सिथिनख: (कुमार षष्ठी ) पर्व

जेष्ठ कृष्णपक्ष चतुर्दशीको दिन कुलदेवताको पीठमा बिशेष शक्ति साधना गरी जेष्ठ शुक्लपक्ष षष्ठीको दिन सिथिनख: पर्व मनाउने गरिन्छ ।

यो पर्व महादेव र पार्वती पुत्र कुमारको जन्मदिन षष्ठीको दिनमा परेको हुनाले कुमार षष्ठीको रुपमा बिशेष पूजा गरेर, सबै मिलेर भोज खाएर उत्सब मनाउन जात्रा गर्ने चलन हो ।

संस्कृतिबिद्हरु षष्ठीको अपभ्रंश भएर सिथि भएको भन्दछन् । त्यस्कारण षष्ठी नख:बाट सिथिनख: भएको हो भन्दछन् ।

नेवाः समाजमा प्रथम पूज्य भनेर दुबै गणेश र कुमार कार्तिकेयलाई मान्दछन् । गणेशजीको प्रथम पूजा कुनैपनि कार्यमा बिध्नबाधा नपरोस भनेर गरेको पाईन्छ । कुमार कार्तिकेयको प्रथम पूजा काम कार्य सफल पार्न र पूजा समेत सुचारू रुपले संचालन होस् भनेर गरिन्छ ।

नेवाः समाजमा कुमार कार्तिकेयको लागि आफ्नाे घरको मूल ढोकाको सामुन्ने पिखाःलखु स्थापना गरेर कुमारको वास त्यही स्थानमा होस् भनेर पूजा गर्दछन् ।

पहिले जलबायु बिभाग थिएन । मौसमको जानकारी दिने संस्था थिएनन् । सिथिनख:देखि नै मनसून अर्थात् वर्षा शुरुआत हुन्छ भन्ने संकेत वा सूचनाको रुपमा लिएर धान रोपाईको कामको थालनी गर्दथे ।

सिथिनख: आएपछि पानी पर्छ भन्ने सबैको मुखबाट सुन्न पाईन्थ्यो । कृषकहरु यसैको खुशियालि मा सिथिनख : पर्व मनाएर आफुलाइ तैयार राख्दथे। पुरानो जमानामा सिथिनख: पर्व नआई वर्षा शुरु हुंदैन भन्ने चलन थियो ।

सिथिनख:लाई वर्षाको आरम्भकाल भन्ने मान्यता भएकाेले कृषकहरुको लागि याे पर्व धेरै नै महत्वपूर्ण मानिन्थ्यो । याे पर्वले धानबाली रोपाई गर्ने वर्षा ऋृतु शुरू भयो भन्ने संकेत दिन्छ । कृषकहरुको लागि धानबाली मुख्य बाली भएको र सालभर को खाद्यान्न उत्पादन गर्ने मौसम आएको हो ।

धान खेती धेरै मेहनत र परिश्रम युक्त खेती भएकाे किसानहरु कुलदेवताको पूजा गरेर शक्ति प्राप्त गर्न र सिथिनख:मा शरीरमा तागत उत्पन्न गराउने बारा, चतांमरि, मालपुवा र पकवान खाएर तागत पाउने बिश्वाश राख्दछन् ।

सिथिनख:पछि पनि पानी परेन वा वर्षा शुरु भएन भने कृषकहरु मिलेर झ्याली बजाएर समूहगत रुपमा देवी देवताहरुको मन्दिर मन्दिर घुमेर पानी माग्ने गर्दथे । त्यस्मा पनि खास गरेर सिथिद्य: र महादेवसँग विशेष नाम नै पुकारेर पानी माग्न निस्कने गर्दथे । पोखरीमा शान्ति स्वस्ति पूजा गर्ने चलन थियो ।

यसदिन विशेष गरी ६ प्रकारको बाराको परिकारहरु र चतांमरिको परिकारहरु तयार गरेर चढाउने भगवानलाइ चढाइन्छ । जस्मा मासको बारा, मूँगको बारा, केराउको बारा , चनाको बारा, भटमासको बारा र चतांमरीकाे पनि बारा बनाउने चलन छ ।

सिथिनख: पर्व मनाएपछि कृषकहरु धान रोपाई को काममा लाग्नु पर्ने हुनाले सिथिनख: पर्व मनाउनु भन्दा पहिले नै फुर्सद निकालेर पूरै घर सरसफाइ , लिपपोत गरी , ढुंगेधारा , ईनारहरु ,पोखरी , कुवा , पानीको मुहान , धारा र ढल सबै सफा गर्ने दोस्रो महत्वपूर्ण कार्य टोलटोलमा टोलछिमेकिहरु मिलेर , घरघरमा घरपरिवारहरु मिलेर, र समाजसमाज मा सबै मिलेर सरसफाइ गर्दछन् र बाताबरण लाई स्वच्छ राख्दछन् ।

सिथिनख: पर्वमा सरसफाइ गर्ने प्रचलन बनाउन यक्ष मल्लको कालमा कानुन समेत बनाएर सरसफाइ गर्न बाध्य बनाएको थियो । खासमा यो पहिलेको जमानाको बाताबरण संरक्षण दिन हो ।

सिथिनख: को पूजामा बालेको बत्ती को लक्षण हेरेर त्यस्बेलाका द्योपाला र आचाजुहरुले त्यस बर्षा ऋतुको दिन दशा कस्तो होला भन्ने गर्दथे । आचाजुहरुलाई यस्ले कुनै संकेत दिएको भएर सिथिनख: को सिथिद्य पूजामा बिशेष ध्यान दिएर पूजा गरेको देखिन्थ्यो । जस्ले गर्दा सबै कुराहरु ठिक होस भन्ने कामना गरेको देखिन्थ्यो । द्योपालाहरु पनि बत्ती बलेको लक्षणबाट के संकेत आएको भनेर सिथिद्य को आराधना गरेको देखिन्थ्यो ।

आज आएर त्यो सबै चलनहरु हराएको जस्तो देखिन्छ ।सबै मौसम बिभागको मौसमी खबरमा भर पर्दछन् । तर पनि केही बुढापाकाहरु आआफ्नु खुशि र आआफुलाई सान्त्वना दिन बत्तीको लक्षणको बारेमा आज पनि चर्चा गरिरहेको पाईन्छ ।

धार्मिक हिसाबले सिथिनख: धेरै महत्वपूर्ण पर्वको रुपमा हेरिन्छ। नेवा दर्शन र सिद्धान्त यस्मा आधारित भएको देखिन्छ।

नेवा संस्कृति मा कुमार कार्तिकेय को ठूलो महत्व छ । भनिन्छ नेवार दर्शन को संघर्षमय जीवन मा सफलताका साथ जिउन सक्षम हुने सिद्धान्त कुमार कार्तिकेय को संघर्षमय जीवन को सोंच बाट नै आएको हो ।

सिथिनख पर्वमा पाेसिलाे पदार्थ खाएर सिनाज्या ( धानको रोपाईंको ) को काम समयमा सिध्याउन शारीरिक बल र शक्ति प्राप्त गर्ने भनाइ यथावत रहेकाे पाइन्छ । यस दिनमा कुलदेवताकाे पूजा गरी चेलिबेटिहरुलाई बाेलाइ ख्वाउने गरिन्छ ।

यो पर्वपछि धान रोपाई नसिद्धिएसम्म कुनै चाडपर्बहरु आउँदैन। सबै किसानहरू रापाइँ नसकुञ्जेलसम्मलाइ धिमेबाजा नबजाउने गरी थन्क्याइन्छ भने अबधिभर धिमेबाजा र भुस्या बजाउन नहुने मान्यता समेत रहिआएको छ ।

धान रोपाईको सफलतामा आउने चाडबाड कसरि मनाउने आधारित हुन्छ । धानबाली राम्राे भएमा सबै चाडपर्व राम्ररी मनाइन्छ नभए करकापले मात्र हुनजान्छ ।

यसरी सिथिनख: राम्रो संग मनाईएमा पानी राम्रो पर्दछ र धान रोपाई समयमा सम्पन्न भएर दशै तिहार राम्रो मनाउन पाउने बिश्वास राख्दछन् । तसर्थ सिथिनख:लाई नयॉ चाडपर्बहरु डाक्ने पर्वको रुपमा पनि लिईन्छ ।

यस सिथिनख: पर्वलाई राम्रोसँग मनाएमा सबै को कल्याण हुन्छ र सबै को राम्रो हुन्छ भन्ने मान्यता छ ।

Leave a Reply

Your email address will not be published.

%d bloggers like this: