अधिकांश अस्पताल आइतबार पनि खुल्ने

अधिकांश अस्पताल आइतबार पनि खुल्ने

मेट्रो संवाददाता

८ जेठ २०७९ १:०६

सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयन भए पनि उपत्यकाका अधिकांश ठूला अस्पताल आइतबार सञ्चालनमा आउने भएका छन् । लगातार दुई दिन बिदा हुँदा बिरामीलाई उपचारमा समस्या पर्ने जनाउँदै ती अस्पताल आइतबार सञ्चालन हुन थालेका हुन् । दुई दिन बिदा हुँदा बिरामी निकै मारमा पर्ने देखिएको छ ।

उपत्यकाको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पताल, कान्ति बाल अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, सहिद गङ्गालाल हृदय रोग केन्द्र, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताललगायतका ठूला अस्पतालले बिरामीको उपचारलाई मध्यनजर गर्दै आइतबार अस्पताल सञ्चालन गर्ने निर्णय गरेका हुन् । यसअघि जेठ १ गते आइतबारका दिनसमेत ती अस्पताल खुलेका थिए । तर, वीर अस्पतालले भने सरकारको दुई दिन बिदा दिने निर्णयलाई कार्यन्वयन गर्दै आइतबार बन्द गर्ने गरेको छ ।

सरकारले यही जेठ १ गतेदेखि शनिबार र आइतबार बिदा दिने निर्णय गरेको थियो । सरकारले सोमबारदेखि शुक्रबारसम्म कार्यालय समय बिहान ९ः३० देखि अपराह्न ५ः३० बजेसम्म तोकेको छ । वीर अस्पतालका निर्देशक डा भूपेन्द्र बस्नेतले सरकारले गरेको निर्णयानुसार नै अस्पताल आइतबार बिदा हुने बताउनुभयो ।

“सरकारको निर्णयानुसार हामी अस्पताल सञ्चालन गर्दछौँ”, उहाँले भन्नुभयो, “तर अस्पतालको आकस्मिक सेवा २४ घण्टा नै सञ्चालन भइरहेको छ । बहिरङ्ग विभागमा त्यति गम्भीर बिरामी नआउने भएकाले आइतबार बन्द गर्ने निर्णय गरेका हौँ ।” उहाँ कार्यालय समय बढेकाले बिरामीको उपचार गर्न सकिने तर्क गर्नुहुन्छ ।

यस्तै गङ्गालाल हृदयरोग केन्द्रका निर्देशक डा चन्द्रमणि अधिकारीले बिरामीको उपचारलाई मध्यनजर गर्दै आइतबार पनि अस्पताल खुल्ने बताउनुभयो । उहाँका अनुसार केन्द्र स्वायत्त स्वास्थ्य संस्था भएकाले सरकारको निर्णय माने पनि बिरामीको उपचारलाई ख्याल गर्दै आइतबार पनि खुल्ने छ । उक्त केन्द्रमा दैनिक ६०० बिरामी उपचारका लागि आउने गर्दछन् ।

यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा मनिषा थापाले सार्वजनिक बिदाका दिन आइतबार पनि बहिरङ्ग सेवालगायत सम्पूर्ण सेवा नियमित सञ्चालन हुने बताउनुभयो । त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले पूर्ववत अवस्थामा नै अस्पताल सञ्चालन भइरहने जानकारी दिनुभयो । बिरामीको अवस्थालाई मध्यनजर गर्दै अस्पताल आइतबार पनि खुल्ने बताउनुभयो ।

त्रिवि शिक्षण अस्पतालमा दैनिक करिब दुई हजार ५०० बिरामी उपचारका लागि आउने गर्दछन् । निजामती कर्मचारी अस्पतालका प्रशासकीय प्रमुख कृष्ण सापकोटाले भोलिको आइतबार खुल्ने र आगामी आइतबार खुल्ने वा नखुल्नेबारेमा निजामती कर्मचारी अस्पताल विकास समितिले निर्णय गर्ने जानकारी दिनुभयो । उहाँका अनुसार अस्पतालमा दैनिक एक हजार मानिस नियमित उपचारका लागि आउने गर्दछन् ।

पाटन मानसिक अस्पतालका निर्देशक डा अनन्तराज अधिकारीले आइतबार पनि अस्पताल खोलिरहेको जानकारी दिनुभयो । उहाँले बिरामीलाई सेवा दिन भनिएका अस्पताल बन्द हुँदा समस्या हुने भएकाले आइतबार खोल्ने बताउनुभयो । “अत्यावश्यक सेवामुलक संस्था आइतबार पनि खोल्दा नागरिकलाई निकै सहज हुन्छ, आइतबार अस्पताल आएका विरामी फर्कनु राम्रो होइन”, उहाँले भन्नुभयो । उहाँका अनुसार अस्पतालमा दैनिक १५० बिरामी आउने गर्दछन् ।

तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन

काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...

३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता

वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...

६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता

नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न

तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...

२६ साउन २०८२ १४:२९ |मेट्रो संवाददाता