हल्चोकबाट आकाश भैरवको मूर्ति चोरी

काठमाडौंको हल्चोकस्थित आकाश भैरवको मन्दिरबाट मंगलबार बिहान आकाश भैरवको मूर्ति चोरी भएको छ । हल्चोक आकाश भैरव गुठीका अध्यक्ष सागर पुतुवारले सोमवार राति मूर्ति चोरी भएको जानकारी दिए।
राति करिब १२ बजेको मूर्ति चोरी गरेको उनले बताए। प्रहरीले घटनाको छानबिन गरिरहेको छ।
करिब ३ सय वर्ष पुरानो भनिएको उक्त मूर्ति ४/५ वटा मोटरसाइकलमा आएको समूहले उठाएर लगेको मन्दिरका पुजारीको भनाइ उद्धृत गर्दै प्रहरीले जनाएको छ ।
पछिल्लो समय नेपालबाट चोरी भएका मूर्तिहरु विदेशका म्यूजियममा फेला पर्ने क्रम बढेको छ। हालै ओमबहालको न्हू छेँ बहा: मा रहेको अशोबया बुद्धको मूर्ति अमेरिकास्थित कलेक्सन अफ तिबेत हाउस युएसमा भेटिएको छ।
आफूलाई ज्यान मार्ने धम्की दिएर उक्त समूहले मूर्ति उठाएर लगेको पनि पुजारीले बयान दिएको प्रहरीले बताएको छ । मूर्ति चोरीबारे अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।
शनिवारमात्रै पाटनको पट्को टोलबाट ३७ वर्षअघि चोरी भएको लक्ष्मी नारायणको मूर्तिलाई पुनर्स्थापना गरिएको थियो। विदेशस्थित संग्राहलमा रहेका नेपालका मूर्तिहरु फर्काउन सरकारलाई अभियन्ताहरुले दबाब दिँदै आएका छन्।
पछिल्लो केही समयदेखि काठमाडौं उपत्यकामा देवदेवीको मूर्ति चोरी हुने क्रम बढेको छ। केही दिन अघि गोदावरीस्थित सिद्धेश्वर महादेव मन्दिरबाट श्रीनारायण र बसुन्धाराको मूर्ति चोरी भएको थियो। चोरी भएको बसुन्धाराको मूर्ति नजिकैको जंगलमा भेटिएको थियो। यस्तै, केही दिन अघि हरिसिद्धिबाट पनि मूर्ति चोरी भएको थियो।
प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई metro.newskhabar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।