिएका छन्।

नदी थुनिएपछि चामे र ताल गाउँलगायत तल्लो तटीय क्षेत्रमा झन् जोखिम बढेको सिडिओ लामिछानेले बताएका छन्।

राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका प्रमुख दिलकुमार तामाङकाअनुसार बाढी पहिरोले मनाङको चामे र तालगाउँमा ५ सय जना मानिस विस्थापित भएका छन्। अविरल वर्षासँगै आएको पहिरोले ठाउँ-ठाउँमा सडक अवरूद्ध भएको छ।

केन्द्रका प्रमुख तामाङकाअनुसार अहिले पर्वत-बाग्लुङ, बेशीसहर-मनाङ, बुटवल-तानसेन, गोरुसिंङे-सन्धिखर्क सडक खण्डमा पहिरो खसेको छ। त्यस्तै सल्यानको कपुरकोटमा पहिरोले सडक अवरूद्ध भएको छ भने साँफे-मार्तडी सडकमा ठाउँ-ठाउँमा पहिरो खसेको छ, त्यस्तै जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीमा पहिरोले बाटो रोकेको छ।

पूर्व-पश्चिम राजमार्गको देवदहमा डाइभर्सन बनाएर सडक खुलाउने प्रयास भइरहेको प्रमुख तामाङले जानकारी दिएका छन्। बाढी-पहिरोको बितन्डाले पीडित भएका नागरिकलाई सरकारले राहत दिने भएको छ।

केन्द्रका प्रमुख तामाङकाअनुसार मनाङमा विस्थापित भएका पाँच सय बढीलाई सेनाको हेलिकप्टरबाट त्रिपाललगायत सामान पठाउन लागिएको छ।

यसैबीच मौसमविद्हरूले अझै १/२ दिन बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सचेतता अपनाउन आग्रह गरेका छन्।

मौसम पूर्वानुमान महाशाखाकाअनुसार यी प्रदेशका थोरै स्थानमा आज-भोलि धेरै भारी वर्षा हुने सम्भावना छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *