१६ वडा कार्यालय भवन शिलान्यास : वडा भवनमध्येको ठूलो

१६ वडा कार्यालय भवन शिलान्यास : वडा भवनमध्येको ठूलो

मेट्रो संवाददाता

३० साउन २०७८ १६:२४

काठमाडौं, ३० साउन। काठमाडौँ महानगरपालिका वडा नं १६ को कार्यालय भवन शिलान्यास गरिएको छ । महानगरपालिकाको रु ११ करोड ५२ लाख १२ हजार ६७६ लागतमा चमती बालाजुमा निर्माण हुन लागेको उक्त भवनको आज नगर प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले शिलान्यास गर्नुभयो ।

वैदिक मन्त्र उच्चारणसहितको शिलान्यासमा अमरगढी नगरका प्रमुख विश्वेश्वरप्रसाद ओझा (विपिन), वडाध्यक्ष मुकुन्द रिजाल, महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र वडा सदस्यहरुले शिलान्यास पूजा गर्नुभएको थियो ।

शिलान्यास कार्यक्रमपछि बोल्दै प्रमुख विद्यासुन्दर शाक्य ।

शिलान्यास कार्यक्रमपछि बोल्दै प्रमुख शाक्यले महानगरको व्यवस्थित सेवा प्रवाहका लागि सुविधा सम्पन्न भौतिक पूर्वाधारका विषयमा कुरा गर्दै धेरैजसो वडा भवनहरु शिलान्यास भइसकेको बताउनुभयो ।

प्रमुख शाक्यले महानगरपालिकाको पहिलो बैठकमा काठमाडौँका सबै वडाभित्र वडा कार्यालय बनाउने निर्णय गरेको स्मरण गर्दै सोहीअनुसार वडा कार्यालय भवन निर्माण अगाडि बढिरहेको उल्लेख गर्नुभयो । उहाँले चालु आर्थिक वर्षमा पाँच वडा कार्यालय भवन निर्माण गर्ने बताउनुभयो ।

शिलान्यास भएकामध्ये केही उद्घाटन भइसकेका छन् भने केही निर्माण सम्पन्नताका चरणमा छन् । प्रमुख शाक्यले भन्नुभयो, ‘केही भवन हामीले शिलान्यास गरेका र्छौँ । उद्घाटन हाम्रो कार्यकालपछि हुनेछ ।

शिलान्यास कार्यक्रमपछि बोल्दै उप-प्रमुख हरिप्रभा खड्गी श्रेष्ठ।

उपप्रमुख खड्गीले नयाँ भवन निर्माणसँगै जनताले सहज सेवा प्राप्त गर्नसक्ने हुँदा तोकिएकै समयमा निर्माण सम्पन्न गरिसक्नुपर्ने बताउँदै सुविधा सम्पन्न वडाबाट गुणस्तरीय सेवा प्राप्त गर्न सकिने उल्लेख गर्नुभयो ।

‘स्थानीय शासन चलाउन जग बलियो बनाउनु पर्छ । हामीले कार्यालय भवन निर्माण गरेर महानगरको सेवा व्यवस्थापनको जग मजवुत बनाउने प्रयास गरेका हौँ ‘, खड्गी श्रेष्ठको भनाइ थियो ।

उपमेयर खड्गी श्रेष्ठले केन्द्रले वडास्तरीय काम कारवाही गर्नकाे लागि कहिले पनि हस्तक्षेप नगरेकाे बताउँदै मेयर, उपमेयरले वडाकाे विकास निर्माणका कामहरूमा सम्पूर्ण अधिकार वडाका जनप्रतिनिधीहरूमा निहित भएकाे भन्नुभयाे ।

शिलान्यास कार्यक्रमपछि बोल्दै अमरगढी नगर प्रमुख विश्वेश्वरप्रसाद ओझा ।

शिलान्यास कार्यक्रमपछि बोल्दै अमरगढी नगर प्रमुख ओझाले १८ वर्षपछि निर्वाचित जनप्रतिनिधी आइसकेपछि संविधानुसार गर्नुपर्ने सबै काम यहि कार्यकालमा पुरा नभएपनि सुरूवात गरेकाे बताउनुभयाे । उहाँले पदकाे शपथ लिंदाकाे शब्दहरू सम्झिदै आफ्नाे जिम्मेवारी, दायित्व पुरा गर्नुपर्ने बताउनुभयाे । संविधानअनुसार स्थानीय सरकार आइसकेपछि बिभिन्न कानुनहरू निर्माण गरेर अघि बढ्ने क्रममा आफ्नै वडा भवन बन्नु एक महत्वपूर्ण कदम भएकाे उहाँले बताउनुभयाे ।

वडा नं १६ का वडाध्यक्ष मुकुन्द रिजालले चमती जग्गा एकीकरण आयोजनाबाट रु आठ करोड ५० लाखमा २१ आना जग्गा खरिद गरी भवन निर्माण सुरु गरिएको बताउनुभयो । महानगरपालिकाकै सबैभन्दा ठूलो वडा नं १६ मा ४५ हजार घरधुरी रहेका छन् भने एक लाख ३५ हजारभन्दा धेरै जनसङ्ख्या छ ।

वडा कार्यालयको डिजाइन गर्दा आजभन्दा १० वर्ष पछिको अवस्थालाई आँकलन गरिएको छ । हामी वडाको सेवा कुनै पनि कारणले नरोकिने संरचना बनाउँदैछौँ । वडाध्यक्ष मुकुन्द रिजालले भन्नुभयो, ‘वडा कार्यालय बनाउने महानगरको निर्णय हरेक सेवाग्राहीको सुविधासँग जोडिएको विषय हो । यसकारण वडा कार्यालन बन्नुलाई सबैले गौरवका रुपमा ग्रहण गर्नुपर्छ ।’

भवनका डिजाइनर सार्वजनिक निर्माण विभागका इञ्जिनियर प्रेमबहादुर श्रेष्ठकाअनुसार बेसमेन्टसहित भवन १० हजार ७०३ बर्गफुट क्षेत्रफलको हुनेछ । भवनको भूमिगत तलामा १० वटा चारपाङ्ग्रे सवारी पार्किङ् गर्ने क्षमता हुनेछ । ६ जना व्यक्ति अट्ने क्षमताको लिफ्टसहितको भवन अपाङ्गमैत्री हुनेछ ।

भवन बाहिरबाट हेर्दा नेपाली परम्परागत शैलीको हुनेछ भने भित्र आधुनिक सुविधा हुनेछन् । भवनको जमिन तलामा सहरी स्वास्थ्य क्लिनिक र दर्ता चलानी कक्ष हुनेछ । पहिलो तलामा वडाध्यक्ष, वडा सदस्यहरु र वडा सचिवको कक्ष रहनेछ । दोस्रो तलामा प्रशासनिक कक्ष तेस्रो तलामा प्रमुखको बैठक र कार्यालय कोठा हुनेछ । भवनमा सुविधा सम्पन्न बैठक कक्ष हुनेछ ।

भवन निर्माणका लागि साउन २९ गते कार्यादेश दिइएको हो । यसको निर्माण अवधि १८ महिना (०७९ फागुन १५) सम्म रहनेछ । भवनको लागत अनुमान १० करोड ३७ लाख ३७ हजार ३१० रुपैयाँ गरिएको थियो । बोलपत्रका माध्यमबाट गरिएको खुल्ला प्रतिस्पर्धाबाट गौरी पार्वती/के एण्ड के. जी / रमिता जेभीले ७ करोड ५३ लाख २२ हजार ६४० अर्थात् २९.१६ प्रतिशत कममा निर्माण कबोल गरेर जिम्मा पाएको छ ।

१ रोपनी ४ आना २ पैसा जमिनमा निर्माण हुने भवनको बाहिरी भागमा मोटरसाइकल पार्किङ् गर्ने ठाउँ र हरियाली हुनेछ ।

तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन

काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...

३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता

वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...

६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता

नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न

तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...

२६ साउन २०८२ १४:२९ |मेट्रो संवाददाता