काठमाडाैं, असार ५ । गायिका विष्णुमाया व्यन्जनकारको गीत ‘जितः ख्वय्काः छ वने फइमखु’ को म्यूजिक भिडियो आज सार्वजनिक भएको छ ।
कलाकार, पत्रकारहरुको उपस्थितीमा जुममार्फत भएको भर्च्युअल कार्यक्रममा गीत सार्वजनिक गरिएको हाे ।
कार्यक्रममा बोल्दै वरिष्ठ सिने पत्रकार साथै नेपालभाषा म्यूजिक भिडियोका प्रथम निर्देशक विजयरत्न तुलाधरले लकडाउनमा पनि नेपालभाषाको म्यूजिक भिडियोको राम्रो गति लिइरहेकोमा खुसी व्यक्त गर्नुभयो ।
पत्रकार दर्शनवीर शाक्यले गीतको शैलीलाई हेर्दै दर्शकलाई सोही अनुसारको समय अनुभुति पनि दिलाउन सक्नुपर्ने सुझाव राख्नुभयो ।
‘गीतको शैली पराम्परागत ढङ्गको छ भने म्यूजिक भिडियोमा पनि सोही अनुसारको केही समय अगाडीकै वातावरण देखाउनुपर्ने हुन्छ । आधुनिक शैलीको गीतलाई फेरी परम्परागत ढङ्गको प्रस्तुति नसुहाउन सक्छ’ शाक्यको भनाई हो ।
त्यसैगरी पत्रकार बिराजकाजी राजोपाध्यायले म्यूजिक भिडियो वा चलचित्र निर्माण गर्दा निर्देशकले तडकभडक भन्दा सरलता र जीवन्ततामा ध्यान दिनुपर्ने कुरामा जोड दिनुभयो ।
‘म्यूजिक भिडियो वा चलचित्र हेर्दा दर्शकले त्यसका पात्रहरुमा आफ्नै प्रतिबिम्ब देखे वा खोजे निर्देशक सफल भयो भन्न सकिन्छ’ राजोपाध्यायले भन्नुभयो ।
गायिका व्यन्जनकारले गीतका संगीतकार स्वर्गीय पद्मज्योती बज्राचार्यको ज्ञानमाला भजनको साथै आधुनिक गीत संगीत क्षेत्रमा योगदानको बारे चर्चा गर्नुभयो ।
कार्यक्रममा कलाकार गीतका संगीत संयाेजक जुगल डंगाेल, सुरज व्यन्जनकार, स्वतन्त्र संसार महर्जनले पनि आआफ्नो भनाई राखेका थिए ।
म्यूजिक भिडियोका मोडलहरु अनुप शाक्य, सुषमा बज्राचार्य, रोजिना सुवाल, क्यामेरा निर्देशक र भिज्युअल एडिटर अमर चित्रकार, निर्देशक सुरज नापितले आ आफ्नो अनुभव सुनाएका थिए ।
स्वर्गीय मन्त बज्रले रचना गरेको गीतको म्युजिक भिडियोको कथावस्तु सत्यघटनामा आधारित रहेको बताइएको छ ।