चितवन । २०७८ असार २५
पूर्व पश्चिम राजमार्गमा भन्डाराबाट हेटौँडातर्फ जाँदै गरेको कारले विपरीत दिशाबाट आउँदै गरेको दुई वटा स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार राप्ती नगरपालिका ३ झुरझुरेस्थित पूर्व पश्चिम राजमार्गमा बा१९च ७९८६ नम्बरको कारले ठक्कर दिँदा प्रदेश ३–००२प ६४८३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक खैरहनी नगरपालिका वडा नम्बर १२ का राजकुमार अधिकारीका ५ वर्षीय छोरा आरुष अधिकारीको मृत्यु भएको हो, बुबा राजकुमार मध्यम घाइते भएका छन् ।
यस्तै उक्त कारले अर्को प्रदेश ३ ००३प ६८८८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा चालक रत्ननगर १५ का निशान भट्टराई र स्कुटरको पछाडि सवार सोही स्थानका सन्तोष पोखरेल घाइते भएका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका आरुषको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा ३ः३५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
पोखरेलको अवस्था मध्यम तथा भट्टराईको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । उनीहरूको पनि सोही अस्पतालमा उपचार भइरहेको छ ।
कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।