स्वस्थानी उपत्यकाको मौलिक कथा

आजदेखि स्वस्थानी व्रत प्रारम्भ भयो । माघ शुल्क पूर्णिमा (एक महिना) सम्म हुने यस व्रतमा हरेक दिन स्वस्थानीको कथा सुन्ने/सुनाउने चलन छ । अहिले साँखुको शालीनदी र भक्तपुरको हनुमानघाटमा धेरै व्रतालु स्वस्थानीको व्रत बसिरहेका छन् । योसँगै देशका हिन्दू धर्मावलम्बीले घर–घरमा हरेक दिन बिहान वा बेलुका स्वस्थानी कथा वाचन गरी व्रत बस्ने चलन पनि छ । पछिल्लो समय देशभित्र मात्र नभएर, भारतदेखि अमेरिका, अस्ट्रेलियामा बस्ने नेपालीले समेत विधि अनुसार स्वस्थानीको व्रत लिने गर्छन् ।

स्वस्थानी कथामा विशेषतः पृथ्वी र देवको उत्पत्ति, महादेव–सतीदेवीको विवाह, सतीदेवीको अंगपतन, देवासुर संग्राम, तारकाशुरको वध, पार्वतीको जन्म र विवाह, जालन्धर, नल दमयन्ती आदिको कथा पाइन्छ । स्वस्थानीका विभिन्न पुस्तक छन्, तिनमा एक पुस्तकको अर्कोसँग नमिलेको पनि पाइन्छ । तर, सबै ग्रन्थमा नछुट्ट्याइकन रहने एउटा कथा भने गोमा ब्राह्मणी (गोमय्जु) नवराजको कथा हो ।

अहिलेसम्म पाइएको स्वस्थानी व्रतकथाको सबभन्दा पुरानो हस्तलिखित ग्रन्थ ने.सं. ६९३ (सन् १५७३) को हो । संस्कृतमा लेखिएको यसमा नेपाल लिपिको प्रयोग गरिएको छ भने धेरै ठाउँमा नेपालभाषाको पनि प्रयोग भएको छ । यो ग्रन्थ अहिले राष्ट्रिय संग्रहालयमा सुरक्षित छ ।

बालकैमा दरिद्र शिव शर्मा ब्राह्मणसँग विवाह गरेकी गोमा ब्राह्मणीले धेरै दुःखकष्टपछि श्री स्वस्थानीको व्रत बसेर सबै दुःखकष्टबाट मुक्त भई सुखी जीवन बिताएको कथा अहिलेसम्म पाइएका स्वस्थानीका सबै पुस्तकमा पाइन्छ । अध्ययताका अनुसार स्वस्थानी व्रतकथाको मूलकथा र मौलिककथा यही गोमा–नवराजको कथा हो ।

इतिहास तथा संस्कृतिविद् काशिनाथ तमोट स्वस्थानीको मूलकथा गोमा ब्राह्मणीको कथा नै रहेको र यसको उद्भव काठमाडौं उपत्यकाबाटै भएको मान्छन् । उनी भन्छन्, ‘अहिलेसम्म पाइएको सबभन्दा पुरानो स्वस्थानीको हस्तलिखित ग्रन्थमा गोमा ब्राह्मणीको कथा मात्र छ, अन्य कथा केही छैन । पछि गएर मात्र स्वस्थानी कथामा अन्य कथा थपिँदै आएको हो ।’

अहिलेसम्म पाइएको स्वस्थानी व्रतकथाको सबभन्दा पुरानो हस्तलिखित ग्रन्थ ने.सं. ६९३ (सन् १५७३) को हो । नेपाल लिपिमा लेखिएको यस ग्रन्थमा संस्कृत र नेपालभाषाको प्रयोग भएको छ । यो ग्रन्थ अहिले राष्ट्रिय संग्रहालयमा सुरक्षित छ । यसपछिको अर्को सबैभन्दा पुरानो स्वस्थानी व्रतकथा ने.सं. ७२३ (सन् १६०३) को हो । यो नेवार (नेपालभाषा) भाषामा मात्रै लेखिएको छ । ताडपत्रमा लेखिएको यी दुवै ग्रन्थमा गोमा–नवराजको कथा र स्वस्थानी व्रतको विधिबाहेक अन्य कथा छैन । नेपालभाषामा लेखिएको कथामा स्वस्थानी व्रत विधि संस्कृत भाषामा छ भने कथा नेपालभाषामा ।

‘प्राचीन स्वस्थानी ग्रन्थमा गोमा ब्राह्मणीको बाहेक अन्य कथा नभएकाले यो नै स्वस्थानीको मूल कथा हो भन्न सकिन्छ,’ इतिहासविद् तमोट भन्छन्, ‘साथै यो उपत्यकाको मौलिक कथा पनि हो ।’

स्वस्थानी कथामा भएका अन्य कथा विभिन्न पुराणबाट ल्याइएको हो । विशेषतः स्कन्दपुराणका कथा स्वस्थानीमा पाइन्छ । तर, स्कन्दपुराणबाहेक लिंगपुराण, पद्मपुराण, शिवपुराणका कथा र प्रसंग पनि स्वस्थानीमा समावेश गरिएका छन् । धेरैजसो स्वस्थानी पुस्तकको एक अध्यायपछि पुछारमा ‘श्रीस्कन्दपुराणे केदारखण्डे माघमाहात्म्ये कुमारागस्त्य संवादे श्रीस्वस्थानी परमेश्वरर्या व्रतकथा’ भनी लेखिएको हुन्छ । यसले स्वस्थानीको कथा नै स्कन्ध पुराणअन्तर्गतको कथा हो भन्ने जस्तो लाग्छ, तर सत्य होइन ।

तमोटका अनुसार, स्वस्थानीमा विशेषतः चार शृंखलामा कथा रहेको पाइन्छ– सृष्टि क्रमको कथा शृंखला, महादेव सतीदेवीको कथा शृंखला, शिव–पार्वतीको कथा शृंखला र गोमा–नवराजको कथा शृंखला । यीमध्ये सृष्टिसम्बन्धी कथा लिंगपुराणको सृष्टि वर्णन खण्डबाट प्रेरित भई लिएको हो । त्यस्तै, महादेव–सतीदेवीको विविध प्रसंग लिंगपुराण र स्कन्द पुराणमा पाइन्छ ।

शिव–पार्वती शृंखला अन्तर्गतको गणेश उत्पत्तिको कथा लिंगपुराणमा, तारकासुरको प्रसंग स्कन्दपुराणमा पाइन्छ । त्यस्तै, जालन्धर–वृन्दाको प्रसंग लिंगपुराण, स्कन्द, पद्म, शिव पुराणमा पनि पाइन्छ । तर, स्वस्थानीको अन्तिम शृंखला गोमा–नवराजको प्रसंग मौलिक हो, यो कथा कुनै पनि पुराणमा देखिँदैन । अहिलेसम्म पाइएको सबभन्दा प्राचीन संस्कृत र नेपालभाषामा लेखिएको स्वस्थानी ग्रन्थमा पनि यही कथा मात्र उल्लेख छ । त्यसैले यसलाई उपत्यकाकै एउटा मौलिक कथा हो भन्न सकिन्छ ।

स्वस्थानीलाई लिएर विभिन्न व्यक्तिले पिएचडी पनि गरेका छन् । त्यसमध्ये एक हुन्, अमेरिकी शोधकर्ता जेसिका भेन्तिन बिर्केहोल्ज । उनले आफ्नो अनुसन्धानपछि प्रकाशित गरेको पुस्तक ‘रिसाइटिङ द गडेस् ः न्यारेटिभ्स् अफ प्लेस एन्ड द मेकिङ अफ द हिन्दूजम् इन नेपाल’मा पनि स्वस्थानी नेपालको मौलिक परम्परा रहेको उल्लेख छ ।
तमोटकाअनुसार स्वस्थानी व्रत कथा मात्र होइन स्वयं ‘स्वस्थानी’ शब्द पनि नेपालको मौलिक शब्द हो । ‘स्वस्थानी’ शब्द भारतमा कहिँ कतै प्रयोग भएको देखिँदैन ।

Leave a Reply

Your email address will not be published.

%d bloggers like this: