काठमाडौं, असार ६ । यातायात व्यवस्था विभागले अब दुई प्रकारको सवारी चालक अनुमतिपत्र वितरण गर्ने भएको छ ।
सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा (ट्रायल) पास गरेका चालकका लागि सरकारले साउनदेखि छुट्टै लाइसेन्स जारी गर्ने भएको छ ।
यातायात व्यवस्था विभागले ट्रायल पास गरेकाे सुरूकाे एक वर्ष अवधिका लागि क्यूआर कोडसहितको छुट्टै कार्ड जारी गर्न लागेको हो ।
याेसँगै विभागले अब दुई प्रकारको सवारी चालक अनुमतिपत्र वितरण गर्नेछ । ट्रायल उत्तीर्ण गरेका चालकलाई परीक्षणकाल (प्रोभिजनल) र परीक्षणकाल उत्तीर्ण भएका चालकलाई स्मार्ट सवारी चालक अनुमतिपत्र वितरण गरिनेछ ।
विभागका महानिर्देशक नमराज घिमिरेले क्यूआर कोडसहितको छुट्टै पीभीसी कार्ड ल्याउन लागेको जानकारी दिँदै यसलाई एक वर्षको परीक्षण अवधिका उपयोग गर्न सकिने बताए ।
उनका अनुसार ट्रायल पास गरेका चालकलाई एक वर्षपछि मात्रै स्मार्ट लाइसेन्स प्रदान गरिने र त्यस अवधिका लागि क्यूआर कोडसहितको लाइसेन्स प्रदान गरिनेछ ।
पीभीसी कार्डमा स्मार्ट लाइसेन्सको जस्तो चिप हुँदैन । पीभीसी कार्डमा ‘बार कोड’ हुन्छ । बारकोडमा सवारी चालकको सम्पूर्ण विवरण समावेश गरिएको हुन्छ । प्रहरीले बार कोड स्क्यान गर्ने बितिकै त्यो अनुमतिपत्र नक्कली हो या सक्कली भन्ने थाहा पाउँछन् ।
ट्राफिकले क्युआर कोडका आधारमा चालककाे लाइसेन्स जाँच गर्न सकिन्छ भने कार्डमा चालकको सम्पूर्ण आवश्यक विवरण ट्राफिकले आफ्नो मोबाइल फोनमार्फत थाहा पाउन सकिन्छ