बुंगदेवता, मच्छिन्द्रनाथ : लेखाजाेखामा कथा र इतिहास

इतिहासलाई सत्य मान्य वा कथालाई, याे जिम्मेवारी नयाँपुस्ताको काँधमा छ । बुंग देवताको जात्रा काठमाडाैं उपत्यकाकाे संस्कृति अनुसार नै मनाइन्छ । धार्मिक आस्थाका बुंग देवतालाई रातो मच्छिन्द्रनाथ वा मत्सेन्द्रनाथ पनि भनिएको पाइन्छ ।

त्यस्तै बौद्ध अनुयायीहरूले बुंग देवतालाई करुणामय वा पद्मपाणी लोकेश्वर पनि भनिन्छ । यथार्थमा यस देवता के हो भनेर निष्कर्ष निकालेको खण्डामा धेरै विवाद आउन सक्छ ।

आजकाल मूलधारका संचार माध्यमले यस देवतालाई ‘रातो मच्छिन्द्रनाथ’ भन्न थालेकाे छ । त्यहिकारण धरैजसोले यस देवतालाई रातो मच्छिन्द्रनाथ कै नामले चिनिन्छ ।

मच्छिन्द्रनाथ वा मत्सेन्द्रनाथको इतिहास हेर्ने हो भने यो एक सिद्ध योगीको रुपमा पाइन्छ । गोरखनाथका गुरु मत्सेन्द्रनाथ भनिएको तथ्यलाई पनि हामिले नकार्न सकिन्दैन ।

प्रचलित कथाहरुमा पनि गोरखनाथले कर्कोतक नागराजलाई आसन बनाएको कारणले उपत्यकामा पानी नपरेको भनेर पढ्न वा लाेककथाअनुसार सुन्न पाइन्छ । गुरु मत्सेन्द्रनाथको उपत्यकामा आगमनसँगै गोरखनाथ आसनबाट उभिएर नमन गरेकोले नाग उम्कन सफल भएको र उपत्यकामा पानी परेको भन्ने लोककथा छ ।

मत्सेन्द्रनाथको तस्बिर वा मूर्ति भारतका ठाउँ–ठाउँमा पाइन्छ । १२औं सताब्दीको अन्त्य र १३औं सताब्दीको शुरुवाततिर गोरखनाथको चर्चा भएकाे इतिहासमा छ । गोरखनाथका गुरु भएकाले मत्सेन्द्रनाथको समयकाल पनि समकालीन नै हुने भयो । दुईजना योग गुरुहरु भनि भारतको इतिहासमा पनि उल्लेख गरिएको छ । तर, भारतमा पुजा गरिने मत्सेन्द्रनाथ र नेपालमा पुजा गर्दै आएको देवताको आइकोनोग्राफी देखि लिएर यसको मूल्य मान्यता मा पनि धेरै नै फरक भएको पाइन्छ । त्यसैले यी दुईबीचमा के समानता छ भन्ने अनुसन्धानको विषय हुनुपर्छ ।

मत्सेन्द्रनाथ वा मच्छिन्द्रनाथ वा बुंगदेवताको लोककथाअनुसार नरेन्द्रदेव राजाको पालामा आसाम गई ‘बुंग देवता’ ल्याइएको भनिन्छ । नेपालको इतिहासमा भने अहिलेसम्म तीन जना नरेन्द्रदेव पहिलो लिच्छविकालमा, दोस्रो ११औं शताव्दीमा अनि तेस्रो १२औं शताब्दिमा फेला परेका छन् ।

१२औं शताब्दिका नरेन्द्रदेवको पालामा बुंगदेवताको जात्राको लिखित रुपमा नै अभिलेख पाइन्छ । वंशावलि वा विभिन्न लोककथाअनुसार नरेन्द्रदेवलाई गुणकामदेवराजाको छोरा भनिएको छ। यो हिसाबले नरेन्द्रदेव १०औं शताव्दीका हुन आउँछ । त्यस्तै, डेनियल राइटको वंशावलिअनुसार नरेन्द्र देव गुणकाम देवभन्दा आठपुस्ताअगाडिको भनिएको छ ।

त्यसैले यी नरेन्द्रदेव अंशुवर्मा पछि सँगसँगै भेटिन्छ । यसबाट यी नरेन्द्रदेव लिच्छविकालीन भनी पुष्टि हुन्छ । चीनको इतिहाससँग जाँच्ने हो भने यी नरेन्द्र देवको राज्यकाल ७ औं सताव्दीको हुन आउँछ । जुन समय भनेको सन् ६४३ तिरको हो ।

हेमराज शाक्यको स्वयम्भु महाचैत्यअनुसार बुंगमतिस्थित अंशुवर्माको शिलापत्रमा अन्न धेरै उत्पादन भई कखुरा, बंगुर, माछालाई दुःख कष्ट नदिएकोले कर रोका गरेको उल्लेख गरिएको पाइन्छ । उक्त शिलापत्रबाट बुंगम अर्थात बुंग अत्याधिक अन्न फल्ने देस भनेर प्रष्ट हुन्छ ।

नेपाल संवत् शुरुहुनु पहिला त्यस्तो भनेको सन् ८८० आगाडिको धटनालाई थप आधिकारीकता गोपालराज वंशावलीमा नेपालका राजा नरेन्द्रदेव र आचार्य वन्धुदत्त दुइजनालाई श्री बुंगम लोकेश्वरया जात्रा मनाउने श्रय दिएकोबाट हुन जान्छ । नेसं ३४७ – ३५५ (सन् १२२६ देखि सन् १२३४ सम्म नेपालमा बसेका) मा चीनबाट आएका एक भिक्षुले बुंगस्थित अवलोकितेश्वर भगवानको अदभूत मूर्तिको वर्णन गरेको छ । यस तथ्यबाट के स्थापित हुन्छ भने बुंगम देवता नेवारहरुको मौलिक देवता हो । जसलाई वर्षा, कृषि र अन्नका देवताका रुपमा लिन सकिन्छ ।

ऐतिहासिक प्रमाणबाट नेपाल संवत् शुरु हुनु अगाडि देखि नै बुंग र बुंगदेवताको अस्तित्व फेला परिसकेको हुनाले अब यसमा दुइमतको स्थान छैन । १२ औं सताब्दीको आसपास अस्तित्वमा आएको मत्सेन्द्र नाथको बिषयमा भने बुझ्न जरुरी छ ।

नेपालको इतिहासमा गोर्खाका राजाले काठमाडौं उपत्यकामाथि जित हासिल गरिसकेपछि नयाँ नयाँ इतिहास र कथा लेखिएको पाइन्छ । यहाँका थ्याःसफूको आधारमा लेखिएका ति नयाँ इतिहास र कथाको अनुसन्धान गर्ने समय आइसकेको छ ।

सबैले बुझ्नु पर्ने एउटा कुरा के हो भने नेवाः वंशावलीमा कतै पनि बुंगदेवतालाई मच्छिन्द्रनाथ वा मत्सेन्द्रनाथ भनी उल्लेख गरिएको पाइन्दैन । यो बिषयमा थप अनुसन्धान हुन बाँकी नै छ ।

सन्दर्भ समाग्री
जोन के लक, रातो मत्सेन्द्रनाथ अफ पाटन एण्ड बुंगमति
ज्योतिरत्न शाक्य, बुंगद्योया बाखं
लाइडेन रिसर्च पेपर, नाथ सम्प्रदाय

Leave a Reply

Your email address will not be published. Required fields are marked *