मेट्रो संवाददाता
२८ साउन २०७८ १६:१८
साउनको महिना। हरिया चुरापोते किन्न मानिसहरुको भिड लाग्छ काठमाडौंको इन्द्रचोकमा। आकाश भैरव अघि रहेको ‘इन्द्रचोक कश्मिरी बजार’ बिहानैदेखि व्यस्त रहन्छ यो बेला सिजनमा।
अरु महिनापनि ग्राहकको कमी हुँदैन। सँगै रहेको वटु क्षेत्रमा हुर्किए त्यहाँ व्यापार गर्दै आएका मुसलमान समुदाय। अहिले शहरीकरणसँगै नेवारहरुसँगै त्यहाँका मुसलमान उनीहरु पनि यत्रतत्र छरिए। घर नभएपनि त्यहाँ हुर्केका मुसलमानहरुले इतिहासको जग छाडेनन्। उनीहरुलाई इन्द्रचोकसँग जोडिरह्यो भाषाले। नेपालभाषाले।
‘इन्द्रचोक कश्मिरी बजार’ मा ख्वाजा असद शाहको चुरापोतेको बजार छ। काठमाडौंमा नै जन्मेका ख्वाजा मामाघर वटुमा हुर्के। रैथाने नेवार समुदायको घना बस्तीमा हुर्केका उनी नेवारी कला संस्कृतिसँग घुलमिल छन्। नेवारहरुकै बीच उठबस। त्यसैले पनि नेपाल भाषामा उनको राम्रै पकड छ। उनी जस्तै त्यहाँ पुस्तैनी पसल भएकाहरु अधिकांश वृद्धवृद्धाहरु नेपालभाषा बुझ्छन्, बोल्छन्।
ख्वाजा त पुराना पुस्ताका भए। नयाँ पुस्ताका मुसलमान युवाहरु पनि अहिले त्यस क्षेत्रमा सक्रिय छन्। बोलिरहेका छन् नेपालभाषा। युवा पिँढीलाई सिकाउन चाहन्छन् नेपालभाषा। उनीहरु आफूलाई ‘नेवा: मुस्मा’ भनेर चिनाउने प्रयासमा छन्। तर, भाषा सिक्ने कहाँ ? सिकाउने कसले ?
काठमाडौं महानगरपालिकाले गत वर्षको शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम लागू गर्यो – येँ देय् मह्सीके। आफ्नो धार्मिक अस्तित्वसहित भाषिक अस्तिव समेत खोजिरहेका नेवा: मुस्माका लागि यो सुनमा सुगन्ध भयो। नेवा: मुस्माका लागि मात्रै होइन काठमाडौंसँग जोडिएका हरेक समुदायका लागि यो काठमाडौं चिन्ने अवसर थियो।
अहिले नबोले भावी पुस्ताले भनिरहनेछन् : का का म्वाला, छु मतलव !
काठमाडौं महानगरपालिका क्षेत्र भित्र मानिने चाडपर्व, संस्कृति, सीप, व्यवसाय, नैतिक शिक्षा, भौगोलिक स्वरुप, रहनसहन, भाषा र लिपी जस्ता विषयबारे परिचित गराउने उद्देश्यले उक्त विषयको पठनपाठन सुरु गरेको हो। कक्षा १ देखि ८ सम्म लागू गरिएको यो स्थानीय पाठ्यक्रम नेपाल भाषामा छ।
तर, काठमाडौंका रैथाने महानगरपालिकाले स्थानीय पाठ्यक्रम लागू गरेपछि जति खुशी भए आलोचना गर्नेहरु पनि मैदानमा उत्रिए। गैर नेवारहरुलाई नेपाल भाषा लाद्न खोजेको आरोप लगाए। रञ्जना लिपिमा नै स्थानीय पाठ्यक्रम पढाउन खोजिएको भन्दै भ्रम सिर्जना गरे।
आलोचना गर्नेहरुले बुझ्न चाहेनन् कि यो पाठ्यपुस्तक नेवार समुदायका बालबालिका प्रति लक्षित मात्रै छैन। यो काठमाडौं महनगरमा बस्ने सबै समुदायका विद्यार्थीका लागि बनाइएको हो। देवनागरी लिपी मै तयार गरिएको यो पाठ्यपुस्तक कसैलाई भाषा घोकाउनु भन्दा विद्यार्थीलाई काठमाडौं बारे बुझ्न र बुझाउन तयार गरिएको हो।
काठमाडौंमा सबै जातका मानिस बस्छन्, कहाँ नेवारको भाषा पढ्नु भन्नेहरु पनि छन्। अझपनि केही मिडिया एकल भाषिक चिन्तन रमेको छ लाग्छ। यो शैक्षिक सत्रमा काठमाडौंका विद्यालयमा ‘नेवारी भाषा अनिवार्य’ गरिएको र ‘गैरनेवार विद्यार्थी र अभिभावक चिन्ता’ जस्तो समाचार केही मिडियाका हेडलाइन बने। हिन्दी भाषामा समाचार लेखेर प्रकाशित गर्न हुने मिडिया, विदेश जाँदा उताकै भाषा खरर बोल्ने, अंग्रेजी बोल्दा गर्व महसुस गर्ने व्यक्ति नेपालभाषाको विरुद्धमा लाग्नु आफैमा भाषिक विभेद हो।
तर यी ‘विरोधको लागि मात्रै गरिएको विरोध’ मात्रै हुन्। यस्तो विभेदकारी विरोधलाई राष्ट्रियस्तरको समस्या जस्तै प्रस्तुत गर्नुको कुनै तुक छैन।
मिडियालाई प्रश्न छ : के नेपालभाषा नेवारले मात्रै बोल्ने भाषा हो ? के नेपालभाषा नेवारले मात्रै बुझ्न पर्ने हो ? भाषा जगेर्णा गर्नु गलत हो ? मातृभाषामा पढाउँछु भन्नु गलत हो ?
२०६८ को जनगणनाअनुसार नेपालमा १ सय २३ वटा भाषा बोलिन्छन्। भाषा आयोगले थप आठवटा लोपोन्मुख भाषालाई राष्ट्रभाषाको सूचीमा थप्न प्रस्ताव गरेको छ। यतिवटा भाषा भएको देशमा माध्म भाषा नेपाली भाषाको प्रयोगलाई लिएर विवाद नै छैन। कसैले नेपाली भाषामाथि प्रश्न उठाएको पनि छैन। माग एउटा मात्रै हो – नेपाली सहित स्थानीय मातृभाषामा शिक्षा। सरकारी कामकाजी भाषामा मातृभाषाको पनि प्रयोग।
तर, मिडियाका पक्षपाती कुराहरुले देशमा रहेका कयौं भाषिक समुदायका लिपि हराइसके। बांकी रहेको भाषा पनि लोप हुने अवस्थामा छ। काठमाडौंले नेपालभाषामा स्थानीय पाठ्यक्रम लागू गरेर अन्य स्थानमा पनि भाषिक आन्दोलनको सरुवात गर्ने बाटो खोलेको छ। येँ देय् मह्सीके भाषिक आन्दोलनको आधारशिला हो। नेपालभाषा हुर्कियो भने देशभर लोपउन्मुख अन्य भाषा हुर्किन सहयोग मिल्छ।
केहीले आलोचना गर्यो भन्दैमा स्थानीय पाठ्यक्रम अध्यापन गराउने बारेमा फेरि सोच्नुपर्छ भन्ने मतहरु पनि अहिले देखिएका छन्। स्वयम् महानगर भित्र पनि यस्तो आवाज सुनिएको छ। पहिलो पाइलामा नै पछि हट्ने भए त्यो पाइला चाल्नु नै हुँदैन थियो। चालिसकेपछि अब त्यसलाई अन्तिम विन्दुमा पुर्याउनु नै महानगरको कर्तव्य हो। आउने स्थानीय निर्वाचनमा नेवारहरुले मत माग्न आउने उम्मेदवारहरुलाई ‘येँ देय् मह्सीके’ को निरन्तरताबारे सोध्नुपर्छ, दबाब दिनुपर्छ। जसले त्यसलाई निरन्तरता दिन सक्दैनन् उनीहरु जित्नु भनेको भाषिक आन्दोलनको पतन हो।
नेपालभाषा सम्पदा हो। यो नेवारहरुले मात्रै बोल्ने भाषा हो भनेर बुझ्नु गलत हो। पंचायतकालमा सरकारले नेपाली भाषाका पत्रपत्रिकाहरुको प्रकाशनमा रोक लगाएको बेला ‘इनाप’ जस्ता नेपालभाषाका पत्रिकाहरुले प्रजातन्त्रको लागि आन्दोलन गर्न नागरिकबिच चेतना जगाएको थियो। त्यो बेला पनि त काठमाडौंमा गैर नेवार थिए। उनीहरुले किन नेपालभाषा बोले र बुझे ? पत्रपत्रिका पढ्न मात्रै त होइन होला। राज्यले दमन गरेको भएपनि त्यसबेलाको पुस्ता भाषिक रुपमा केही चेतनशिल थियो। उनीहरुलाई थाहा थियो – जहाँ हुर्कियो त्यहाँ भाषा बुझ्न पर्छ। त्यसैले त्यसबखत नेपालभाषाको जग हल्लिएन।
यदि अहिले फेरि मिडिया र केही समुदाय नेपालभाषा नेवारले मात्रै पढ्ने बोल्ने भाषा हो भन्दै बस्छ र त्यसविरुद्ध विद्रोह नगरी मौन रहेर हामीले समर्थन जनायौं भने भावी पुस्ताले पनि भाषिक आन्दोलनलाई पूर्णता दिन सक्ने छैनन्।
खासमा नेवार एउटा दर्शन हो। नेपालभाषा त्यो दर्शनको अभिन्न अंग हो।
दिंवगत् लक्ष्मण राजवंशीले आफ्नो किताब ‘नेवा: संस्कृति मह्सीका’ मा नेवारको परिचय दिएका छन्। उनले लेखेका छन्, ‘नेवारको पहिचान भन्ने बित्तिकै दर्शनको कुरा आउँछ। त्यसपछि मात्रै संस्कृतिको कुरा आउँछ। … नेवारहरूले कुनै व्यक्ति वा शक्तिलाई देवता मानेका छैनन्। वास्तवमा मानिसमा निहीत शक्ति नै मानिसलाई देवस्थानमा राख्ने ऊर्जा हो। त्यस्तो शक्तिबाट आफूलाई देवस्थानमा स्थापित गर्न सकिन्छ। यही नै नेवार दर्शनको विशेषता हो।’
राजवंशीले नेवारले अजिअजिमा र अजा परम्पराका पूर्वजलाई देवता पुज्दै आएका उल्लेख गरेका छन्। पछि भित्रिएको हिन्दु धर्मले उपत्यकाको धर्म दर्शनलाई ओझेलमा पारेको र कालान्तरमा हिन्दु दर्शन र संस्कृतिको रङले नेवार सभ्यताको आफ्नोपन नै पतन हुँदै गएको उनको विश्लेषण छ। बौद्ध दर्शनले पनि नेवार दर्शनलाई प्रभावित गर्यो। नेवारहरू हिन्दु नेवार र बौद्ध नेवार भई विभाजित भए।
धर्मका कारण विभाजित भए पनि नेवारहरू भाषाका माध्यमबाट एकजुट भइरहे। नेपाल भाषाका महाकवि सिद्धिदास महाजुले ‘भाषा म्वा:सा जाति म्वाई’ (भाषा जीवित रहे मात्रै जाति जीवित हुन्छ) भनेर भन्नुको तात्पर्य त्यही रहेको नेवार बुद्धिजीवीहरू भन्ने गर्छन्।
नेवार संस्कृतिका अध्येता रास जोशी नेवार कुनै जाति विशेष नभई भाषाले एकीकृत गरेको समुदाय हो भन्छन्। काठमाडौँ आएपछि भाषाले एक भएका विभिन्न समुदाय नेवारका रूपमा चिनिएको उनको धारणा छ।
यदि अहिले फेरि मिडिया र केही समुदाय नेपालभाषा नेवारले मात्रै पढ्ने बोल्ने भाषा हो भन्दै बस्छ र त्यसविरुद्ध विद्रोह नगरी मौन रहेर हामीले समर्थन जनायौं भने भावी पुस्ताले पनि भाषिक आन्दोलनलाई पूर्णता दिन सक्ने छैनन्।
उनीहरुले पनि हाम्रै असमर्थतताको बोलि बोल्नेछन् र भनिरहनेछन् : का का म्वाल, छु मतलव !
– सहयाेग रंजित, नेवाः जः मासिक साउन अंक
RECOMENDED News
Latest News
Faircrown Review: Bonus, Zahlungsmethoden, Sicherheit & mobile App für deutsche Spieler
1. Überblick: Was ist Fair Crown Casino? 2. Registrierung & KYC – Schnell starten 3. Bonusangebote und Wettbedingungen 4....
१० वैशाख २०८३ १:२८ |मेट्रो संवाददाता
तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन
काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...
३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता
वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...
६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता
नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न
तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...


