सुर्खेत, २०७८ असार १६।
कलिलो चुरे पहाड छिचोलेर चिप्लेमा भएको ब्रेक–थ्रु कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल सुनकोसी–मरिन डाइर्भन लगायतका आयोजना सुरु गर्ने घोषणा मात्रै गरेनन्, नेपाल विकासको नयाँ युगमा प्रवेश गरेको बताए ।
२०७१ चैतमा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले शिलान्यास गर्दासम्म पनि भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाले अहिलेको गति लिनेमा शंका थियो ।
चुरे पहाडमा टनेल बोरिङ मेसिन (टिबिएम) मार्फत १२.२ किलोमिटर लामो सुरुङ निर्माण गर्नुपर्ने याेजनाकाे शिलान्यास कार्यक्रममा तत्कालिन प्रधानमन्त्री कोइरालाले प्रविधिमार्फत नेपालमा सुरुङ निर्माण सफल भए १०–१२ वर्षमै मुलुकले विकासमा नयाँ फड्को मार्छ भनेका थिए ।
‘पूर्णरूपले चुरे पर्वत शृंखलामा अवस्थित सुरुङ निर्माण कार्य जोखिम भएपनि उक्त जोखिमलाई समयमै पहिचान गर्न सक्दा लक्ष्य अगावै निर्माण सम्पन्न गर्न सफल भयौं,’ आयोजना प्रमुख हरिनारायण यादवले भने, ‘सुरुङ निर्माण मात्रै होइन्, अन्य कामहरूको प्रगति पनि अहिलेसम्म सन्तोषजनक छ ।’
२०७२ जेठ २१ गते नेपाल सरकारले चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेड (कोभेक) सँग १० अर्ब ५७ करोडमा सुरुङ निर्माणको सम्झौता गर्यो । मानवरहित अत्याधुनिक प्रविधियुक्त मेसिन प्रयोगबाट २०७४ कात्तिक मसान्तबाट भेरीगंगा नगरपालिका–१ को हात्तीखालबाट सुरुङ खन्न सुरु गरेको टिबिएम २०७७ वैशाख ३ गते चुरे पर्वत छिचोलेर भेरी किनारको चिप्लेमा आइपुग्यो ।
मुलुककै पहिलो बहुउद्देश्यीय, एउटा नदी बेसिनबाट अर्को नदी बेसिनमा पानीको स्थानान्तरण, मेसिनले सुरुङ खन्नेजस्ता विशेषताका कारण यसलाई नमूना आयोजना भन्ने गरिन्छ ।
सुरुङ निर्माण आयोजनाको पहिलो प्याकेज थियो । अहिले भेरी–बबईको दोस्रो प्याकेज अन्र्तगतका संरचना निर्माण भइरहेका छन् । सिभिल संरचना अन्तर्गत बबईमा विद्युत्गृह (पावरहाउस), चिप्लेमा बाँध (ड्याम) र सर्ज साफ्ट निर्माणको काम अहिले अघि बढेका छन् । यी संरचना निर्माणका लागि सिँचाइ विभागले रमण–ग्वाङ्डोन जेभीसँग २०७६ साउन १५ गते ६ अर्ब १६ करोड ५२ लाख १६ हजारमा सम्झौता गरेको छ । दोस्रो प्याकेज अन्तर्गतका संरचना २०८० साउन २९ गतेभित्र सम्पन्न गर्ने लक्ष्य आयोजनाको छ ।
आयोजनाको अहिलेको भौतिक प्रगति ४७ प्रतिशत छ । कोरोनाको पहिलो र दोस्रो लहरमा पनि आयोजनामा काम रोकिएन । ‘राष्ट्रिय गौरवको आयोजना भएकाले बन्दाबन्दीको समयमा पनि हामीले कामलाई निरन्तरता दियौं,’ सिनियर डिभिजनल इन्जिनियर ईश्वरीप्रसाद तिवारीले भने, ‘अहिलेकै गतिमा काम भइरहे निर्धारित समयमै आयोजना निर्माण सम्पन्न हुन्छ ।’ बाँध निर्माणस्थलमा कामदार र अन्यका लागि क्याम्प, निर्माण सामग्री उत्पादनका लागि आवश्यक प्लान्ट, क्रसर उद्योग, प्रयोगशाला लगायतका संरचनाहरू छन् ।
आयोजनाको तेस्रो प्याकेज हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकल संरचनाहरूको ठेक्का प्रक्रिया पनि अघि बढेको छ । तेस्रो प्याकेजको ठेक्का प्रक्रिया असार २१ गतेभित्र सम्पन्न भइसक्ने छ । ‘आगामी आर्थिक वर्षको सुरुबाटै तेस्रो प्याकेजको पनि काम सञ्चालन हुन्छ,’ उनले भने, ‘लक्ष्य अनुरूप काम भइराखेकाले आर्थिक वर्ष २०७९–८० को अन्त्यसम्ममा आयोजना सम्पन्न गछौं ।’ २०६८–०६९ बाट सुरु भएको आयोजना निर्माण सम्पन्न हुँदासम्म ३३ अर्ब १९ करोड ६६ लाख ४२ हजार रूपैयाँ खर्च हुने अनुमान गरिएको छ । याे समाचार नागरिक दैनिकमा छापिएकाे छ ।