कीर्तिपुर सिङ्गिङ आइडल ११४२ हुने

कीर्तिपुर । कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले कीर्तिपुर सिङ्गिङ आइडल–११४२ काे औपचारिक घाेषणा गर्नुभएकाे छ ।

कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले नगरका युवाहरूलाई संगीततर्फ आकर्षित गर्न यो कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । नगर प्रमुख महर्जनले यस प्रतियोगितमा प्रथम हुनेलाई नगद रु. ५० हजार, द्वितीय हुनेलाई नगद रु. ४० हजार र तृतीय हुनेलाई नगद रु. ३० हजार पुरस्कार दिने घोाषणा गर्नुभयो ।

कीर्तिपुर नगरभित्रका १५ वर्ष देखि ३० वर्ष सम्मका गायक गायिकाहरू लक्षित उक्त प्रतियोगिता नेपाल संवत् ११४२ नयाँ वर्षको उपलक्ष्यमा हुने भएकाे छ ।

नयाँ वर्ष ११४२ (म्हपुजा)को दिनमा पहिलो चरण शुरु हुने उक्त कार्यक्रम तेश्रो चरणमा सम्पन्न हुने पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिइएको छ ।                  

यसका साथै ईच्छुक कुनै व्यक्ति वा संस्थाले आफ्नो तर्फबाट पनि पुरस्कार दिन चाहनेहरू भएमा त्यसलाई स्वीकार गरी विजयी कलाकारलाई दिन सकिने बताउनुभयो ।             

प्रतियोगितासम्बन्धी नियम वा जानकारीका लागि कीर्तिपुर नगरपालिकाद्वारा प्रकाशित साप्ताहिक बुलेटिन नगर सन्देशको फेसबुक पेजमा अद्यावधिक हुने भएकोले सो पेज हेर्नुहुन समेत अनुरोध गर्नुभयो ।

पत्रकार भेटघाट कार्यक्रममा प्रतियोगिताका लागि तयार गरिएको पोष्टर र अडियो लोगो सार्वजनिक गरिएको थियो ।                   

कार्यक्रमका संयोजक हरिशरण साय्मि आफैले तयार गर्नुभएको अडियो लोगो बजाउनु हुँदै सार्वजनिक गर्नुभएको थियो भने पोष्टर कार्यक्रममा सदस्य रत्नशोभा महर्जनले तयार गर्नुभएको थियो ।         

यस प्रतियोगितामा सहभागी हुन अनलाइनमा यसमा https://forms.gle/B1PLWuzgEsJ8W84y5 वा नगरपालिकाको वेवसाइट https://www.kirtipurmun.gov.np/ne/content/kirtipur-idol1142 लिङ्कमा क्लिक गरेर फर्म भर्न सकिनेछ भने नगर सन्देशको इमेल nagarsandes@gmail.com  मा पनि पठाउन सकिने जानकारी दिइएको थियो ।  

यस प्रतियोगितामा नेपालभाषा (नेवाः भाषा), नेपाली ( खस) भाषा र तामाङ्ग भाषामा गीत गाउन सकिने छ । यस प्रतियोगितामा सहभागी हुन यही कार्तिक ६  गते शनिबारसम्ममा इमेल वा अनलाइनमार्फत दर्ता गर्नु पर्ने पत्रकार भेटघाट कार्यक्रममा बताइएको थियो ।

कार्यक्रममा उप–प्रमुख सरस्वती खड्का, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा, लेखा प्रमुख प्रविणजंग शाही, सामाजिक विकास शाखा प्रमुख अनुज प्रधानलगायत विभिन्न पत्रकारहरूको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *