महानगरले तीन महिनामा हटायो नौ हजार होर्डिङ बोर्ड

महानगरलाई सुन्दर बनाइराख्ने लक्ष्यका साथ काठमाडौं महानगरपालिकाले तीन महिनामा नौ हजार होर्डिङ बोर्ड हटाएको छ ।
नियम विपरीत राखिएका र समयमै शुल्क नबुझाइएका होर्डिङ बोर्ड हटाइएको हो । महानगरले बोर्ड हटाउन दैनिक नगर प्रहरी सहित चार टोली खटाएको छ ।
विशेषगरी नयाँ बानेश्वर, कोटेश्वर, पुतलीसडक, बागबजार र महाराजगञ्ज क्षेत्रका अनधिकृत बोर्ड हटाइएको महानगरका राजस्व विभाग प्रमुख डा शिवराज अधिकारीले बताए ।
उनका अनुसार गएको असोज ७ मा मापदण्ड बमोजिम राख्न मिल्ने र त्यसमा लाग्ने शुल्कसमेत उल्लेख गरेको र सोही अनुरुप नभएका बोर्डलाई ३० दिने सार्वजनिक सूचना जारी गरी सम्बन्धित संस्थालाई नै हटाउन आग्रह गरिएको थियो ।
महानगरले आर्थिक ऐन-२०७९ बमोजिम छ वर्ग फुटसम्मको वार्षिक रू पाँच सय शुल्क निर्धारण गरेको छ ।
त्यसैगरी १५ वर्ग फुटसम्मका लागि रू एक हजार पाँच सय र १५ वर्ग फुटदेखि ३० वर्ग फुटसम्मका बोर्डको प्रति वर्ग फुट रू एक हजार शुल्क निर्धारण गरेको छ ।
महानगरले सम्पत्ति कर, घरबहाल घर, व्यवसाय कर, विज्ञापन कर, मनोरञ्जन कर, भूमिकर, मूल्य अभिवृद्धि कर र सवारी साधन करसहित ३६ शीर्षकमा राजस्व असुल गर्दै आएको छ । विभिन्न स्थानमा राखिएका बोर्डबाट असुल उपर हुने रकम व्यवसाय कर अन्तर्गत पर्दछ ।
चालु आर्थिक वर्षमा महानगरले व्यवसाय करको शीर्षकमा रू ५५ करोड लक्ष्य लिएकोमा पुस सम्म रु ३१ करोड ४२ लाख असुल उपर गरेको डा अधिकारीको भनाइ छ ।
लामो समयदेखि असुल हुन समस्या भइरहेको मनोरञ्जन कर पनि पछिल्लो समय सहज रुपमा उठिरहेको विभागको भनाइ छ । महानगरले पछिल्लो समय पटक/पटक ताकेता गरेपछि लामो समयदेखि उठ्न नसकेको बक्यौता रकम पनि असुल हुन थालेको बताएको छ ।
प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई metro.newskhabar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।