काठमाडाैं, ३० असार २०७८ ।
नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँणले कोभिड–१९ को महामारीलाई परास्त गर्न सबैको सहयोग र योगदानको खाँचो भएकाे बताउनभएकाे छ ।
खाँणले सिंहदरबारस्थित गृह मन्त्रालयमा आज पद बहालीपछि सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै गृहमन्त्री खाँणले भन्नुभयो, “कोरोनाको महामारीबाट बच्नका लागि सबैले गम्भीरतापूर्वक आफ्नो दायित्व र भूमिका निर्वाह गर्न जरुरी छ । कोभिड–१९ को महामारीका क्रममा सुरक्षा निकाय, स्वास्थ्यकर्मी, सञ्चारकर्मी अग्रभागमा रहेर ठुलो भूमिका निर्वाह भइरहेको छ ।”

कोभिड–१९ प्रतिकार्यमा खटिने जुनसुकै नागरिकको जीवन रक्षा गर्नु सरकारको दायित्व रहेको बताउँदै गृहमन्त्री खाँणले भन्नुभयो, “महामारीका लागि समन्वयका साथ समुचित व्यवस्थापन गर्नुपर्छ, आवश्यक ठाउँमा सरकारकाले बजेट व्यवस्थापन र खर्च तथा उपचार गर्न प्रतिबद्ध छ ।”
उहाँले संवैधानिक व्यवस्थाअनुरूप कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबिच समन्वय गरी बनेका कानुनहरूलाई कार्यान्वयन गर्ने भूमिकामा सम्बद्ध निकायले सक्रियताका साथ मिलेर अघि बढ्नुपर्छ भन्ने हाम्रो चाहना रहेको बताउनुभयो ।

उहाँलाई मन्त्रालयमा गृह मन्त्रालयका सचिव महेश्वर न्यौपाने, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद अधिकारीलगायतले स्वागत अभिवादन गर्नुभएको थियो ।
नवनियुक्त गृहमन्त्री खाँणले पूर्वी नवलपरासी जिल्ला विपद् व्यवस्थापन कोषमा त्यहाँबाट माग गरिएको रकम पठाउने फाइल सदर गर्नुभएको थियो । मुलुकका ७७ जिल्लाका विपद् व्यवस्थापन कोषमा आवश्यकताअनुसार रकम रहने गर्छ । सरकारको केन्द्रीय विपद् व्यवस्थापन कोषमा हाल रु एक अर्ब पाँच करोड छ । जिल्ला विपद् व्यवस्थापन कोषबाट क्षतिको विवरण र मापदण्डअनुसार पीडितलाई रकम उपलब्ध गराइँदै आएको छ ।
विपद्मा परेका जनतालाई अप्ठेरो परेका बेला सरकार पीडितको साथमा छ र सहयोग गर्न तत्पर छ भन्ने सन्देश दिन तत्काल राहतस्वरुप यो कोषबाट सहयोग प्रदान गरिन्छ ।