कार्टूनिस्ट रविन सायमीसहित चारजनाबाट सरकारी विभूषण अस्वीकृत

काठमाडाैं, ३ असाेज । कार्टुनिष्ट रविन सायमीले संविधान दिवसकाे अवसरमा सरकारले दिइएको ‘प्रबल जनेसवा श्री’ विभूषण नलिने घोषणा गर्नुभएकाे छ । उहाँले सामाजिक सन्जालमार्फत सो पदक ग्रहण नगर्ने घोषणा गर्नुभएकाे हाे ।  

‘सरकारले मलाई प्रवल जनसेवा श्रीबाट विभुषित गर्ने निर्णय गरेको रहेछ। तर हाललाई यो विभूषण ग्रहण नगर्ने निर्णय गरेको छु।’, सायमीले भन्नुभयाे ।

उहाँले प्रजातान्त्रिक सरकार पनि अझै पदक दिने मामलामा ‘गोरखादक्षिणबाहु’ प्रवृत्तिबाट मुक्त हुन नसकेकाले ग्रहण नगर्ने निर्णय गरेको बताउनुभयाे ।

गाेरखा दक्षिणबाहुको प्रजातान्त्रिक ‘भर्सन’ भएकाले हाललाई यो विभूषण ग्रहण नगर्ने निर्णय गरेकाे भन्नुहुँदै पञ्चायतकालिन लयमा विभूषण वितरण भइरहेको उहाँले बताउनुभयाे ।

त्यस्तै वरिष्ठ पत्रकार हरिबहादुर थापाले पनि सरकाले दिने सुप्रबल जनसेवाश्री पदक नलिने घोषणा गर्नुभएकाे छ। उहाँले राज्यले सम्मान गर्दा सम्मान हुने ब्यक्ति सम्मानित हुने ढंगले सम्मान गर्नुपर्ने बताउँदै कसैले किन पदकका हकदार भएर दिएकाेबारे खुला बहस हुनुपर्ने बताउनुभयाे ।

त्यस्तै अर्का पत्रकार नारायण अमृतले पनि सरकारी विभूषण अस्वीकार गर्ने निर्णय लिनुभएकाे छ । उहाँले संविधानप्रति अगाध स्नेह र सम्मान भए पनि भागवण्डा गरेर दिइने सरकारी पदक नलिने घोषणा गर्नुभएकाे हाे। हचुवाकाे भरमा मान पदक लिनेक्रममा नाम समावेस गरिने प्रक्रियाले साँच्चिकै याेगदान दिएका र पदककाे हकदार व्यक्तिकाे अवमूल्यन हुने उहाँले बताउनुभयाे ।

त्यसैगरी पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता पीएल सिंहले सरकारले प्रदान गरेको ‘सुप्रशिद्ध प्रवल जनसेवाश्री’ अस्वीकार गर्नुभएको छ ।

विभूषण लिनु आफ्नो नैतिक मान्यताविरुद्ध भएको भन्दै संविधान दिवसको अवसरमा सरकारले प्रदान गरेको ‘सुप्रशिद्ध प्रवल जनसेवाश्री’ सिंहले अस्वीकार गर्नुभएको हो। उहाँले २०४७ को संविधानको षड्यन्त्रपूर्ण हत्यापछि ल्याइएको यो संविधानलाई स्वीकार नगरेको भन्दै त्यसै संविधानअन्तर्गत दिइएको विभूषण पनि स्वीकार्य नभएको बताउनुभयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *