काठमाडाैं, २९ असार २०७८ ।
नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २ सय ८ औँ जयन्ती आज विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ ।
भानुभक्तले रामायणलाई नेपाली भाषामा अनुवाद गरेका हुन् । विक्रम सम्वत १८७१ असार २९ गते तनहुँको चुँदिरम्भा गाउँमा जन्मिनुभएका भानुभक्तको निधन १९२५ असोजमा भएको थियो ।
कुमारी चोकको हिसाब मिलाउन नसकेर झ्यालखानामा परेका आदिकवि आचार्यले सरकारी कार्यालयमा हुने ढिलासुस्ती र ‘भोलिवाद’ का कट्टर विरोधी भएर कवितामा भोलिको विरोध गर्दै लेखेका हुन् । भानुभक्तका वधुशिक्षा, प्रश्नोत्तर, भक्तमाला, रामगीता, फुटकर रचना लोकप्रिय छन् ।
यस वर्ष पनि गत वर्ष जस्तै कोरोना भाइरसको संक्रमण फैलन सक्ने भएकाले भौतिक दूरी कायम गर्दै विविध कार्यक्रम आयोजना गरी भानु जयन्ती मनाइएको छ ।
भानुभक्तको जन्म जयन्ती भारतको दार्जिलिङ, सिक्किम, भुटान, वर्मालगायत नेपाली भाषाभाषी रहेको देश एवं स्थानमा पनि मनाइएको छ ।