काठमाडौँ, असार १०। आर्थिक वर्ष २०७८/२०७९ का लागि रु दुई अर्ब तीन करोड ७६ लाख ९२ हजार ९२ को बजेट कागेश्वरी मनोहरा नगरपालिकाको नगर सभामा पेस भएको छ ।
नगर सभाको सोमबार सुरु बैठकमा चालुतर्फ रु ४७ करोड ५२ लाख ५९ हजार र पुँजीगत खर्चतर्फ रु एक अर्ब ५६ करोड २४ लाख ३३ हजार ९२ को बजेट विनियोजन गरिएको छ ।
बजेटमा कोभिड–१९ बाट नगरवासीलाई बचाउन स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिइएको छ । मूलपानीमा रहेको नगर अस्पताललाई अक्सिजन, आइसियुसहितको सुविधा सम्पन्न बनाइने बजेट वक्तव्यमा उल्लेख गरिएको छ ।
यसै गरी रोजगारी सृजना एवं पूर्वाधार विकासलाई पनि बजेटमा प्राथमिकता दिइएको छ । कृषि, शिक्षालगायत शीर्षकमा पनि प्राथमिकताका साथ बजेट विनियोजन गरिएको जनाइएको छ ।