अनिष्ट समयकालबाट प्राणी जगतकाे उद्धार गर्न करुणामय बुंगद्यः (रातो मच्छिन्द्रनाथ)को असार २४ गते रथारोहण गरिँदै

अनिष्ट समयकालबाट प्राणी जगतकाे उद्धार गर्न करुणामय बुंगद्यः (रातो मच्छिन्द्रनाथ)को असार २४ गते रथारोहण गरिँदै

मेट्रो संवाददाता

२० असार २०७७ १८:२४

२० असार, काठमाडाैं ।

वर्षा र सहकालका देवताका रुपमा पुजिने करुणामय अर्थात बुंगद्यः अर्थात रातो मच्छिन्द्रनाथको असार २४ गते रथारोहण गरिँदैछ ।

ललितपुरको पुल्चोकमा बनाइएको ३२ हात अग्लो रथमा क्ररुणामय बुंगद्यः (रातो मच्छिन्द्रननाथ)लाई रथारोहण गर्ने साइत सार्वजानिक भए लगत्तै सर्वसाधारणमा खुशी छाएको छ ।

दैवज्ञ ज्योतिष कीर्तिमदन जोशीले असार २४ गतेको दिन करुणामय (रातो मच्छिन्द्रनाथ) रथारोहणको लागि उपयुक्त दिन भएको सम्बन्धित निकायलाई सिफारिस गरिसकेको बताए ।

नेपालसंवत ११४० दिल्लागा तृतिया (श्रावण कृष्णपक्ष) अर्थात २०७७ असार २४ गते बुधबार विहान ०७ः०८ बजेदेखि ०७ः २४ बजेभित्र करुणामय (मच्छिन्द्रनाथ)को रथारोहण साईत निकालिएको छ ।

उक्त दिन सुर्योदय ०५ः१४ः४४ बजे हुनेछ भने सुर्यास्त १९ः०३ः०६ हुनेछ । त्यस्तै घनिष्ठा नक्षत्र, प्रिति योग र भद्रा करण भएको उक्त दिनमा रातो मच्छिन्द्रनाथलाई बाजागाजाका साथ बिशेष पुजाआजा गरी पानेजुहरुले खटमा बोकेर पुल्चोक ल्याएर, रथमा बिराजमान गराएसँगै मुलुककै सबैभन्दा लामो रथजात्रा शुरु हुन्छ ।

बुधबार विहान ०६ः५९ देखि ०८ः४२ सम्म बृहस्पति बक्र हुने समय हो । बृहस्पति बक्र हुने कालगति मानव जातिलाई खराव समय हो । ‘यस्तो कालगति समयमा करुणामय बुंगद्यः सवारी हुँदा सबै प्राणीहरुको भय, दुःख निवारण हुने गर्दछ ।’ पानेजु हेमबज्र बज्राचार्यले भने, ‘यो समय करुणामय बुंगद्यः (रातो मच्छिन्द्रनाथ)लाई रथारोहण गर्ने उपयु्क्त समय हो ।’

उक्त साईतमा ललितपुरको मच्छिन्द्रबहालमा करुणामय स्वरुपको कलस पानीको स्थान सार्ने गरिन्छ । यसो गरिसकेपछि दिनभरमा जुनै पनि बेला करुणामय भगवानलाई खटसवारी गरेर पुल्चोकस्थित निर्माण सम्पन्न भएको रथमा रथारोहण गर्न सकिने पानेजु बज्राचार्यले बताए ।

रथकाे माथिल्लाे भागमा राखिने बाय्‌म्वः ।



‘बुधबार पुल्चोकस्थित बनाउँदै गरेको रथमा बाय्‌म्वः राख्न सकेको खबर पाउनासाथ मच्छिन्द्रबहालबाट करुणामय भगवानलाई खटयात्रा सवारी गराई रथारोहणको लागि लगिनेछ ।’, पानेजु बज्राचार्यले भने, ‘बैशाख शुक्ल प्रतिपदा बछलाथ्व पारुको दिन रथारोहण गरि जात्रा शुरु गर्नु पर्नेमा कोभिड १९ लकडाउनका कारण रथजात्रा रोकिएको थियो । सो दिन मच्छिन्द्रबहालस्थित करूणामय बुंगद्यः(राताे मच्छिन्द्रनाथ)को मूर्ति जात्राको लागि मन्दिरबाट बाहिर ल्याइ सोहि बहालस्थित पाटीमा बिराजमान गराई नित्य पूजाआजा हुँदै आएको छ । ’

जीवन्त संस्कृतिका रूपमा लिइएकाे बुंगद्यःकाे जात्रा उपत्यकाबासी सबैले धुमधामका साथ मनाउने गदर्छ । बुंगद्यःकाे जात्रा बौद्धमार्गी, हिन्दू, बैष्णवी र शैव (नाथ सम्प्रादय) हरूले समेत उतिकै मनाउँछन् ।

अन्न र वृष्टिको देवता मानिने करूणामय बुंगद्यः (रातो मत्स्येन्द्रनाथ)को रथजात्राका लागि त्रयोदशी भुवनको प्रतीकका रूपमा तेह्र तला र बत्तीस लक्षणको हिसाबमा बत्तीस हातको रथ बेत र काठमात्र प्रयोग गरी पुल्चोकमा तयार गरिंदैछ ।

तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन

काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...

३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता

वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...

६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता

नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न

तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...

२६ साउन २०८२ १४:२९ |मेट्रो संवाददाता