काठमाडाैं, असार ४। महाकालीमा पानीको सतह बढेसँगै जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले सजकता अपनाउन सबैमा आग्रह गरेको छ ।
मनसुन सुरू भए लगत्तै अत्याधिक वर्षाका कारण महाकाली नदीको सतह बढ्दै गएको हाे ।
गत जेठ २८ गते मनसुन भित्रिएसँगै देशभर लगातारजसो पानी परिरहेको छ । यो हप्ता मनसुन सक्रिय भई देशभर पानी पर्ने हुँदा बाढी र पहिराको जोखिम रहेकाले सचेत रहन प्रशासनले आग्रह गरेको हो ।
शक्रबार बिहान महाकाली नदीको बहाव पाँच मिटर ८० सेन्टिमिटर पुगेको छ । प्रहरी चौकी दत्तुकाअनुसार छ मिटर नाघ्यो भने खतरा हुन्छ । नदीमा ढुङ्गा तथा ठूला काठ बगिरहेका छन् ।
नदी बढेर सदरमुकाम खलङ्गाको बङ्गाबगड क्षेत्रमा निर्माणाधीन तटबन्धभन्दा माथि महाकाली पुगेको समाचार छ । अहिले नदीले पुरानै स्वरुप लिएको र पानीको बहाव बढ्दा आसपासका क्षेत्रमा जोखिम बढेको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बताएका छन् ।
नदी तटीय क्षेत्रमा बाढी आउन सक्ने सम्भावना रहेकाले जिल्लावासीमा सावधानी र सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ ।
विसं २०७० को महाकाली बाढीपछि तटबन्ध निर्माण भएका कारण अहिलेसम्म सदरमुकाम सुरक्षित रहेको भए पनि सदरमुकामभन्दा माथिल्लो क्षेत्र र दक्षिण क्षेत्रका बस्ती अहिले पनि जोखिममा छन् ।