सञ्चारमन्त्री नेम्वाङले गरे पद बहाली, कर्मचारीलाई इमान्दार र उत्तरदायी बन्न आग्रह

काठमाडौं,असार ११ । सञ्चार तथा सूचना प्रविधिमन्त्री वसन्तकुमार नेम्वाङले पद बहाली गरेका छन् । शुक्रबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्रालय एवं सम्बद्ध निकाय प्रमुखहरु, पदाधिकारीहरु र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

पदभार ग्रहण एवं स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री नेम्वाङले कानूनको अधिनमा रही विधिपूर्वक राष्ट्र निर्माणको अभियानमा लाग्न सबैमा अनुरोध गरे । संविधानको पालना, मौलिक हकको संरक्षण, जनतालाई सुसूचित गराउने दायित्व सरकारको भएको र सोही अनुरुप मन्त्रालयको जिम्मेवारी हुने भएकाले इमान्दारी र उत्तरदायी बन्न उनले आव्हान गरे ।

‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय लक्ष्य पूरा गर्ने एक प्रमुख निकाय भएकाले प्रविधिमैत्री सार्वजनिक सेवा प्रवाहको सहकार्यमा आउनसक्ने बाधा अड्चन फुकाउन, कोभिड कहर, प्राकृतिक विपत्तिको सामना गर्न तथा मन्त्रालय सम्बद्ध नीति कार्यक्रम कार्यान्वय गर्न आफू सहयोगी साथीको रुपमा रहनेमा उनले विश्वास दिलाए ।

कार्यक्रममा मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले मन्त्रालय एवं सम्वद्ध १८ वटा निकायहरुको क्षेत्रगत एवं विधागत जिम्मेवारी प्रष्ट पारे । समग्र सञ्चार तथा सूचना प्रविधिको क्षेत्रलाई थप प्रभावकारी र व्यवस्थित बनाउन सचिवस्तरीय एकीकृत सञ्चार तथा सूचना प्रविधि नीति तर्जुमा समिति गठन भएको जानकारी समेत दिएकाे टेकपानाले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *