८ श्रावण २०८१, मंगलवार | Tuesday, 23 July, 2024

काठमाडाैं उपत्यकाकाे सभ्यता : बागमती र विष्णुमती

प्राचीन देशहरु मध्ये नेपाल पनि एक हो । प्राचीनकालमा काठमाडौं उपत्यका एउटा ठूलो दह हो । यसको पुष्टि यहाँको भौगोलिक बनावटबाट पनि स्पष्ट हुन्छ । काठमाडौं उपत्यकाको पानीलाई चोभारको गल्छीबाट निकास प्राप्त भइसकेपछि मात्र यहाँ मानवबस्तीको विकास भएको हो । याे तथ्यलाइ धार्मिक र वैज्ञानिक रूपले पनि पुष्टि भइसकेकाे छ ।

५० देखि ४० लाख वर्षअगाडिको प्रतिनुतन युगदेखि काठमाडौं उपत्यकामा भएको पानी सुकेर जान धेरै नै समय लिएको र विभिन्न चरणमा यहाँको पानी बाहिर गएको गोकर्ण, पशुपति गौरीघाट र चोभारको गल्छीले प्रमाणित गर्छ ।

dsfadfdsfdsfds
बागमतीकाे पानी चाेभारस्थित गल्छीबाट काठमाडाैं बाहिर जान्छ । तस्बिर : मनाेजरत्न शाही

पौराणिक कथाअनुसार काठमाडौं उपत्यका तलाउ देव र दानवहरुको क्रीडास्थल हो । तलाउ सुकेपछि यहाँको जंगल देवहरुको क्रीडास्थलको रुपमा परिणत भए । पौराणिक कालदेखि विभिन्न देवदेवीहरुको क्रीडास्थल भएको काठमाडौं उपत्यकामा विभिन्न बंश र जातजातीका राजाले राज्य गरेको तथ्य वंशावली र ऐतिहासिक साहित्यमा उल्लेख भएको छ ।

हिमवत्खण्डमा ‘ज्योतिरुपे मयि क्षेत्रमेतदधदो भविष्यति ।। नागह्रद इति ख्यातं निरुद्ध वाग्मतीजलम् ।। वाग्मत्यां च नदीभूते वने जाने च मण्डले । अर्थात म ज्योतिरुप भएर बस्नेबेला यो ठाउँ ‘नागह्रद’ नामले प्रख्यात दह हुन्छ । बागमतीको पानी थुनिन्छ । पछि बागमतीको पानीले निकास पाएपछि यो ठाउँ जङ्गल हुन्छ भनेर बागमतीको बारेमा उल्लेख गरिएको पाइन्छ ।

करिब १३ करोडवर्षआगाडि अस्तित्वमा भएका नेपालका पर्वत श्रृंखला र उपत्यकामा १ करोडवर्षअगाडिदेखि जीवको अस्तित्व भएको कुरा बुटवल क्षेत्रमा भेटिएको रामापिथेकस अवशेषले पुष्टि गर्छ । पाषाणमा प्राप्त विभिन्न हतियारबाट नेपालको यत्रतत्र प्रागऐतिहासिक मानवहरुको वसोवास भइसकेको तथ्य स्पष्ट भइसकेको छ । बागमती, विष्णुमती, नारायणी, कोशी आदी नदीको किनारमा तथा बर्दिया, दोलखा, काठमाडौं उपत्यका, नवलपरासी, काभ्रेपलाञ्चोक, मोरङ, झापा, पाल्पा आदि क्षेत्रमा प्रागऐतिहासिक मानवको बसोबास भएको स्पष्ट प्रमाण छन् । पछि यि सबैको केन्द्र काठमाडौं उपत्यका भयो ।

विश्व इतिहासमा प्राचीन सभ्यताहरु कुनै न कुनै नदीको किनारामा विकास भएको पाइन्छ । इसापूर्व दश हजारवर्षपहिलाको प्राचीन मिश्र (इजिप्ट) देशको सभ्यता नाइल नदी वरिपरि विकास भएको हो । मेसोपोटामियाको सुमेरियनहरुको सभ्यताको विकास टिगरिस र युफरेटर्स नदीको उपत्यकामा विकास भएको हो । ह्वाङ्ग–हो र याङ्ग–से–काङ्ग नदीको वरपर चिनियाँ सभ्यताको विकास भएको र सिन्धुघाटी सभ्यता अर्थात इन्दुज भ्याली सिभिलाइजेसन पनि पञ्जाबको सिन्धु नदीसँगै इशापूर्व १५०० वर्षअगाडि आर्यहरुले विकास गरेको इतिहास छ भनेर डेभिस एच.ए.ले आफ्नो An Outline History of the World भन्ने किताबमा लेखेका छन् ।

काठमाडौं उपत्यका पहिला पानीले भरिएको एउटा ठूलो तलाउ थियो । विभिन्न ठाउँबाट यहाँको पानी बाहिर गएपछि बनेको उपत्यका नै काठमाडौं उपत्यका हो ।इतिहासकारहरुका अनुसार जब काठमाडौं उपत्यकाको पानी बगेर बाहिर गए त्यसपछि यो एउटा उर्वर भूमिको रुपमा परिणत भएको हो ।

काठमाडौं उपत्यकाको पुरानो सभ्यताका रुप स्थापित बागमती सभ्यतालाई लिइन्छ । काठमाडौं उपत्यकाको भूमि उर्भर हुनुको मुख्य कारण बागमती र विष्णुमती नदीसँगै अरु स–साना नदी तथा खोलाले गर्दा हो । उर्वर भूमि भएकै कारण यहाँ मानवबस्तीको विकास भएको हो । मानवबस्तीको विकास हुने क्रममा बनेको सभ्यतालाई नै बागमती सभ्यता भनिन्छ ।

परापूर्वकालदेखि बागमती नदी र विष्णुमती नदीबाट सिञ्चित भूमि नै बागमती सभ्यता हो । यस पूण्य भूमिको एकातिर ज्यातिर्लिङ्ग पशुपतिनाथ छ भने अर्कोतिर ज्योतिरुप स्वयम्भूनाथ छ ।

इसापूर्व दोश्रो वा पहिलो शताब्दीभन्दा पहिलेको बागमती सभ्यताको विकासका कुनै प्रमाण फेला परेको छैन । सन् १९८४ देखि १९८९ सम्म हाँडीगाउँमा भएको उत्खनन्ले बागमती सभ्यताको उद्गमस्थल नै बागमती नदीको शाखा नदी धोवीखोलाको नजिकैको हाँडीगाउँ, मालीगाउँ र विशालनगर भएको देखाउँछ । त्यसपछि दक्षिण भेगमा बागमती नदीको आसपास ब्रम्हटोल, ह्यूमत, लगन, जैशिदेगल आदी स्थानमा विस्तारै बस्ती विकास भएको हो ।

बागमती सभ्यताका अध्ययता डा. साफल्य अमात्यका अनुसार नेपालमा बागमती सभ्यताको विकास भने पूर्वमा पशुपति आर्यघाटमा बग्ने बागमती नदी, दक्षिणमा बागमती नदी, बागमती, विष्णुमतीको संगम टेकु दोभान र पश्चिममा विष्णुमती नदी भित्रको भूभागमा भएको हो । इतिहासकार शिरोमणी बाबुराम आचार्यका अनुसार इशापूर्व ७५० मा काठमाडौं उपत्यकामा सभ्यताको सुरु भइसकेको छ । काठमाडौं उपत्यकामा भएका सूर्यमूर्तिहरुमा कुशाण राजाहरु (इर्शापूर्व १८५–६३) को भेषभूषा सजिएको पाइन्छ । यसले इशापूर्वको दोश्रो शताब्दीको उतारर्ढमा यहाँ बागमती सभ्यताको विकास भइसकेको थाहा पाउँछ ।

बागमती र विष्णुमती नदीकाे मिलन हुने टेकु दाेभान । तस्बिर : मनाेजरत्न शाही

अमात्यका अनुसार काठमाडौं उपत्यकामा जति पनि धर्म, कला र संस्कृतिको विकास भयो, जति पनि वास्तुकला, मूर्तिकला विकास भयो त्यो सबैको श्रेय यहाँ विकास भएको सभ्यतालाई नै जान्छ । काठमाडौं उपत्यकाको सबैभन्दा पुरानो सभ्यता भनेको बागमती सभ्यता हो, जुन बागमती र विष्णुमती नदीको किनारामा विकास भएको हो । यी नदीको पानीले गर्दा यहाँका भूमि उर्वर भई खाद्यान्न र अमृतजलको उपभोग गर्ने अवसर पाएका कारणले नै यहाँ मानवबस्तीको विकास सम्भव भएको हो ।

वराह पुराणमा हिमशिखरबाट बगेकाे बागमतीलाइ गंगाभन्दा सयाैंगुणा पवित्र भएकाे उल्लेख गरिएकाे छ । बागमतीकाे जल ग्रहण गरेमा वा बागमतीमा स्नान गरेकाे खण्डमा सात पुस्तालाइ मुक्ति मिल्छ ।

हिन्दु धर्मका अनुसार विष्णुकाे पाउबाट अएकाे पानी र बाैद्धधर्मका अनुसार भिक्षुहरूकाे केश बगाउन प्रयाेग भएकाे पानी नै विष्णुमती हाे । स्वयम्भू पुराणमा क्रकुच्छन्द बुद्धले मुखबाट निकालेकाे पानी बागमती र भिक्षुहरूकाे केश बगाउन प्रयाेग भएकाे पानी केशावती अर्थात विष्णुमती भनेर लेखिएकाे छ ।

सारा नेपालीको आस्था एवं विश्वासको केन्द्रबिन्दु बागमती नदीकाे उद्गम स्थल शिवपुरी जलाधार क्षेत्रको बागद्वार हाे ।  

बागमती नदीमा विष्णुमती, टुकुचा, धोबीखोला, मनहरा, हनुमन्ते, कोड्कु, बल्खु र नख्खु खोला मिसिएका छन् । ढल सीधै नदीमा मिसाइएका कारण कुनै बेलाको स्वच्छ बागमती अहिले प्रदूषित बनेको हो ।

साथै बागमती काेरिडाेर र विष्णुमती काेरिडाेर बाटाेले गर्दा यी नदीहरू खुम्चिन पुगेकाे छ। साथै यी नदीले छाेडेका भूभागहरू अहिले अतिक्रमणमा परेका छन् । इतिहासकाे कालखण्डमा विशेष स्थान भएका यी दुइ नदीहरूकाे बहावलाइ विभिन्न ठाउँमा ताेडमाेड गरिएकाे छ । काठमाडाैं उपत्यकाकाे मानव सभ्यताकाे सुरूवात हुनुकाे कारकतत्व भएका यी दुइ नदी अहिले विभिन्न बहानामा अतिक्रमित हुन थालेकाे छ ।

टेकु दाेभान र बल्खुपुल बीचकाे अतिक्रमित भूभाग । तस्बिर : मनाेजरत्न शाही

२०७३ सालकाे एक रिपार्टका अनुसार बागमती तथा विष्णुमती नदी किनार अतिक्रमण गरी एक हजार ४६५ परिवारले अव्यवस्थित बसोबास गरेका छन् । विसं २०४७ देखि सुकुम्बासीका नाममा काठमाडौँ उपत्यकाका नदी किनार अतिक्रमण गर्न सुरु भएको जनआन्दोलन २०६२/६३ पछि नदी अतिक्रमण वृद्धि भएको रिपाेर्टमा उल्लेख छ । 

सिनामङ्गल पुलमुनिको वाग्मती नदी किनारमा आठ, सिनामङ्गलको गुह्येश्वरी विद्यालय नजिक ४०, सिनामङ्गल गैरीगाउँमा ६०, सिनामङ्गल जागृतिनगरमा २००, नयाँ बानेश्वर शान्तिनगरमा ४००, शङ्खमूलमा १००, थापाथलीमा १०८ र बल्खुमा ३१८ परिवारले नदी किनारकाे जग्गा सुकुम्बासीका नाममा अतिक्रमण गरेका छन् ।  

यसैगरी विष्णुमती नदी किनारको महादेव खोलामा ७० र बालाजु क्षेत्रमा १५५ परिवारले नदी किनार अतिक्रमण गरेका छन् । अतिक्रमणलाई राजनीतिक संरक्षण दिई राज्यका सम्बन्धित निकायबाट बिजुली र पानीको लाइन एवम् मतदानको अधिकार प्रदान गरी आधिकारिकता दिइएको पाइन्छ ।

जीवनयापनको आधार मात्रै नभई मृत्युपश्चात मुक्ति मोक्षको लागि पार्थिव शरीर जलाइसकेपछिको खरानीलाई विसर्जन गर्ने आधार पनि यही बागमती विष्णुमती नदी हो । काठमाडौं उपत्यकामा मानव सभ्यताको सुरुदेखि नै बागमती र विष्णुमती नदी जोडिएको छ । यो सभ्यताको सम्बन्धलाई कालान्तरसम्म बचाई राख्न बागमती र विष्णुमती नदीलाई निर्वाध ढंगले बग्न दिनु आजको आवश्यकता हो । अनि यो बागमती सभ्यतालाई बचाउने जिम्मा केवल काठमाडौंबासी वा उपत्यकावासीको मात्र नभई सिंगो नेपाल राष्ट्रको हो ।

लेखक नेवाः पत्रकार राष्ट्रिय दबू काठमाडाैं जिल्लाका अध्यक्ष हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *