खुल्लामञ्चमा सुविधा सम्पन्न सार्वजनिक शौचालय निर्माण गरिने — प्रमुख प्रशासकीय अधिकृत ज्ञवाली

काठमाडाैं, ३ साउन २०७८ ।

काठमाडौँ महानगरपालिकाले वीर अस्पताल र विद्युत प्राधिकरण अघिल्तिर खुलामञ्चमा भएका २ वटा पुराना शौचालय भत्काएको छ । सञ्चालकसँगको सम्झौताबमोजिम सञ्चालन भएका सहरी सेवा केन्द्रको सञ्चालन अवधि सकिएकोले त्यस ठाउँमा सुविधाजनक नयाँ शौचालय निर्माण गर्ने कार्यक्रमअन्तर्गत पुराना संरचना भत्काइएका हुन् ।

शौचालय विस्थापन गर्दा व्यवसायीबाट कुनै प्रकारको अवरोध थिएन । नगर प्रहरी बलका प्रहरी उपरीक्षक दिनेशकुमार अर्यालकाअनुसार हटाउनु अघि व्यवसायीलाई सूचना तथा ठाउँ छोड्ने मौका दिएर संरचना भत्काइएको थियो । यस अघि राजस्व विभागले सम्झौताबमोजिमको रकम बुझाएर हिसाब फरफारक गर्न पत्राचार गरेको थियो ।

शौचालय विस्थापन र नयाँ सञ्चालन व्यवस्थापन योजनाका विषयमा प्रतिक्रिया दिँदै महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली भन्नुहुन्छ, ‘२०७३ साल असार २७ गते ५ वर्षका लागि सम्झौता भएको थियो । सम्झौताको अवधि सकिएको छ । ती ठाउँमा सहरी सुन्दरता र आवश्यकताका आधारमा प्रविधियुक्त र सुविधाजनक नयाँ शौचालय निर्माण हुनेछन् । यही कार्यक्रमअन्तर्गत पुराना शौचालय भत्काइएका हुन् ।’

नयाँ बन्ने सार्वजनिक शौचालय बालमैत्री बनाइनेछन् । स्यानिटरी प्याड लिने र विसर्जन गर्ने, नानी बाबुहरुलाई प्याड फेराउनेजस्ता सुविधाबाट महिलामैत्री बनाइनेछ । श्पर्श वा आवाजको उचित संयोजन गरेर तथा ¥याम राखेर अपाङ्गतामैत्री बनाइनेछन् । सरसफाइका लागि पर्याप्त पानी र उज्यालोका लागि बत्तीको व्यवस्था हुनेछ । यस्तै शौचालयबाट उत्पादन भएको फोहोर वातावरणीय रुपमा व्यवस्थापन गर्न सकिने प्रणाली जडान हुनेछ ।’ प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले भन्नुभयो, ‘परम्परागत रुपमा चलेका काठमाडौंका सार्वजनिक शौचालयलाई स्तरोन्नति गर्ने वा विस्थापन गर्नेमध्ये एउटा विकल्पबाट काम हुनेछ । यदि यसो गरिएन भने शौचालयको सेवा उपभोक्तामैत्री बनाउन सकिँदैन ।’

काठमाडौँ महानगरपालिकाले चालु आर्थिक बर्षको नीतिमा एक वडा एक सुविधा सम्पन्न सार्वजनिक शौचालय निर्माण गर्ने विषय उल्लेख गरेको छ । यसै गरी भीड हुने ठाउँमा पहिचान गरिएका होटल रेष्टुरेन्टहरुका शौचालय सार्वजनिक रुपमा सञ्चालन गर्न प्रोत्साहन गर्ने र उनीहरुलाई व्यवसाय करमा ५० प्रतिशत छुट दिने प्रबन्ध गरेको छ ।

यस अघि नै चक्रपथ सडक खण्डको स्वयम्भू बुद्ध पार्कमा र नयाँ बानेश्वरको छक्कुपक्कु पार्कमा स्वचालित नमूना सार्वजनिक शौचालयको सञ्चालनमा ल्याइसकिएको छ ।
महानगरपालिकाले गौशाला, तीनकुने, कोटेश्वर, नयाँबानेश्वर, बबरमहल, थापाथली, त्रिपुरेश्वर, सुन्धारा, एनएसी, न्यूरोड जुद्ध शालिक आसपास, हनुमानढोका, जमल, लैनचौर, सोह्रखुट्टे, बल्खु र कुलेश्वरलगायतका स्थानमा सुविधाजनक सार्वजनिक शौचालय निर्माण गर्ने योजना अघि सारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *