क्रिप्टोकरेन्सीको कारोबार गरे कारबाही ⁚ राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले नेपालभित्र कुनै पनि प्रकारका क्रिप्टोकरेन्सीको कारोबार नगर्न सचेत गराएको छ । केन्द्रीय बैंकले आज एक सूचना प्रकाशित गरी नेपालभित्र कुनै पनि प्रकारका क्रिप्टोकरेन्सीको कारोबार प्रयोग र माइनिङ गरिनु पूर्णरुपमा गैरकानुनी रहेको स्पष्ट पारेको छ ।

विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ ले दिएको अधिकारअनुसार कुनै पनि गैरकानुनीरुपमा कारोबार नगर्न तथा नगराउन स्पष्ट पारिएको छ ।

क्रिप्टो करेन्सी’  विश्वव्यापी भुक्तानी प्रणाली हो । यसलाई अर्को शब्दमा ‘बिटक्वाइन’ पनि भन्ने गरिन्छ ।  विनिमयका माध्यमका रूपमा काम गर्ने संकेताक्षर (कोड वा क्रिप्टोग्राफी) द्वारा सुरक्षित विद्युतीय वा भर्चुअल मुद्राका रूपमा यसलाई लिइन्छ ।  विश्‍वबजारमा यसलाई विनिमयको साधनको रूपमा हेरिन्छ ।

नेपाल राष्ट्र बैंकले बिटक्वाइनलगायत जुनसुकै डिजिटल मुद्रालाई २९ साउन २०७४ मा अवैध घोषणा गरेको थियो । २०७४ असोजमा नै बिटक्वाइनको अवैध माइनिङ गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौंबाट सात जना अपरेटरहरूलाई पक्राउ गरेको थियो । 

केन्द्रीय बैंकले जारी गरेको सूचनामा भनिएको छ “हालका दिनमा क्रिप्टोकरेन्सीको कारोबार प्रयोग, माइनिङ जस्ता कार्यमा संलग्न हुन प्रोत्साहन गर्ने गराउनेसमेत गरेको पाइएको र त्यस्तो कार्यबाट सर्वसाधारण ठगिएको वा ठगिनसक्ने अवस्था देखिएको हुँदा कसैले पनि त्यस्तो कार्य गरे गराएको पाइएमा प्रचलित कानुनअनुसार सजाय हुने सूचनामा उल्लेख छ ।

नेपालका जस्तै बंगलादेश, चीन, बोलिभिया, भारत, रुस, भियतनामलगायतका देशमा यसलाई गैरकानुनी कारोबार मानिए पनि अमेरिका, क्यानडा, मेक्सिको, ब्राजिल, जापान, दक्षिण कोरिया, इजरायल, टर्की, दक्षिण अफ्रिका, मलेसियालगायत देशमा भने यसलाई वैधानिक कारोबारका रूपमा हेरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *