राहत सङ्कलन गर्न बेलायती अभिनेताले थाले मौन अभियान

एजेन्सी । अभिनेता, टेलिभिजन प्रस्तोता एवं लेखकका सुपरिचित बेलायती नागरिक ब्रायन ब्लेस्डले नेपालमा कोभिड रोकथाम र नियन्त्रणमा सहयोग पुगोस् भनेर रकम सङ्कलन अभियान थालेका छन् ।

‘जीवनको सबैभन्दा गाह्रो चुनौती’का रूपमा उल्लेख गरिएको यो अभियानमा उनी २४ घण्टा प्रयोजित मौन बसेका थिए । आइतबारदेखि थालनी गरेको अभियानमा हालसम्म पाँच हजार पाउण्डभन्दा बढी रकम उठिसकेको छ ।

२४ घण्टा चुप लागेर बस्दा राम्रै अनुभूति भए पनि आफ्ना समर्थकहरूसँग बोल्न नपाएकामा अब बोल्न पाइएको बताए ।

बेलायतको सरे शहरमा रहेको आफनो घरमा मौन समय बिताउनुभएका ८४ वर्षीय ब्लेस्डले आफ्नो अभियानमा साथ दिने सबैलाई धन्यवाद दिए । जस्ट गिभिङ नामक परोपकारी वेबसाइटमार्फत रकम सङ्कलन गर्नुभएका ब्रायनले नेपालसँग आफ्नो प्रगाढ सम्बन्ध रहेको र तीनपटकसम्म सगरमाथा चढ्न गरेको प्रयासको त्यो क्षण सम्झनलायक रहेको बताए ।

फ्यज नामक नेपाली परोपकारी संस्थाको संरक्षकका रूपमा सन् २०१५ देखि रहँदै आएको र यसैमार्फत नेपालीसँग निकटताको सम्बन्ध बढ्दै गएको बताउने ब्रायनले नेपाललाई परेको यो सङ्कटमा सबैले साथ दिन अनुरोध गरेकाे छ ।

उहाँको अभियानबाट जुन महिनाको २५ तारिखसम्म जति रकम सङ्कलन हुन्छ त्यति बराबर नै बेलायत सरकारले पनि थपिदिने हुँदा यो रकमले यो सङ्कटमा केही भए पनि सहयोग पुग्ने उहाँको धारणा छ । यसरी उठेको रकम आफू संरक्षक रहेको फ्यज संस्थामार्फत प्रदान गरिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *