चितवन मेडिकल कलेजमा पोष्ट कोभिडको परामर्श र उपचार शुरु

चितवन, असार ५ । चितवन मेडिकल कलेज (सीएमसी)ले  पोष्ट कोभिडको परामर्श र उपचार सेवा सुरु गरेको छ। कोभिड संक्रमणमुक्त भइसकेपछि देखापर्ने स्वास्थ्य समस्याको निराकरण गर्न सेवा सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ।   

अस्पतालको महत्त्वपूर्ण विभागका प्रमुखहरूको नेतृत्वमा सेवा सुरु गरिएको हो। वरिष्ठ छाती रोग विशेषज्ञ तथा सघन उपचारका प्रमुख डा.शीतल अधिकारी, डा. वसन्त गौली, मनोरोग  विभागका प्रमुख डा.शैलेन्द्र अधिकारी र फिजियोथेरापीका प्रमुख ऋषिकेश साहको विशिष्ट टोलीद्वारा  बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म परामर्श तथा उपचार सेवा दिन थालिएको छ। 

अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा.डा. हरिश्चन्द्र न्यौपानेले कोभिड-१९ संक्रमणमुक्त भएर घर गएका र घरमै आइसोलेसन बसेर निको भएकाहरूमा पोष्टकोभिडको समस्या देखिएकाले यो सेवा सञ्चालनमा ल्याइएको जानकारी दिए। उनका अनुसार कोरोनाको दोस्रो लहरमा धेरै संक्रमितलाई श्वासप्रश्वासको समस्या परेको थियो।

पछिल्लो  समय कोरोना संक्रमित भई निको भएका बिरामीहरू लामो समयसम्म पनि शारीरिक समस्या हुने, शरीर दुःख्ने ÷पोल्ने, हात खुट्टा गल्ने, छाती दुख्ने, छिटो छिटो थकानको महसुस हुने जस्ता समस्या देखिने गरेको छ। 

त्यसैगरी निद्रा नलाग्ने, मानसिक रुपमा कमजोर हुने, उच्च रक्तचाप, हिँड्दा बढी स्वाँस्वाँ हुने र सास फेर्दा असजिलो महसुस हुने जस्ता विभिन्न समस्याहरू देखा पर्ने गरेको प्रा.डा.न्यौपानेले जानकारी दिए। 

साधारणतया कोरोना संक्रमितमध्ये करिब ३० प्रतिशतलाई केही न केही पोष्ट कोभिडका लक्षणहरू देखिने गरेको उनको भनाइ छ। तिनै बिरामीलाई लक्षित गरेर परीक्षण थाालिएको हो। -रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *