मकवानपुर, असार १०। वाग्मती प्रदेश सरकारले लिच्छवि र मल्लकालीन प्राचीन सम्पदाको संरक्षण र प्रवर्द्धन गर्ने योजना अघि सारेको छ ।
भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले लिच्छवि र मल्लकालीन समयमा निर्माण गरिएको तर संरक्षणको अभावमा जीर्ण अवस्थामा पुगेका ढुङ्गे धारा तथा विभिन्न गढीलाई मौलिकताको आधारमा पुनः निर्माणको काममा तीव्रता दिएको हो ।
राससका अनुसार भौतिक पूर्वाधार तथा विकास मन्त्री रामेश्वर फुँयालले संरक्षणको अभावमा जीर्ण अवस्थामा पुगेका त्यस्ता प्राचीन सम्पदाहरूलाई मौलिकताका आधारमा पुनः निर्माणको काममा तीव्रता दिएको बताए ।
उनले मकवानपुरको थाहा नगरपालिका–२ पुरानो पालुङ गाउँस्थित दुई वटा, वडा नम्बर–९ चित्लाङको गुर्जुधारा र नारायणहिटीमा गरी आठ तथा हेटौँडा उपमहानगरपालिका–९ मा एउटा गरी ११ वटा ढुङ्गे धाराको पुनः निर्माणको काम भइसकेको र यही असार मसान्त भित्रमा सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गर्ने तयारी गरिएको जानकारी दिए ।

मन्त्री फुँयालका अनुसार नुवाकोट, काठमाडौं जिल्लाको शङ्खरापुर र मनोहरा नगरपालिका क्षेत्रमा क्रमशः एक÷एक वटा गरी ३ वटा ढुंगेधाराको निर्माण कार्य सम्पन्न भइसकेको र यही असार मसान्तभित्र सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गर्ने तयारी भइरहेको छ । प्रदेश सरकारले प्रदेशको १३ वटै जिल्लामा वनस्पतिको उत्पादन, जैविक विविधता र सिमसारको संरक्षण तथा बर्खे पानीको थोपा सङ्कलन गर्ने कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गरिएको बताउँदै जनतालाई रोजगारीको अवसर उपलब्ध गराउन सामाजिक विकास मन्त्रालय र कृषि मन्त्रालयसँग सहकार्य भइरहेको छ भन्नुभयो ।