कामपाबाट लकडाउनकाे समयमा विकास निर्माणका कामलाई निरन्तरता दिँदै

कामपाबाट लकडाउनकाे समयमा विकास निर्माणका कामलाई निरन्तरता दिँदै

मेट्रो संवाददाता

२२ जेठ २०७७ ११:०६

लकडाउनकै बीचमा काठमाडौं महानगरपालिकाले विकास निर्माण र पूर्वाधारका कामलाई निरन्तरता दिएको छ।

काठमाडौं महानगरपालिका सहरी पूर्वाधार विभागका प्रमुख राम थापाले बन्दाबन्दीको समयमा पनि आकाशे पुल निर्माणसँगै अन्य भौतिक पूर्वाधारका काम अघि बढिरहेको जानकारी दिए।

‘केही दिन अघि मात्रै वडा–८ को जय बागेश्वरीमा सार्न मिल्ने आकाशे पुलको शिलान्यास भएको छ,’ थापाले भने, ‘माइतीघर नजिकै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय छेउको निर्माणधीन आकाशे पुल करिब–करिब निर्माण सम्पन्न हुने क्रममा छ। बन्दाबन्दीमा समेत कामलाई निरन्तरता दिएर सकेसम्म असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने तयारी छ।’

आर्थिक वर्ष २०७६-०७७ मा महानगरपालिका क्षेत्र भित्रका विभिन्न ६ स्थानमा सार्न मिल्ने आकाशे पुल निर्माण गर्ने योजना रहेको भन्दै थापाले सोही अनुरूप अहिले चाबहिल, जय बागेश्वरी र माइतीघर नजिक यस्ता पुल निर्माणको काम अघि बढिरहेको बताए।

उनले एक करोडको हाराहारीमा निर्माण हुँदै गरेको माइतीघर नजिकको पुल सकेसम्म असार मसान्तभित्र सम्पन्न गर्ने गरी काम अघि बढाएको बताए।

८२ लाख ६६ हजार रुपैयाँमा निर्माण हुँदै गरेको चाबहिलको पुल निर्माणको काम पनि अघि बढेको उनले जानकारी दिए।

‘जय बागेश्वरीको पुल बन्दाबन्दीकै बेलामा समेत काम गरेर आउँदो ४ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ,’ उनले भने, ‘आगामी दिनमा पैदल यात्रुको सुरक्षा र सहरी सवारी आवागमनलाई सहज बनाउन काठमाडौं महानगरपालिकाले यात्रुको धेरै चाप हुने ठाउँमा पैदल यात्रुका लागि क्रमशः आकाशे पुल निर्माण गर्दै जाने नीति लिएको छ।’

जय बागेश्वरीको पुल भ्याटबाहेक ६४ लाख ९९ हजार रुपैयाँको लागतमा निर्माण सम्पन्न गर्ने गरी काम अघि बढाएको हो।

यही आर्थिक वर्षमा कम्तीमा ६ स्थानमा अकाशेपुल निर्माण गर्ने योजना भए पनि विभिन्न कारणले तीन वटामात्रै अघि बढेको बताए।

‘हामीले यही आर्थिक वर्षमा चाबहिल, जय बागेश्वरी, सिंहदरबारअघि, नयाँ बानेश्वर, कोटेश्वर लगायतका स्थानमा यस्ता पुल निर्माण गर्ने योजना बनाएका थियौं,’ उनले भने, ‘तर, नयाँ बानेश्वर र कोटेश्वरमा सडक विभागले निर्माण गर्ने भनेकाले अन्य ठाउँको पहिचान गरिरहेका छौं। कम्तीमा १० स्थानमा यस्ता पुल निर्माण गर्ने महानगरपालिकाको योजना छ।’

उनले विभिन्न वडाका काम पनि लकडाउनका बेलामा समेत सामाजिक दूरी कायम गर्दै र सुरक्षाका उपाय अपनाएर अघि बढाएको बताए।

‘७, १०, ११, १२, १३, १४,१६ लगायतका वडामा कालोपत्रे गर्ने बाहेक व्लक छाप्ने, ढलान गर्ने, ढल निर्माण गर्ने, वडा कार्यालय भवन निर्माण गर्ने जस्ता भौतिक पूर्वाधारका कामलाई निरन्तरता दिएका छौं,’ उनले भने, ‘कालोपत्रे गर्ने श्रमिक बढी मात्रामा तराईतिरका हुने भएकाले उनीहरू आउन नपाएका कारण कालोपत्रे गर्ने काम भने अघि बढाउन सकेका छैनौं।’

महानगरका अनुसार करिब २ सय करोडका आयोजना चालू अवस्थामा रहेका छन्।

तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन

काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...

३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता

वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...

६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता

नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न

तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...

२६ साउन २०८२ १४:२९ |मेट्रो संवाददाता