ग्रुप अफ डेथमा पोर्चुगल र जर्मनीलाई चुनौती


सेभिया, असार ९ (एजेन्सी)– युरो कप २०२० अन्तर्गत बुधबार समूहचरणका अन्तिम खेल हुँदै छन्, जसअन्तर्गत समूह ‘ई’ का दुई र समूह ‘एफ’ का दुई गरी कुल ४ खेल मात्र बाँकी छन् ।

स्पेनविरुद्ध स्लोभाकिया

समूह ‘ई’ बाट अन्तिम १६ प्रवेश गर्ने ४ वटा टोलीको सम्भावना बाँकी छ । स्पेन मात्र २ अंकका साथ तेस्रो स्थानमा छ भने स्लोभाकिया ३ अंकका साथ दोस्रो स्थानमा छ । स्विडेन ४ अंकका साथ शीर्ष स्थानमा रहँदा पोल्यान्ड १ अंकका साथ चौथो स्थानमा छ । स्विडेनविरुद्ध गोलरहित बराबरीका साथ युरो कप २०२० को यात्रा थालनी गरेको स्पेन दोस्रो खेलमा पोल्यान्डसँग १–१ को बराबरीमा रोकिएको थियो । यता पोल्यान्डविरुद्ध ३ अंक खोस्दै प्रतियोगितामा सुखद सुरुआत गरेको स्लोभाकिया दोस्रो खेलमा भने स्विडेनसँग पराजित भएको थियो ।

त्यसैले दुवै टोलीलाई कम्तीमा दोस्रो स्थान पक्का गर्दैै अन्तिम १६ प्रवेशका लागि जितको विकल्प छैन । यद्यपि बराबरीको नतिजा पनि स्लोभाकियालाई अन्तिम १६ प्रवेश गर्न पर्याप्त बन्न सक्छ । लुइस इनरिकेको टोलीले जारी प्रतियोगितामा उल्लेख्य प्रदर्शन गर्न सकेको छैन । अग्रपंक्तिका खेलाडी नचल्दा उनी निराश बन्दै आएका छन् । स्पेन २००४ पछि पहिलो पटक युरो कपको समूहचरणबाटै बाहिरिने संघारमा छ । सन् २००८ र २०१२ मा युरो कपको उपाधि जितेको स्पेनले २०१६ मा पनि समूहचरण भने पार गरेको थियो ।

स्विडेनविरुद्ध पोल्यान्ड

स्लोभाकियामाथि दोस्रो खेलमा हात पारेको जितले स्विडेनलाई समूह ‘ई’ को सम्भावित विजेताका रूपमा उभ्याएको छ । आइतबार हुने खेलमा पोल्यान्डमाथि जित हात पारेमा स्विडेन समूहविजेताका रूपमा नकआउट चरण प्रवेश गर्नेछ । यद्यपि बराबरीको नतिजाले पनि स्विडेन अन्तिम १६ प्रवेश गर्नेछ । यता मात्र १ अंकका साथ चौथो स्थानमा बसेको पोल्यान्डलाई समूहचरणबाट माथि उठ्ने सम्भावना जीवित राख्नका लागि पनि स्पष्ट ३ अंक आवश्यक छ ।

पोर्चुगलविरुद्ध फ्रान्स

बुधबार समूह ‘एफ’ को अन्तिम चरणको खेलमा पोर्चुगल र फ्रान्स आमनेसामने हुँदा त्यसले सन् २०१६ को युरो कप फाइनलको झल्को दिनेछ । शनिबार जर्मनीसँग ४—२ ले हारेसँगै पोर्चुगलका लागि शीर्ष २ मा बस्दै नकआउट चरण प्रवेश गर्न विश्वविजेता फ्रान्सविरुद्ध जितको विकल्प छैन । पोर्चुगल गोलको लयमा रहेका कप्तान क्रिस्टियानो रोनाल्डोको लय फ्रान्सविरुद्ध पनि निरन्तर भएको हेर्न चाहन्छ ।

सन् २०१६ को युरो कपमा पोर्चुगलले फ्रान्सलाई स्तब्ध बनाएको थियो । त्यस क्रममा समूहचरणका तीनवटै खेल बराबरी गरेको पोर्चुगल तेस्रो स्थानमा बस्ने टोलीमध्ये उत्कृष्ट ४ मा अटाउँदै नकआउट चरण प्रवेश गरेको थियो । फ्रान्सविरुद्धको हारले पोर्चुगलको शीर्ष २ मा बस्दै अघिल्लो चरण प्रवेश गर्ने सम्भावना सकिए पनि तेस्रो स्थानमा बस्ने टोलीमध्ये उत्कृष्ट ४ मा पर्ने सम्भावना भने जीवित रहनेछ ।

‘हामीले जर्मनीविरुद्ध लज्जास्पद हार बेहोर्दा गरेका गल्ती सुधार गर्दै फ्रान्सको चुनाती पन्छाउनु छ,’ पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोसले भने । ग्रुप अफ डेथ मानिएको समूह ‘एफ’ मा ४ अंक बटुलेको फ्रान्स शीर्ष स्थानमा छ भने पोर्चुगल र जर्मनी समान ३ अंकका साथ क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । हंगेरी मात्र १ अंकका साथ चौथो स्थानमा छ । जर्मनीविरुद्ध आत्मघाती गोल उपहार पाएको फ्रान्सले दोस्रो खेलमा हंगेरीसँग पुनरागमनमा १—१ को बराबरी खेलेको थियो ।

त्यसैले पोर्चुगलविरुद्ध बराबरीले मात्र पनि फ्रान्सको अन्तिम १६ प्रवेशको टिकट पक्का गर्नेछ । फ्रान्सको लक्ष्य गत संस्करण घरेलु मैदानमा पोर्चुगलसँग फाइनलमा भोगेको हारको बदला लिँदै समूह विजेताका रूपमा नकआउट चरण प्रवेश गर्ने रहेको छ । ‘मलाई मेरा खेलाडीमा पूर्ण रूपमा विश्वास छ,’ फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्प्सले भने, ‘स्ट्राइकर फिनिसिङमा चुकिरहेका छन्, आशा छ पोर्चुगलविरुद्ध त्यो समस्यामा पूर्णविराम लाग्नेछ ।’

जर्मनीविरुद्ध हंगेरी

फ्रान्सविरुद्धको पहिलो खेमला अभागी साबित बनेको जर्मनीले दोस्रो खेलमा साबिकको विजेता पोर्चुगलमाथि जितका साथ प्रतियोगितामा पुनरागमन गरेको हो । सो जितपछि जर्मनीले अन्तिम १६ प्रवेश समीकरण आफ्नै हातमा फर्काएको थियो । हंगेरीमाथि स्पष्ट जित,जर्मनीको युरो कप २०२० को नकआउट चरण प्रवेशका लागि पर्याप्त बन्नेछ ।

‘हामीले पोर्चुगलविरुद्ध बल नियन्त्रणमा राख्दै तीव्र गतिको खेल खेल्यांै,’ जर्मनीका प्रशिक्षक जोचिम लोउले भने, ‘हंगेरीले बुधबार पूर्ण रूपमा रक्षात्मक रणनीतिका साथ खेलेमा त्यो हाम्रा लागि कठिन बन्न सक्छ । उनीहरूले आफूहरू जस्तोसुकै नतिजा ल्याउन सक्षम छांै भन्ने प्रमाणित गरिसकेका छन् ।’ यता पहिलो खेलमा पोर्चुगललाई ८४ मिनेटसम्म रोकेको हंगेरीले दोस्रो खेलमा विश्वविजेता फ्रान्सलाई बराबरीमा
रोकेको थियो ।

त्यसैले हंगेरी म्युनिखमा घरेलु टोलीलाई स्तब्ध पार्दै अघिल्लो चरण प्रवेशको ढोका खुला राख्न चाहन्छ । ‘हामीले उत्कृष्ट प्रदर्शन गर्न आएका हांै,’ हंगेरीका प्रशिक्षक मार्काे रोस्सीले भने, ‘आशा छ, म्युनिखमा टोलीले अहिलेसम्मकै उत्कृष्ट खेल खेल्दै नतिजा आफ्नो पक्षमा पार्नेछ । हामी कम्तीमा प्रतियोगितामा सुखद बिदाइको लक्ष्यमा छाैं ।’ – आजकाे नागरिक दैनिकमा समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *