काठमाडाैं, असार ३। काठमाडौँ जिल्लाको उत्तरपूर्वी भेगमा पर्ने ऐतिहासिक नगरी साँखुको सबैभन्दा पुरानो भाग्योदय क्याम्पस शंखरापुर नगरपालिकालाई यही असार २ गते हस्तान्तरण गरिएको छ ।
सो हस्तान्तरण कार्यक्रम शंखरापुर नगरपालिकाको सभाहलमा भएको थियो । हस्तान्तरण अघि भाग्योदय क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र मल्ल र शंखरापुरन गरपालिकाको तर्फबाट मेयर सुवर्ण श्रेष्ठले एक सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो ।
भाग्योदय क्याम्पस सञ्चालक समिति र शंखरापुर नगरपालिका बिच हस्तान्तरणअघि भाग्योदय क्याम्पस शंखरापुर नगरपालिकालाई हस्तान्तरण गरिदिने र हस्तान्तरण गरिलिने सम्बन्धि सम्झौता भएको थियो । क्याम्पस सञ्चालक समितिका कार्य बाहक अध्यक्ष दुर्गा प्रसाद मल्ल, उपाध्यक्ष गोबिन्द प्रसाद श्रेष्ठ र निमित्त क्याम्पस प्रमुख बिरेन्द्रप्रसाद श्रेष्ठ तथा शंखरापुर नगरपालिकाका उप प्रमुख शुक्रलक्ष्मी श्रेष्ठ, प्रमुख प्रसासकिय अधिकृत लेखनाथ न्यौपाने , वडा नं ६ का वडाध्यक्ष राधाकृष्ण श्रेष्ठ तथा शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख उप सचिव बौध राज निरौलाको रोहबरमा सो सम्झौता भएको हो ।
यस क्षेत्रमा सर्वसुलभ तरिकाबाट उच्च शिक्षा हासिल गर्ने अवसर प्रदान गर्नका लागि शिक्षाप्रेमी तथा समाजसेवी जोगमेहेर श्रेष्ठको अगुवाइमा बि. सं. २०५९ सालमा यस क्याम्पसको स्थापना भई सञ्चालन हुदै आएको थियो । समयसापेक्ष नयाँ संकायहरु थप गर्दै दक्ष जनशक्ति उत्पादन गरि राष्ट्र निर्माणमा टेवा पु¥याउने हेतुले तत्कालीन सञ्चालक समितिले जनस्तरमा विभिन्न चरणमा छलफल कार्यक्रम सञ्चालन गरि यस भेगका सम्पूर्ण सरोकारवालाहरुको संलग्नतामा क्याम्पसबाट प्रदान गरिदैं आएको उच्च शिक्षाको क्षेत्र बृहत तथा गुणस्तरीय शिक्षालाई निरन्तरता दिनका लागि मिति २०७६ कार्तिक ६ गतेको सञ्चालक समितिको बैठकले निर्णय गरेको थियोे । यसका लागि शंखरापुर नगरपालिका सहमत भएको कारण सञ्चालक समितिको सो निर्णय क्याम्पस सभाबाट मिति २०७७ मंसिर १९ गते पारित गरिएको थियो । क्याम्पस सञ्चालन तथा ब्यवस्थापन शंखरापुर न.पा.लाई हस्तान्तरण गर्ने निर्णय सो बिशेष क्याम्पस सभाले गरेको थियो ।
हस्तान्तरण प्रक्रिया कोभिड १९ महामारीका कारण ढिला हुन गएको थियो । हस्तान्तरण पश्चात् भाग्योदय क्याम्पस सञ्चालन सम्बन्धि कार्यबिधि २०७८ अनुसार क्याम्पसको सञ्चालन तथा ब्यवस्थापन हुनेछ ।
सो अवसरमा नगरप्रमुख श्रेष्ठले क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र मल्ल लगायत सबै पदाधिकारी र साधारण सदस्यहरुमा हार्दिक धन्यबाद ब्यक्त गर्दै यस अवसरमा आगामी दिनमा क्याम्पस संचालन गर्न सबै शंखरापुरबासीहरुमा सुझावको लागि अनुरोध गर्नुभएको थियो ।