ज्या: पुन्ही ( गैंडु पुर्णिमा/ मष्ट पूर्णिमा)

ज्या: पुन्ही ( गैंडु पुर्णिमा/ मष्ट पूर्णिमा)

मेट्रो संवाददाता

११ असार २०७८ १०:४८

ज्या: पुन्हीको नामले चिनिने ज्येष्ठ शुक्ल पुर्णिमा ( तछलाथ्व पुन्ही) लाई नेवार समुदायले एक महत्वपूर्ण पुर्णिमाको रुपमा लिने गर्दछन्।

यसदिन पाटनको तत्कालीन राजा श्रीनिवास मल्लको राजगद्दी र सिद्धिनरसिंह मल्लले कोरेका श्रीकृष्णको पौभालाई दरबारबाट बाहिर ल्याइ कृष्ण मन्दिरको फलेकमा राखिन्छ।

प्रचलित किंवदन्ती अनुसार तत्कालिन समयमा राजा आफैं बाहिर बसेर अन्न उब्जनी गर्न गाह्रो परेकालाई ऋण तथा धानको बीउ दिने गर्दथे। यसै समयमा पाटन दरबार क्षेत्रमा `मेघ मल्हार´ भनी दाफा गाउने गर्दछन् ।

३२ राग सहितको यस दाफा गीत गाएपछी पानी पर्ने जनविश्वास अझै पनि रहेको पाइन्छ। सिद्धिनरसिंह मल्ल आफैंले रचना गरेको मानिने मेघ मल्हारमा हाल भने २२ राग मात्र गाइने गरिन्छ।

यसै दिनलाई खेतीपाती तथा धान रोपाइँको सुरुवात मानिन्छ। यसै दिनबाट आफ्नो चाडपर्व, भोजहरु, तथा पुजाहरु जाने जस्ता कार्यहरुलाई पुर्णविराम दिई सबैजना रोपाइँको काममा व्यस्त हुने भएकोले यस पुर्णिमालाई ज्या: पुन्ही अर्थात् कामको सुरुवात हुने पुर्णिमा ( रोपाइँको पुर्णिमा) भनिएको हो।

यसरी पुर्णिमा देखि सुरु हुने यस रोपाइँ कार्यको अविधिलाई स्थानियहरु ` सिनाज्या / सिन्हा ज्या´ भन्ने गर्दछन् । तत्कालीन समयमा आफ्नो वर्षभरीको मुख्य अन्न नै चामल हुने गरेकोले रोपाइँलाई एकदमै महत्व दिएको पाइन्छ ।

कथनअनुसार पहिलेको समयमा यस रोपाइँको चटारो बेला घरको कुनै सदस्यको मृत्यु भयो भने पनि लासलाई घरको दक्षिण तर्फ राखेर खेतिमा लाग्नु पर्थ्यो र दाहसंस्कार ढिला गरिन्थ्यो।

रोपाइँको समयमा राम्ररी रोपाइँ गरिएन भने परिवारमा अन्नको अभावको समस्या आउने भएर मरेर भएपनी मिहेनत गरि काम गर्नुपर्ने भएकोले यस अविधिलाई सिनाज्या: ( मर्ने गरि काम गर्न पर्ने कार्य) भनिएको मानिन्छ।

यसैदिन पनौतीमा पनि श्री उन्मत्त भैरव र श्री भद्रकालीको भव्य जात्रा हुने गर्दछ। यी दुबै देवतालाई छुट्टा छुट्टै रथमा राखी तानेर पुलिस पाटी भन्ने ठाउँमा भेट गराई ठोक्काउने गरिन्छ।

यसलाई भैरव र भद्रकालीको समागम मानिन्छ । किंवदन्तीअनुसार एकपल्ट पार्वतीले ध्यानमा बसिरहेका शिवलाई यौन सम्बन्ध राख्नलाई ६४ योगिनीको रुप लिएर उक्साउन थाले। ध्यानबाट उठ्दा अगाडि योगिनीहरु देखेपछी उनले पनि उन्मत्त भैरवको रुप लिए। डरलाग्दो भयंकर रुप देखेपछी योगिनी रुपी पार्वती भाग्न थाले र उनले भद्रकालीको रुप लिए । यसरी लखेट्दै गर्दा एक ठाउँ पुगेपछी उन्मत्त भैरवले भद्रकालीलाई भेट्टाए र उनीहरु बीच ३ पटक समागम भयो। यसैको प्रतीक स्वरुप भद्रकाली र भैरवको रथलाई ठोक्काउने गरिन्छ।

यसै बेला जात्रा गरिने श्री इन्द्रेश्वर महादेवको खटमा रहेका पुजारीलाई खटबाट खसाउन सकियो भने पुजारीले मन्दिरमा १ तोला सुन चढाउन पर्ने परम्परा पनि रहेको छ।

ज्या: पुन्हिको दिन गरिने अर्को महत्वपूर्ण कार्य भनेको भुमी पुजा हो। लगभग हराइसकेको यो प्रचलन अनुसार पुर्णिमाको दिन घरको सबैभन्दा ज्येष्ठ सदस्यले आफ्नो खेतमा गइ पुर्व दिशा फर्केर पुजा गर्ने गर्दछन्।

त्यसको ३ दिन पछि फेरि खेतमा चाहिने जति वर्षा होस् भनी उत्तर फर्केर पुजा गरिन्छ र त्यसपछी मिलेको दिनमा रोपाइँ गरिन्छ।

ज्वाइँले खेतलाई सम्म पारेमा धानको उब्जनी राम्रो हुन्छ भन्ने जनविश्वास अनुसार रोपाइँ कार्यमा छोरी ज्वाइँलाई पनि बोलाउने चलन रहेको छ। रोपाइँ कार्य सक्किएपछी भने छोरी ज्वाइँले रोपाइँमा संलग्न भएका सबैलाई मिठाई र सुपारी दिई ढोगभेट गर्न पर्ने प्रचलन पनि रहेको पाइन्छ। यसरी कार्य सक्किएको ४-७ दिन पछि घरमा छोरी ज्वाइँलाई बोलाएर मीठो खाने कुरा खुवाउने प्रचलन पनि रहेको छ। हाल भने रोपाइँ बेला गाइने गीत र धुन देखि लिएर यस्ता रमाइला परम्पराहरु हराउँदै गएका छन्। खेत बारि भन्दा घर बढी भैसकेको काठमाडौमा भविष्यमा यी चलनहरु हराएर जालान् भन्दा फरक नपर्ला !!

लेख : Frannkey Franz
फाेटाे : Suprince Shakya

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता