पोखरा, २७असार २०७८ ।
निर्माण अवधिमा कुनै खाले अवरोध नआएको भए शनिबार (जुलाई १०) पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल हस्तान्तरण हुनुपर्ने हो । कोरोना भाइरस संक्रमण र केही आन्तरिक अप्ठेरोले तोकिएको समयमा विमानस्थल निर्माण पूरा हुन सकेन । विमानस्थल निर्माण गरिरहेको कम्पनिले एक वर्ष म्याद थप्न माग गरेको छ । काममा अवरोध नआएको भए यो विमानस्थल ६ महिनाअघि नै निर्माण सक्ने लक्ष्य थियो ।
आयोजना प्रमुख विनेश मुनकर्मीका अनुसार अहिलेसम्म ८१ प्रतिशत काम सकिएको छ । अबको ६ महिनाका काम सकिने र बाँकी तीन महिनामा अरू परीक्षण सकिने हुँदा नौ महिना पर्याप्त हुने भए पनि निर्माण कम्पनिले एक वर्षका लागि म्याद थप्न माग गरेको मुनकर्मीले जानकारी दिए । ‘तोकिएको समयमा विमानस्थल पूरा हुन सकेन । पहिलोपटक पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि म्याद थप हुँदैछ,’ उनले भने ।
मुनकर्मीको अनुमानमा अबको ६ महिनामा विमानस्थल निर्माणको सबै काम सकिन्छ । त्यसपछि तीन महिनामा परीक्षणका काम हुनेछन् । ‘अबको नौ महिनामा विमानस्थल तयार पार्ने योजना हो । तर निर्माण कम्पनिले एक वर्ष समय मागेको छ,’ मुनकर्मीले भने, ‘थोरै समय म्याद थपेर त्यो अवधिमा काम नसकिएमा पुनः थप्नुपर्ने भएकोले अहिले नै एक वर्ष म्याद थप्न कम्पनीले आग्रह गरेको छ ।’ म्याद थपको प्रक्रिया अघि बढिसकेको छ ।
उनका अनुसार कोरोनाको तेस्रो लहरको सम्भावना रहेको र फेरि पनि काम रोकिने सम्भावना भएकोले केही बढी समय आवश्यक परेको हो । ‘कोरोना संक्रमणको तेस्रो लहर सुरु भयो भने फेरि काम अवरुद्ध हुने त्रास छ । विमानस्थल निर्माण सुरु भएपछि सोच्दै नसोचेको अवरोध सिर्जना भयो,’ उनले भने, ‘त्यसले गर्दा कामले गति लिन पाएन । अझै पनि काममा अवरोध आउने हो कि भन्ने त्रास छ ।’ अवरोध नआए अबको नौ महिनाभित्र काम सक्ने आफूहरूको लक्ष्य रहेको उनले बताए ।
अघिल्लोपटक प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले २०७३ वैशाख १ गते यो आयोजनाको शिलान्यास गरेका थिए । शिलान्यासको डेढ वर्षपछि विमानस्थलको पूर्वाधार बनाउन थालिएको थियो । विमानस्थल बनाउन चिनियाँ कम्पनी चाइना सिएएमसी इन्जिनियरिङ र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बीच सहमति भएको थियो । म्याद थपिए पनि २०२२ को सुरुका केही महिनाभित्रै व्यावसायिक उडानमा सञ्चालनमा ल्याउने लक्ष्य पनि रहेको उनले बताए ।
उनका अनुसार अहिलेसम्म विमानस्थल निर्माणको धेरै काम सकिएको छ । भौतिक पूर्वाधार सम्पन्न भइसकेको र अब उपकरण जडान र फिनिसिङको काम मात्र बाँकी छ । त्यसले गर्दा कुनै अप्ठेरो नआएमा ६ महिनाभित्रै काम सकिने अनुमान गरिएको हो । ‘यो बीचमा प्राविधिक आउन सकेनन् । अझै पनि विदेशी प्राविधिक आउन सकेका छैनन्,’ मुनकर्मीले भने, ‘कपितय उपकरण ल्याउन पनि सकिएको छैन । ती उपकरण र प्राविधिक आउन नपाउँदा काम ढिला भएको हो ।’
उनका अनुसार विमानस्थलका लागि चाहिने उपकरण अमेरिका, अस्ट्रेलिया, चीन लगायत मुलुकबाट आउनुपर्छ । केही दक्ष प्राविधिक विदेशी नै हुने र उनीहरू आउन ढिलो भएकोले पनि तोकिएको समयमा काम सक्न कठिन भएको उनले बताए । यो विमानस्थलको निर्माण गति हेर्दा तोकिएको समयभन्दा ६ महिनाअघि नै निर्माण सक्ने लक्ष्य थियो । तर कोरोना संक्रमणका कारण एक वर्षदेखि काममा अवरोध हुँदा ढिला भएको पदाधिकारीको भनाइ छ । विमानस्थल बनाउन झन्डै २२ अर्ब रूपैयाँ लागत अनुमान छ । यो रकम अर्थ मन्त्रालयले चीनको एक्सपोर्ट–इम्पोर्ट (एक्जिम) बैंकसँग सहुलियत ऋणका रूपमा लिने सहमति छ । विमानस्थलको अहिलेसम्म २५ सय मिटर लम्बाइ, ४५ मिटर चौडाइ र ३४ सेन्टिमिटर बाक्लो धावनमार्ग तयार भएको छ । त्यस्तै, प्रतिघन्टा ६ सय यात्रु आउजाउ गर्न सक्ने क्षमताको टर्मिनल भवन बनिसकेको छ । जहाजको पार्किङस्थल (एप्रोन) पनि तयार भइसकेको छ । पार्किङस्थलमा ३ ठूला र ८ आन्तरिक उडानका गरी ११ जहाज पार्किङ गर्ने ठाउँ छ ।
वान–वे एप्रोचको यो विमानस्थलमा पूर्वबाट मात्र जहाज अवतरण गर्न सक्छन् । पूर्वतिरै फर्केर उड्ने गर्ने गरी विमानस्थल बन्दैछ । प्राधिकरण र सिएएमसीइ बीचको सम्झौतामा इपिसी (इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्सट्रक्सन) मोडलमा आइकाओ (अन्तर्राष्ट्रिय नागरिक उड्डयन अर्गनाइजेसन) को मापदण्ड अनुसार ‘फोरडी’ मोडलमा विमानस्थल बनाउने उल्लेख छ ।
विमानस्थल निर्माण सम्पन्न भइसक्दा पनि मुख्य दुईवटा समस्या भने अझै समाधान नभएको आयोजनाका पदाधिकारीको भनाइ छ । अहिले पनि विमानस्थल क्षेत्र हुँदै सिँचाइको पानी बग्ने गरेकोले समस्या थपिएको मुनकर्मीको भनाइ छ । सिँचाइको पानीका कारण विमानस्थल क्षेत्र बर्सेनि डुबानमा पर्ने गरेको छ । सिँचाइ विभागले नहर व्यवस्थापन नगरेको मुनकर्मीको भनाइ छ । त्यस्तै, अर्काे समस्या ल्यान्डफिल साइटको छ । विमानस्थलनजिकै अहिले पोखराको फोहर फ्याँक्ने ल्यान्डफिल साइट छ । त्यो ल्यान्डफिल साइट अन्यत्रै सार्ने भने पनि पोखरा महानगरपालिकाले ढिलाइ गरेको मुनकर्मीको भनाइ छ । ‘हामीले विमानस्थल निर्माण सक्न थाल्यौं, तर अरू निकायले असहयोग गर्दा अप्ठेरो परेको छ,’ उनले भने ।
चार दशकअघि पोखरा–१४, १५ र १८ वडा को ३ हजार १ सय ६ रोपनी जग्गा विमानस्थल बनाउन अधिग्रहण गरिएको थियो । त्यसले नपुगेपछि थप ५ सय २१ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । त्यसले पनि नपुगेपछि विमानस्थल वरिपरि १० किलोमिटर सडक बनाउन थप ६० रोपनी जग्गा अधिग्रहण गरिएको छ ।