काठमाडाैं, १ साउन २०७८ ।
कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ लिनका लागि यही साउन ६ गते नेपाल वायु सेवा निगमको जहाज चीनतर्फ जाने भएको छ।
चिनियाँ खोप उत्पादक कम्पनीको नेपाललाई खोप उपलब्ध गराउने तयारी नपुगेकाले आगामी बुधबार मात्र नेपाल वायुसेवा निगमको वाइडबडी विमान चीनतर्फ जाने भएको हो। यसअघि असार ३१ गते चीन जाने भने पनि जहाजको तालिका परिवर्तन गरेर एक हप्ता पर सारिएको राष्ट्रिय समाचार समितिले लेखेको छ।
निगमका अपरेशन विभाग प्रमुख दीपुराज ज्युहार्चनले यही साउन ६ गतेदेखि तीन उडानमार्फत नियमित खोप ल्याइने जानकारी दिनुभयो। उहाँका अनुसार चीनसँग खरीद गरिएका खोप लिन पौनै ६ बजे गएर अर्को दिन अर्थात् साउन ७ गते बिहान खोप लिएर जहाज नेपाल आउनेछ।

यस्तै साउन ७ गते पुनः जहाज गएर साउन ८ गते र साउन ९ गते गएर जहाजले साउन १० गते खोप नेपाल ल्याउने छ। चीन सरकारसँग ननडिस्क्लोजर सम्झौतानुसार सरकारले ‘भेरोसेल’ खोप खरीद गरेर ल्याउन थालेको हो। यसअघि असार २५ गते आठ लाख मात्रा खोप चीनबाट ल्याइएको थियो। सरकारले चीनबाट खोप ल्याएपछि नियमितरुपमा खोप अभियान पनि सञ्चालन गरिरहेको छ।
यसैगरी सरकारले खरीद गर्नेबाहेक कोभ्याक्स सुविधामार्फत पनि खोप ल्याइरहेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले ६० लाख जनसङ्ख्यालाई पुग्ने खोप कोभ्याक्सले उपलब्ध गराउने प्रतिबद्धतानुसार खोप आइरहेको जानकारी दिनुभयो। सरकारले असार २८ गते अमेरिकाबाट १५ लाख ३४ हजार ८५० मात्रासहितको जोन्सन एण्ड जोन्सन खोप कोभ्याक्स सुविधाअन्तर्गत अनुदान सहयोग प्राप्त गरेको हो। यसअघि कोभ्याक्स सुविधामार्फत तीन लाख ४८ हजार खोप भारतबाट प्राप्त भएको थियो।
यस्तै जापान सरकारले कोभ्याक्स सुविधाअन्तर्गत जापानमै उत्पादित कोभिड–१९ विरुद्धको एस्ट्राजेनिका खोपको १६ लाख मात्रा नेपाललाई प्रदान गर्ने घोषणा गरेको छ। नेपालमा अहिलेसम्म ६५ लाख ८२ हजार ८५० मात्रा खोप आइसकेको छ।