पर्यटकको नेपाल बसाइको अवधि लम्बियो

काठमाडाैं, १७ असार २०७८ ।

सन् २०२० मा नेपालमा आउने पर्यटकको संख्यामा उल्लेख्य कमी आएको भए पनि पर्यटकको बसाइ अवधि भने लम्बिएको छ। सन् २०२० मा पर्यटक आगमन २ लाख ३० हजार संख्यामा खुम्चिए पनि उनीहरूको बसाइ अवधि भने सन् २०१९ को भन्दा १९ प्रतिशतले वृद्धि भएको नेपाल समाज अनलाइनले लेखेको छ।

नेपालमा पर्यटकको औसत बसाइ अवधि १२ दिन हुने गरेको छ। २०२० मा भने १९ प्रतिशतले वृद्धि भई १५ दशमलव १ दिन पुगेको छ। नेपाल पर्यटन तथ्यांक–२०२० का अनुसार नेपालमा पहिलोपटक पर्यटकको बसाइ १५ दिन पुगेको हो।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोमवार नेपाल पर्यटन तथ्यांक–२०२० सार्वजनिक गरेको छ।

सोही तथ्यांकअनुसार पर्यटकको बसाइ अवधि बढेको देखिएको हो। नेपालमा सर्वाधिक पर्यटक आएको वर्ष २०१९ हो। यस वर्ष नेपालमा ११ लाख ९७ हजार १९१ जना विदेशी पर्यटक नेपाल घुम्न आएका थिए। उल्लेख्य मात्रामा पर्यटक आए पनि बसाइ भने साविककै वर्षहरूमा जस्तै औसतमा १२ दिन नै थियो। तर, २०२० मा कोरोनाका कारण संख्या घटे पनि पर्यटकको बसाइ अवधि भने बढेको छ।

कोरोना भाइरसका कारण २०२० मा पर्यटकको बसाइ अवधि बढेको हुन सक्ने मन्त्रालयको अनुमान छ। उक्त वर्ष पर्यटनका धेरै गतिविधि खुला नगरिएको र कोरोना भाइरस नियन्त्रणका लागि बन्दाबन्दी गरिएको थियो। तर, नेपालमा पदयात्रा र पर्वतारोहणकै लागि मात्रै यस वर्ष पर्यटक आएकाले बसाइ अवधि लम्बिन पुगेको व्यवसायीहरू बताउँछन्।

सामान्य अवस्थामा पनि पदयात्रा र पर्वतारोहणको उद्देश्यले आउने पर्यटकको बसाइ अवधि अन्यको तुलनामा बढी हुने गरेको छ।होटेल एशोसिएशन नेपाल (हान) का उपाध्यक्ष विनायक शाह २०२० मा नेपालमा जति विदेशीहरू आए उनीहरू पदयात्रा र पर्वतारोहणका लागि मात्रै आएकाले बसाइ अवधि लम्बिएको तर्क गर्नुहुन्छ।

‘कतार, बराइनको राजकुमारहरू आउँदा पनि लामो समय बसेका थिए,’ उहाँले भन्नुभयो, ‘यसरी पर्यटकहरू पदयात्रा र पर्वतारोहणमा आउँदा बसाइ अवधि लम्बिएको हो।’ २०२० मा अन्य पर्यटकीय क्रियाकलापहरूका लागि नेपाल आउन रोकिए पनि पदयात्रा र पर्वतारोहण गर्ने उद्देश्यले भने विदेशी पर्यटकहरू आएका थिए।

अहिलेको बसाइ अवधिले आगामी दिनमा पनि यत्ति नै लामो अवधि बस्छन् भन्ने यकिन नहुने उहाँको तर्क छ। नेपालमा खोपको व्यवस्था नहुँदा पर्यटक आउने वा बोलाउने विषयमा अन्योल नै देखिएको हुँदा आगामी दिनमा यो अवधि यत्तिकै रहन्छ वा घट्छ, भन्ने विषय निश्चित नभएको व्यवसायीहरूको भनाइ छ।

तथ्यांकअनुसार सन् २०२० मा नेपाल भ्रमण तथा घुम्न आउने पर्यटकको उद्देश्यमा पनि परिवर्तन देखिएको छैन। पदयात्रा, पर्वतारोहण, धार्मिक, बिदा मनाउनेलगायत उद्देश्यले विदेशी पर्यटक नेपाल आउने गर्छन्।त्यसमध्ये यस वर्ष नेपालमा आउने विदेशी पर्यटकमध्ये ६० दशमलव ५ प्रतिशत बिदा मनाउन, १२ दशमलव ४ प्रतिशत साहसी पर्यटन अर्थात् पर्वतारोहण र पदयात्रा गर्न र १५ दशमलव ६ प्रतिशत धार्मिक स्थलको दर्शन गर्न र ११ दशमल ५ प्रतिशत अन्य कार्यका लागि आउने गरेका समाचार आर्थिक दैनिकमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *