बूढानीकलण्ठ नगरपालिका नगर अस्पताल निर्माण र पर्यटन पूर्वाधारमा जोड

काठमाडौं, असार १० । बूढानीकलण्ठ नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रममा आफ्नो पहिलो प्राथमिकतामा स्वास्थ्य क्षेत्रलाई राखेको छ । नगरपालिकाले बुधवार आयोजना गरेको नगर सभाले बहुमतबाट नगर प्रमुख उद्धवप्रसाद खरेलद्वारा प्रस्तुत नीति तथा कार्यक्रम पारित गरेको हो ।

नगर अस्पताल तयार पारेर सेवा थाल्ने, स्वास्थ्य चौकीको पूर्वाधार निर्माण गर्नेदेखि मुटु, मिर्गौला जस्ता विशेष रोगबाट पीडित गरिब वर्गका लागि गरिँदै आएको सहयोग व्यवस्थित गर्नेसम्मका योजना समेटिएको छ ।

ध्यान योगका लागि खुला क्षेत्रको सुधार गर्ने, जनता स्वास्थ्य बीमा कार्यक्रम कार्यविधि बनाएर कार्यान्वयन गर्नेलगायत कार्यक्रमलाई पनि आगामी आर्थिक वर्षमा सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

शिक्षा, सामाजिक तथा मानवीय विकास, आर्थिक क्षेत्र, उद्योग, व्यवसाय र पर्यटन, वन, वातावरण र फोहोर व्यवस्थापन, विपद् व्यवस्थापन, प्रशासन सुधार र जनशक्ति व्यवस्थापन, युवा परिचालन तथा सशक्तीकरण, व्यवस्थित शहरी विकासलगायतलाई पनि नगरपालिकाले आगामी आवको प्राथमिकतामा राखेको छ ।

बूढानीकलण्ठले चालु आवमा रु दुई अर्ब ६७ करोड बजेट विनियोजन गरेको थियो । कोभिड–१९ महामारीका कारण वार्षिक लक्ष्यको औसत ५० प्रतिशत मात्रै योजना र कार्यक्रम कार्यान्वयन भएको नगरपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *