कोविड प्रभावित स्वयमसेवकलाई वीमावापतको रकम प्रदान

गएको बर्ष राहत वितरणमा खटिने १३९ जना स्वयमसेवकलाई वडाले सामुहिक वीमा गराएको थियो

काठमाडौँ । काठमाडौँ महानगरको वडा २८ ले गएको बर्ष कोविड महामारीका समयमा राहत वितरणमा खटिने स्वयमसेवकलाई वीमावापतको रकम प्रदान गरेको छ । आज वडामा बोलाएर उहाँहरुलाई वडाध्यक्ष भाइराम खड्गीले रकमवापतको चेक प्रदान गर्नुभएको हो । गएको बर्ष कोविड महामारीका समयमा राहत वितरणमा खटिने १३९ जना स्वयमसेवकको वडाले सामुहिक वीमा गराएको थियो ।

हामीले त्यसबेला महानगरबाट राहत वितरणमा खटिने स्वयमसेवकलाई खाजावापत प्रदान गर्न पठाएको १ लाख रुपैयाँबाट सामुहिक वीमा गराएका थियौँ । आज वीमावापतको रकम प्रदान गर्दै अध्यक्ष भाइराम खड्गीले भन्नुभयो, १३९ जनामध्ये १६ जनालाई कोविड संक्रमण भएको थियो । उहाँहरुमध्ये पनि ९ जनाको पैसा आइसकेको छ । बाँकीको प्रक्रियामा छ ।

हामीले राष्ट्रिय वीमा कम्पनीमा एकमुष्ट वीमा गराउँदा ८३ हजार ४२० रुपैयाँ रकम तिरेका थियौँ । वडासचिव शुशिल कुँवर भन्नुहुन्छ, त्यो निर्णय सही भएको छ । खाजाका लागि बाँडेको भए त्यत्तिकै सकिने थियो । वीमा गराएकाले संक्रमण हुनेले जनही १÷१ लाख रुपैयाँ पाउनुभएको छ ।

यसरी वीमा पाउनेमध्ये युवा सरोकार मञ्चका अध्यक्ष वीरेन्द्र महर्जन भन्नुहुन्छ, हामीले विपदका बेला केही पाइएला भन्ने आशले काम गरेका थिएनौँ । त्यसबेला जोखिम मोलेबापत वीमा रकम पाउँदा खुशी लाग्दो रहेछ । यसै गरी महिला स्वास्थ्य स्वयमसेविका नारायणदेवी तण्डुकार भन्नुहुन्छ, हामी त सधैँ अगाडि परेर काम गर्नु पर्ने मान्छे हौँ । विरामी नहुनु त सबैभन्दा राम्रो तर विरामी परेकाले एकमुष्ट १ लाख रुपैयाँ पाउँदा आशा नगरिएको खुशी आउँदो रहेछ ।

वडाकाअनुसार राहत कार्यमा खटिनेका लागि वीमा गर्ने वडा २८ मात्र हो ।

गएको बर्षको राहत वितरणका लागि स्थानीय क्लव, टोल सुधार समिति, महिला समूह, महिला स्वास्थ्य स्वयमसेविका, उपभोक्ता समितिबाट प्रतिनिधिहरुलाई परिचालन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *