म बाटैमा चिच्याइ रहें, हार गुहार गरिरहें …..

यादवलाल कायष्थ सम्पदाप्रेमी तथा विरोधी दुबैको लागि नौलो नाम होइन । सम्पदाप्रेमीहरुलाई जति नायक पात्र भएका छन्, उति नै खलनायक पात्र भएका छन् सम्पदा विरोधी वा मास्नेहरुका लागि यादवलाल कायष्थ । उनलाई आजकाल हितिम्यानको उपनामले चिनिन्छ । कतै कसैले हिति मास्न लागेको थाहा पाउने वितिक्कै उक्त स्थानमा ढाल बनेर हितिम्यान उभिन जान्छन् । हितिम्यानले विभिन्न ठाउँमा हितिको उत्खनन् पनि सुरु गरिसकेका छन् ।

हिति संरक्षण र उत्खनन् बारे कुराकानीमा उनले २०७४ सालको उतारर्धतिर मात्र हिति अभियान सुरु गरेका बताए । आजको मितिमा २८/२९ महिना मात्रै भएको छ । हिति बचाउ अभियान सुरुवात उनले सोह्रखुट्टेको भोतुपाडेँ  हितिबाट गरेका हुन् ।

कायष्थ जन्मजात सम्पदा बचाउ अभियानका निदर सैनिक भने होइन । उनी नेपाली सेनामा कार्यरत थिए । उनी नेपाली सेनाका एक निदर तथा साहसी सैनिक थिए ।

सैनिक जीवनबाट स्वैच्छिक अवकास लिएपश्चात रेष्टुरेन्ट ब्यावसायी बनेका थिए, यादवलाल कायष्थ । उनको रेष्टुरेन्ट सम्पदामेत्री थियो । रेष्टुरेन्टमा आउने ग्राहकहरुलाई त्यहाँ सजाइएका सम्पदासँग सम्बन्धित तस्बिर लगायतका सामानहरुको बारेमा बुझाउनु उनको दिनचर्या नै भइसकेको थियो ।

तर, एकदिन जवरजस्ती बिना मुआब्जा सरकारले सडक चौडा गर्न थालेपछि पुर्खाका ऐतिहासिक बस्ती विस्थापित हुने देखिएपछि कायष्थ पनि उक्त आन्दोलनमा होमिन पुगे । ‘आँगन छोड्यौं, पेटि छोड्यौं अब घर छोडेर कहाँ जाने’ भन्ने नाराका साथ मैले नै तयार गरेको ब्यानरसहित २०७४ सालमा पहिलो पटक सडक विस्तार आन्दोलनमा होमिएँ ।’

पहिलोपटक आन्दोलनको अनुभव सुनाउँदै उनले भने, ‘निरन्तर दवाव, प्रदर्शनका साथै विभिन्न निकायको सहयोगको कारण सर्वोच्च अदालतले जनताको पक्षमा फैशला सुनाए । पक्षमा फैसला भएकाेले मलगायत साथीहरुमा विशेष किसिमको उर्जा पैदा भयो । ए, राम्रो काममा साथ दिंदा राम्रै नतिजा आउँछ भन्ने मनमा लाग्यो ।’

त्यसपछि २०७४ साल भदौ ७ गते एउटा घटना घट्यो ।

अनिता ताम्राकार र गौतम ताम्राकार दम्पति पाटन जान साँझ ५ बजे घरबाट निस्किएका थिए । असन घर भएका उनीहरू खुलामञ्च नजिकै आइपुग्दा जाममा परे । जाम खुल्नै लाग्दा अचानक पछाडिबाट बा २ ख ७८०६ नम्बरको मिनीबसले पछाडिबाट ठक्कर दियो । ताम्राकार दम्पति लडे । गौतम उठ्न सकेनन् । पत्नी अनिताका अनुसार उनी उठेर पतिलाई तान्न थालिन् । गाडी अगाडि बढ्न थाल्यो । अनिताले एक हातले पतिको खुट्टा समाएर तान्दै अर्को हातले गाडी रोक्न अनुरोध गरे तर गाडी रोकिएन । हेर्दाहेर्दै गौतमको शरीरमाथिबाट गाडी गुडेर गयो । उनी हेरेको हेर्‍यै भइन् । वरपरका मानिस रमिता नै हेरिरहे ।

उनको पतिले सडकबीचमै ज्यान गुमाए । कुनै सहयोगी हात जुटेन । उनी हार गुहार गर्दै चिच्चाउन थालिन् । अलि तल पुगेर गाडी रोकियो । चालक सरासर प्रहरी चौकीतर्फ दौडिए । भीड जम्मा हुन थाल्यो । चितवनका ३४ वर्षीय चालक काँडाघारी निवासी रामप्रसाद पौडेल गोठाटार यातायात व्यवसायी संघमा आबद्ध रहेछन् ।

यादवलाल कायष्थले फेरी अर्को लक्ष्य तय गरे पीडकलाई कारबाही र क्षतिपूर्तिको माग । जसअनुसार मृतकका आफन्त र स्थानीयवासीसँगै उनले पनि प्रत्येक दिन विरोध प्रदर्शन गरिरहे । रत्नपार्कमा गरिएको विरोध प्रदर्शनमा प्रहरीले लाठीचार्जसमेत गरेको थियो ।

मुद्दा भइरहेकोक्रममा मृतकको परिवारलाई राहत प्रदान गर्न स्व. गौतम ताम्राकार परिवार सहायत कोष स्थापना भयो । यहिक्रममा विभिन्न संघ संस्था तथा गन्यमान्य व्यक्तित्वहरुबाट सहयोग रकम जुटाएर स्व. ताम्राकारको परिवारलाई हस्तान्तरण गर्नेकाम पनि भयो उनले भने ।

धेरै समयपछि त्यो मुद्दाको फैशला मृतकको परिवारको पक्षमा भयो  । जसले गर्दा सामाजिक कार्यमा लाग्न थप उर्जा मिलेकाे उनले सुनाए ।

त्यसपछि २०७५ साल असारको पहिलो हप्ता बटुक भैरव मन्दिरको परिसर भत्काउन खोजेको खबर अयो । सडक विभागले लगनखेल–सातदोबाटो सडक २२ मिटर बनाउन भन्दै उक्त मन्दिरको पर्खालमा डोजर लगायो । त्यसको पनि विरोधमा लागें । आफ्नो अनुभवलाई व्यक्त गर्दै उनले भने, ‘बटुक भैरव मन्दिर परिसर भत्काउन खोज्दा म बाटैमा चिच्याइ रहें, हार गुहार गरें ।’

ललितपुरको लगनखेलमा रहेका बटुक भैरवलाई मीननाथको कुलदेवता मानिन्छ । लिच्छविकालीन राजा अंशु वर्माले भारतको प्रयाग भ्रमणबाट फर्केपछि यसको स्थापना गराएका थिए । त्यस मन्दिरलाइ वि.सं. १९९१ सालमा जुद्धशमशेरले जीर्णोद्धार गराएका थिए । बटुक भैरव काठमाडौं उपत्यकामा पुजिने अष्ट भैरवमध्येका एक हुन् । यिनलाई शिवजीको उग्र रूप मानिन्छ।

‘मन्दिर नजिकै सेनाको पेट्रोल पम्प छ । स्थानीयले मन्दिरकै गुठीको जग्गाबाट सडक बनाइएकाले अब सडक विस्तारका नाममा मन्दिर मास्ने गरी काम नगर्न आग्रह गर्दै विकल्पमा सेनाको पेट्रोल पम्प सार्न माग गरें ।’ उनले भने, ‘चौडा सडकको पक्षमा रहेकाहरु भने पम्पको साटो मन्दिरतिरै सोझिइरहेका थिए । पुलिस तथा सेनाको आँखाको तारो हुने गरी डोजर रोकें । जवर्जस्ति भत्काइसकेको पर्खाललाई फेरी सबै साथीभाइहरुको सहयोगबाट जस्ताको त्यस्तै बनाएँ ।’

त्यसपछि निरन्तररुपमा विभिन्न सम्पदा संरक्षणको अभियान चलाई रहेका यादवलाल कायष्थले सधैं देखि रहेको मण्ड फल्चा (सोह्रखुट्टे पाटी) भत्किसकेको थियो । स्थानीयले आन्दोलन गरेर सो पाटीको पुनःनिर्माणलागि ३० लाख बजेट बिनियोजन गर्न सफल भएका थिए । मण्ड फल्चा (सोह्रखुट्टे पाटी) पुनःनिर्माणको जिम्मा १६ वडाले लियाे ।

‘मण्ड फल्चा (सोह्रखुट्टे पाटी) को जग हालेको खुसीको खबर सुनेर हेर्न गाको त जग त अन्तै हालेको रैछ ।’ उनले भने, ‘जहाँ बन्नु पर्ने हो, त्यहाँ नबनाइकन पुलिस चौकी निर जग हालेको देखें ।’

जुन ठाउँमा जग हालेर मण्ड फल्चा (सोह्रखुट्टे पाटी) पुनःनिर्माण गर्न लागेको थियो त्यहाँ करीब २१५ वर्ष पुरानो इतिहास बोकेको भोटु पाडें हिति थियो । यावदलाल कायष्थलाई त्यो हिति संरक्षण गरी पुनःनिर्माण गराउने इच्छा जाग्यो । उनले मण्ड फल्चा ९सोह्रखुट्टे पाटी० जग हालिसकेकोलाई रोकेर हितिमाथि पाटी नबन्ने पक्का गराएर एउटा ऐतिहाकि पुरात्वात्तिक हितिको संरक्षण गरेको बताए ।

यो सम्पदासँग नेपाल–तिब्बत युद्धको कथा जोडिएको छ। वि.सं. १८५५ मा नेपाल–तिब्बत युद्ध भएको थियो। युद्धमा नेपालीहरुले तिब्बतलाई कुती र केरुङ गरेर दुईतर्फि आक्रमण गरेका थिए।

नेपालले तिब्बतलाई जित्दै गएपछि चीनले युद्धविराम गर्न र सहमति गर्न सुझाएको थियो। त्यसपछि नेपाल र तिब्बतबीच केरुङ सम्झौता भयो। तर सम्झैता गरिएअनुसार मापदण्ड पूरा नहुँदा नेपालले ३ वर्षपछि फेरि युद्ध गर्यो। यो पटक तिब्बतलाई चीनका सेनाहरुले सघाए र नेपाली सेना लखेटे। युद्धमा नेपालका भोटु पाण्डेलाई भने तिब्बती सेनाले समातेर बन्दी बनाएका थिए।

पाण्डेले यो अवस्थाबाट छुटकारा पाउन नरदेवीको आराधना गरेका रहेछन्। त्यसको केही समयपछि उनी छुटे।

युद्धबाट बाँच्न सफल भएपछि भोटु कीर्ति राख्ने अभियानमा लागे। उनले नेपाल आएर देवीलाई खुसी बनाउन मठमन्दिर, पाटीपौवा, ढुंगेधारा बनाए। मण्ड फल्चा (सोह्रखुट्टे पाटी) र हिति पनि त्यहीबेला जिर्णोद्धार गरिएको हो। नयाँबजारमा भेटिएको शिलालेख अनुसार यो पाटी वि.सं.१८६४ सालमा बनेको हो।

अलिले आएर उक्त भोटु पाडें हिति पुनःनिर्माण भएको छ । ‘मेरो हितिको अभियान यहि भोटु पाडें हितिबाट शुरु भएको हो ।’ कायष्थले भने, आज २८/२९ महिनापछि यो भोटु पाडें हिति पुनःनिर्माण भएको देख्दा म ज्यादै नै खुशी र भावुक भएको छु । यसले सम्पदा संरक्षण काम गर्न थप उर्जा दिएको छ ।’

One thought on “म बाटैमा चिच्याइ रहें, हार गुहार गरिरहें …..

Leave a Reply

Your email address will not be published. Required fields are marked *