वसन्तको स्वागतमा जात्रा

भक्तपुरवासीलाई भुइँचालोले भत्काएको आफ्नो घर नठडिएला भन्ने चिन्ताले भन्दा पनि यसपालि बिस्केटको लिंगो नठडिएला भन्ने चिन्ताले बढी गिजोलेको थियो

सुरेश किरण

विक्रम संवत्को नयाँ वर्ष सुरु भएको छ । तर, यो नयाँ वर्ष मनाउने कुनै मौलिक परम्परा यसका हिमायतीबीच पनि प्रचलित देखिँदैन । बरु चन्द्रमासमा आधारित नेपाल संवतको नयाँ वर्षलाई ‘न्हूदँया भिंतुना’ भनी मनाउने उपत्यकाका नेवार जातिले सौर्यमासको विक्रम संवतीय नयाँ वर्षलाई पनि आफ्नै शैलीले स्वागत गर्दै आइरहेको पाइन्छ ।

विक्रम संवत्को नयाँ वर्ष लाग्ने दिन वैशाख १ लाई उपत्यकाका नेवार जातिले ‘खाइसंल्हू’ अर्थात तीते संक्रान्तिका रूपमा मनाउने गर्दछन् । नेपालभाषामा ‘खायू’ को अर्थ हुन्छ तीतो । अर्थात् यो दिन तीतो खाने पर्व हो । जाडो याममा मनाइने ‘घ्यःचाकु संल्हू’ (माघे संक्रान्ति) मा गुलियो चाकु खाने गरिन्छ भने गर्मी यामको खाइसंल्हूमा तीतो क्वाँटी खाने चलन छ ।

गर्मी याम मूलतः रोगव्याधिले सताउने मौसम हो । यो मौसममा दूषित पानी, फोहोर हावा, बासी खाना आदिका कारण बालबालिका र ठूला मानिसहरूलाई पनि झाडापखाला जस्ता पेटसम्बन्धी रोगले सताइरहेको हुन्छ । त्यसैले पेटमा रहेका किटाणु नष्ट गरी पेट बलियो पार्न गर्मी यामको सुरुवातमै तीतो क्वाँटी खाने गरिएको हुनुपर्छ । यसका लागि बकाइनोको रुखमा लाग्ने नयाँ पालुवामा सानो केराउ, ठूलो केराउ र कोइरालो उमालेर क्वाँटी बनाउने गरिन्छ । स्वादका लागि यसमा अरू पनि खाद्यान्न थप्न सकिन्छ । यसरी पकाएको क्वाँटी नै यो पर्वमा खाइने मुख्य खाना हो । नेवार जातिले यो क्वाँटी आफू मात्रै खाँदैनन् । बिहानै विभिन्न देवीदेवताको पूजा गर्दा यही खाद्यान्न चढाएर देवताको समेत स्वास्थ्यको ख्याल गर्दछन् । यी खाद्यान्नको क्वाँटी खाए पेट नदुख्ने, पेटमा लाग्ने किटाणु मर्ने र गर्मी याममा लाग्न सक्ने रोगव्याधिसँग लड्ने निरोधात्मक क्षमता बढ्ने विश्वास गरिन्छ ।

बिस्केट जात्राकै बेला आयोजना हुने जिब्रो छेड्ने जात्राको फाइल तस्बिर ।

खाइसंल्हू नेवार जातिले मनाउने एउटा पर्व भए पनि यो ठूलो पर्व भने होइन । यो छोरीबेटीलाई ‘नखत्या’ बोलाउनु नपर्ने सानो पर्व (चखः मात्रै) हो । बरु यही बेला उपत्यकाको उत्तरी भेगमा अवस्थित प्राचीन बस्तीहरू भक्तपुर, थिमि–बोडे र टोखामा भने उक्त भेगकै सबैभन्दा ठूला जात्रा चलाउने गर्दछन् । जस्तो भक्तपुरमा बिस्केट जात्रा, थिमिमा सिन्दूर जात्रा, बोडेमा जिब्रो प्वाल पार्ने जात्रा र टोखामा सात खटको जात्रा ।

भक्तपुरको बिस्केट जात्रा अहिले देशैभरि प्रख्यात भइसकेको छ । भक्तपुरको सबैभन्दा प्रमुख जात्रा नै यही हो । यो जात्रा विक्रम संवतअनुसार मनाउने गरिन्छ । तर, यो विक्रम संवत सुरु हुनुभन्दा अघि नै अस्तित्वमा आइसकेको कारणले विक्रम संवतको नयाँ साल मनाउन यो जात्रा सुरु गरिएको भने होइन । नेवार जातिका अधिकांश जात्रा चान्द्रमासमा आधारित छन् । तर, यी जात्रा भने सौर्यमासमा आधारित छन् । बरु यस्ता महत्त्वपूर्ण जात्रासमेत मनाउने पवित्र दिन परेका कारणले विक्रम संवतको नयाँ वर्ष यसै दिन फेरिने चलन चलेको हुनसक्ने दाबी संस्कृतिविदको छ ।

बिस्केट जात्राको प्रमुख अंग भनेको यसमा ठड्याउने लिंगो हो । यो चैत महिनाको अन्तिम दिन ठड्याएर वैशाख महिनाको पहिलो दिन ढाल्ने गरिन्छ । यसरी एक दिन मात्रै ठड्याए पनि यसले पूरा एक वर्ष लिंगो ठड्याएको भन्ने सांकेतिक अर्थ दिन्छ । किंवदन्तीअनुसार कुनै बेला भक्तपुरमा केवल लिंगो मात्रै ठड्याउने जात्रा हुने गथ्र्यो । यो जात्रा कति लोकप्रिय थियो भने भारतको पवित्र तीर्थस्थल काशीमा समेत यसको चर्चा हुने गथ्र्यो । एकपटक काशीका विश्वनाथ बाबासमेत भेष बदलेर यो जात्रा हेर्न भक्तपुर आएका रहेछन् । जात्रा चलिरहेकै बेला भक्तपुरका तान्त्रिकले उनलाई चिनेछन् । र, अब यो देउतालाई यही ठाउँमा राख्नुपर्यो भन्ने मनमा सोची उनलाई दायाँबाँया चारै दिशा र माथि आकाशतिर समेत भाग्न नसक्ने गरी तारण हालिदिएछन् । भाग्ने सम्पूर्ण दिशा बन्द गरी उनलाई समाउने प्रयास गर्दा विश्वनाथ बाबा पातालको बाटो भएर भाग्न जमिनमा धसिन पुगेछन् । त्यही बेला तान्त्रिकले उनको जटा समातेर टाउको छ्याप्पै छिनालिदिएछन् । विश्वनाथ बाबा त भागेछन् तर उनको टाउको भने यहाँका तान्त्रिकको हातमा परेछ । त्यसपछि भक्तपुरमा उक्त टाउकोलाई पनि भैरवको रूपमा पुज्न थालियो र हरेक बिस्केट जात्राको बेला उक्त टाउकोलाई पनि रथमा राखी जात्रा गर्न थालियो ।

बिस्केट जात्राकै बेला आयोजना हुने सिन्दुर जात्राको फाइल तस्बिर ।

यसपालिको महाभुइँचालोले यो जात्रा पनि प्रभावित भएको छ । रथ तान्नुपर्ने बाटोभरि भग्नावशेषको थुप्रो र उता लिंगो उठाउने चौरमा पनि भुइँचालोपीडितको शिविर खडा गरिएकाले जात्रा अन्योलमा परिसकेको थियो । तर, रातारातै यो समस्या हल गरियो र जात्रा सुरु गरियो । भक्तपुरवासीलाई भुइँचालोले भत्काएको आफ्नो घर नठडिएला भन्ने चिन्ताले भन्दा पनि यसपालि बिस्केटको लिंगो नठडिएला भन्ने चिन्ताले बढी गिजोलेको थियो ।

नयाँ वर्ष लागेकै दिन उपत्यकावासीले मेला भर्न जाने एउटा प्रमुख स्थान हो वागद्वार । वागद्वारलाई बाग्मती नदीको मुहान मानिन्छ र बाग्मती नदीलाई काठमाडौं सभ्यताको जननी । वैशाख १ गते शिवपुरी डाँडाको बीच भागमा रहेको यो मुहानमा नुहाएर प्राचीन नगरी टोखाको सपनतीर्थमा डुबुल्की मार्ने चलन छ । यो दिन सपनतीर्थमा ठूलो मेला लागेको हुन्छ । सपनतीर्थमा नुहाए कुष्ठरोगसमेत निको हुने विश्वास गरिन्छ ।

यही दिन यहाँको पीठ (मसानकाली) सँगै एउटा अनौठो होम पनि गरिन्छ । यो करिब करिब काठमाडौंको लुतिमरु अजिमा (इन्द्रायणी पीठ) मा बाला चतुर्दशीका दिन गरिने पञ्चबलि होमजस्तै हो । यस्तो विश्वास गरिन्छ कि यो होममा धर्तीमा उब्जेजति सबै प्रकारका अन्न अग्निलाई अर्पण गरिन्छ । साथै यसमा एउटा कालो बोको, एक जोडी जिउँदो सर्प, एक जोडी भँगेरा, एक जोडी परेवा र एक जोडी माछा पनि होम गरिन्छ । यो एउटा विशुद्ध तान्त्रिक विधिद्वारा गरिने पूजा हो । टोखामा वैशाख १ गते सुरु भएको यो जात्रा वैशाख ५ गते मात्रै समापन हुन्छ ।

विक्रम संवत्कै मितिअनुसार मनाइने अर्को जात्रा थिमिको सिन्दूर जात्रा र बोडेको जिब्रो प्वाल पार्ने जात्रा पनि हो । भक्तपुर जिल्लाको बोडे गाउँबारे काठमाडौंका जनतालाई समेत खासै थाहा नभए पनि यहाँको जिब्रो प्वाल पार्ने जात्रा भने देशैभरि प्रख्यात छ । जिब्रोमा सुई घुसारेर काँधमा द्वीप बोकी नगर घुम्ने यो जात्रा लोकप्रियताका हिसाबले अति नै प्रख्यात भए पनि यो सम्पूर्ण जात्रा भने एउटै मानिसको काँधमा अडेको छ । हरेक वर्ष जात्रा सुरु हुने बेला जिब्रो प्वाल पार्ने मानिसको अभाव हुन्थ्यो । सात वर्षदेखि स्थानीय जुजुभाइ वासुश्रेष्ठले यो जात्रा धान्दै आएका छन् । हरेक वर्ष उनी जिब्रो प्वाल नपार्ने भन्थे र हरेक वर्ष आफैँ प्वाल पार्दै जात्रा पनि चलाउँथे । जति नाइँ भने पनि देशको महत्त्वपूर्ण संस्कृति नै लोप हुने भयले उनी पनि कायल छन् । तर, यसपटक खुसीको कुरा के भइदियो भने ३७ वर्षीय जुजुभाइले अब आइन्दा जिब्रो प्वाल पार्दिन भनेर कहिल्यै नभन्ने र अर्को मान्छे आएर म प्वाल पार्छु नभनेसम्म आफैं प्वाल पार्दै जात्रा चलाउने घोषणा गरे । बोडेको यो जात्रा हेर्न मानिसहरू उतै बास बस्नेगरी धेरै टाढाबाट समेत आउने गर्छन् ।

बोडेसँगै रहेको अर्को रमाइलो नगर हो थिमि । वसन्त ऋतुको आगमनमा यहाँ मनाइने ‘भुइसिन्हः’ जात्रा पनि नेपालकै विशिष्ट पर्वमध्ये एक हो । जात्रामा सहभागी भएजति सबैजना सुन्तला रंगको सिन्दूरले लतपतै भएर मनाइने यो जात्रा केही वर्ष अघिदेखि नेपाल घुम्न आउने विदेशी पर्यटकका लागि पनि आकर्षण बन्दै आइरहेको छ । पूरै नगर उर्लिने यो जात्रा हेर्दा यस्तो लाग्छ, मानौं थिमि बालकुमारीको त्यो भिरालो गल्लीमा सुन्तले रंगको सुनामी बगिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *