नवनियुक्त महाप्रबन्धक र सञ्चालक सदस्यलाई बधाई तथा स्वागत

काठमाडाैं, २६ असार २०७८। 

राष्ट्रिय समाचार समिति (रासस) का नवनियुक्त महाप्रबन्धक र सञ्चालक समिति सदस्यलाई बधाई तथा स्वागत गरिएको छ । रासस कर्मचारी युनियन र प्रेस चौतारी नेपाल, रासस शाखाले शुक्रबार आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बधाई दिँदै स्वागत गरिएको हो । 

सो अवसरमा राससका कार्यकारी अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ ले जागिरे मानसिकताभन्दा सिर्जनात्मक समाचार उत्पादन गर्न आग्रह गर्दै कर्मचारीको सेवा सुविधा वृद्धि, वृत्ति  विकासमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “केही वर्षदेखि रोकिएको कर्मचारीको बढुवा नियमित भएको छ, थप सुधार गर्ने प्रयास जारी छ, हामीले हाम्रा समस्यालाई साझा प्रयासबाट समाधान खोज्नुपर्छ ।”

महाप्रबन्धक सिद्धराज राईले राजनीतिक आस्थाभन्दा माथि उठेर राससको संस्थागत विकासका लागि आग्रह गर्दै सामूहिक रूपमा संस्थागत समस्या समाधानमा लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले कुनै पनि कर्मचारीले जागिर र सेवा सुविधा गुमाउनु नपर्ने गरी कर्मचारीका समस्या समाधान तथा संस्थागत प्रणालीको विकास गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सञ्चालक समिति सदस्य भगवान भण्डारीले सरकार र सञ्चारमाध्यमले राससबाट गुणस्तरीय सेवा चाहिरहेको बताउँदै सोहीअनुरूप काम गर्नुपर्नेमा जोड दिनुभयो । अर्का सञ्चालक समिति सदस्य माधव विद्रोहीले बोर्डका तर्फबाट सकेसम्म श्रमजीवी कर्मचारीका पक्षमा काम गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।  नेपाल पत्रकार महासङ्घ, रासस प्रतिष्ठान शाखाका अध्यक्ष पवित्रा गुरागाईँले समाचार गुणस्तर वृद्धिसँगै  कर्मचारीको सेवा सुविधामा सुधार हुनुपर्ने बताउनुभयो । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, राससका अध्यक्ष प्रेमप्रसाद उपाध्यायले सबै तहका कर्मचारीका गुनासो सम्बोधन गर्न व्यवस्थापन पक्षसँग आग्रह गर्नुभयो । रासस कर्मचारी सङ्घका अध्यक्ष मनोज लामिछानेले समग्र राससको समृद्धिका निम्ति व्यवस्थापन पक्षले एकपक्षीय रूपमा हेर्न नहुने बताउनुभयो । 

रासस कर्मचारी युनियनका अध्यक्ष कालिका खड्का र चौतारी शाखाका अध्यक्ष कृष्णराज गौतमले नवनियुक्त महाप्रबन्धक र सञ्चालक समिति सदस्यलाई बधाई तथा स्वागत गर्नुभयो । सो अवसरमा राष्ट्रिय कविता महोत्सव २०७८ मा तृतीय हुने राससकर्मी प्रकाश सिलवाललाई अध्यक्ष श्यामलले बधाई ज्ञापन गर्नुभएको थियो । -रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *