नेपाल संवत्‌का विरोधीहरू अझै सक्रिय

नेपाल संवत्‌का विरोधीहरू अझै सक्रिय

केके मानन्धर

२१ कार्तिक २०८१ १०:०९

शंखधर साख्वाःलाई राष्ट्रिय विभूति घोषणा । २०५६ सालमा प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई नेतृत्वको मन्त्रिपरिषद् बैठकले नेपाल संवत्‌का प्रवर्तक शंखधर साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गरेको हो ।

नेपाल संवत्‌का प्रवर्तक शंखधर साख्वाः नेपाली मात्रका विभूति हुन् भन्नेमा दुई मत छैन । यस संवतको विशेषता मौलिक राष्ट्रिय संवत् हुनुमा छ भन्ने पनि स्थापित भइसकेको तथ्य हो । नेपाल देशकै नाउँमा स्थापित संवत् राष्ट्रिय संवत् हुनु सुखद संयोग पनि हो ।
तत्कालीन नेपाल मण्डलका राजा राघव देवको पालामा शुरू गरिएको यस संवत्‌मा १२ औंसी र ३ सय ५४ दिनको एक वर्ष गणना हुन्छ । प्रत्येक तीन वर्षको एकचोटि अनला महिना अर्थात् पुरूषोत्तम महिना हुन्छ ।

इतिहास र आधारः
तत्कालीन नेपालमा मानदेव संवत, शक संवत्, कलिगत संवत् पनि प्रयोग गरिए । शंखधर साख्वाःले शुरू गरेको नेपाल संवत्‌काे मौलिकता पृथक छ । कलिगत संवत् ३९८१ र शक संवत् ८०२ सालमा नेपाल संवत् सुरू भएको हो । आमजनताको ऋण मोचन गरेर शंखधर साख्वाःले मातृभूमिकै नाउँमा नेपाल संवत् शुरू गरेका हुन् । संवत् शुरू गरेका साख्वाःको मूर्ति पशुपतिनाथ परिसरमा छ ।
शंखधरले सुरू गरेको संवत् भएर ‘शंखधरकृत नेपाल संवत्’ पनि भनिएको छ । गोपालराज वंशावलीमा ‘श्री राघवदेव वर्षे ६३ मास ४, श्री पशुपति भट्टाकरे संवत्‌सर प्रवृतिकृता’ उल्लेख छ । यो आधारले पनि राजा राघवदेवको पालामा नेपाल संवत् प्रचलनमा ल्याइएको पुष्टि हुन्छ ।
संवत् सुरू गरेका शंखधर साख्वाःलाई भने फरक अभिलेखमा करिव उस्तैखाले नाउँले जनाएको देखिन्छ । भक्तपुरको जेला टोलमा राखिएको शिलापत्रमा ‘शंख्वा संवत् ८२७ बछलागा दशमी वशुवाः’ उल्लेख छ । तत्कालीन गोर्खाका राजा पृथ्वीनारायण शाहले नेपाल संवत् ८८८ सालमा उपत्यका जितेपश्चात्को भाषा वंशावलीमा साख्वाः र नेपाल संवत् ९६७ को वंशावली साख्वाल उल्लेख छ ।
राष्ट्रिय अभिलेखालयको विक्रम संवत् १९५१ को ‘नेपालदेशीय पञ्चाङ्ग’मा श्रीशंखधरकृत नेपाली संवत् १०१४ उल्लेख छ । यी आधारले फरक कालखण्डमा नेपाल संवत् र शंखधर साख्वाःलाई दुरुस्तै उल्लेख नगरे पनि करिव उस्तै खाले जनाउ दिएको देखिन्छ ।

प्रचलित किंवदन्तीहरूः
ज्योतिषीहरूको दाबीबमोजिम शंखधर साख्वाःले घरमा ल्याएको बालुवा चार दिनपछि सुनमा परिणत भएको थियो । त्यो सुन उनले ऋणमा डुबेका गरिब जनतालाई बाँडेका थिए । अनि जनताले आफ्नो ऋण तिरेको भनाइ छ । अर्को किंवदन्तीअनुसार शंखधर भन्ने एक मनकारी महाजन थिए ।
शंखधरका साथीहरू पनि व्यवसायी थिए । तर, शंखधरको जस्तो व्यापार उनीहरूको हुँदैनथ्यो । ती साथीलाई शंखधरको व्यापारप्रति डाह गर्थे । उनीहरूले जालसाजी गरेर राजालाई ‘यसले अनैतिक व्यापार गरेको छ’ भनी पोल लगाइदिए । यो उजुरीपछि राजाले शंखधरको सम्पत्तिमाथि अतिक्रमण गरे ।
यसबाट विचलित शंखधर जोगीजस्तै भएर हिँड्न थाले । पछि राजाले खोजतलास गर्दा उनी अनैतिक नभएको पत्ता लाग्यो । राजाले पश्चाताप गर्दै ‘तिमी इमान्दार रहेछौ, तिम्रो सम्पत्ति फिर्ता लैजाऊ’ भने ।
गुमिसकेको पैसा र सम्पत्ति फिर्ता पाएका शंखधरले ऋणमा डुबेका जनतालाई सहयोग गरे । सबै जनताको ऋण मोचन भयो । त्यस आधारमा पनि नेपाल संवत् चलेको भनाइ छ ।

पद्मरत्न तुलाधर र नेपाल संवत्को सम्बन्धः
नेपाल संवत्‌मा पद्मरत्न तुलाधरको नाउँ स्वतः जोडिन्छ । दशकौंसम्म संवत्‌को लागि भएको आन्दोलनलाई नेतृत्व गरेका तुलाधरको योगदानलाई बुँदागत रूपमा हेरौंः

  • नेपाल संवत्‌लाई राज्यस्तरबाट राष्ट्रिय संवत्‌को मान्यता दिलाउन नेपाल भाषा मंका खलःले तीन दशकसम्म सांगठनिक आन्दोलन चलायो । खलःको संस्थापक अध्यक्षको रूपमा पद्मरत्न तुलाधरको नाम उदायो । खलःकै नेतृत्वमा नेपाल संवत् ११०० अर्थात् २०३७ सालमा आयोजित न्हूदँया भिंतुना -यालीले नेपाल संवत्‌को आन्दोलनको रूप लियो जुन अहिलेसम्म पनि प्रत्येक वर्ष तिहारको गोवद्र्धन पूजा अर्थात् नेपाल संवत् अनुसार कछलाथ्व पारूको दिनमा आयोजना हुन्छ । यही आन्दोलन पछिल्लो समय देशव्यापी रूपमा मनाउन थालिएको छ ।
  • बहुदलीय प्रजातन्त्रपश्चात् तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको प्रमुख आतिथ्यमा नेपाल भाषा मंका खलःले सांस्कृतिक कार्यक्रम आयोजना ग-यो ।
  • तत्पश्चात् ल्याय्‌म्ह पुचः थिमिको १५ औं स्थापना दिवसमा नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले नेपाल संवत्‌लाई राष्ट्रिय मान्यता दिलाउने आश्वासन दिए । त्यसलगत्तै २०५६ सालमा प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई नेतृत्वको मन्त्रिपरिषद् बैठकले नेपाल संवत्का प्रवर्तक शंखधर साख्वाःलाई राष्ट्रिय विभूति घोषणा ग-यो ।

नेपाल संवत् आन्दोलनका उपलब्धि
१) शंखधर साख्वाःलाई राष्ट्रिय विभूति घोषणा । २०५६ सालमा प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई नेतृत्वको मन्त्रिपरिषद् बैठकले नेपाल संवत्‌का प्रवर्तक शंखधर साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गरेको हो ।
२) नेपाल संवत्‌लाई राष्ट्रिय संवत्को मान्यता दिलाइयो । गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको मन्त्रिपरिषद् बैठकको निर्णय । मिति २०६५ कात्तिक ७ गते ।
३) नेपाली पाठ्यक्रममा नेपाल संवत् र शंखधर साख्वाः समावेश गरियो । स्थानीय पाठ्यक्रम लागू हुनुअघि नेपाली पाठ्यक्रमअन्तर्गतको कक्षा ६ को पाठ १६ मा नेपाल संवत् र शंखधर साख्वाःको विषय समावेश छ ४) हुलाक टिकटमा शंखधरलाई स्थान दिइयो । नेपाल संवत् ११२४ अर्थात् २०६० सालमा तत्कालीन सूचना तथा सञ्चारमन्त्री कमल थापाबाट हुलाक टिकटमा पहिलो टाँचा लगाइयो ।
५) शंखधरको प्रतिमा अनावरण तथा माल्यार्पण गरियो । नेपाल संवत् ११२२ मा सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाबाट शंखधर साख्वाःको प्रतिमा अनावरण तथा माल्यार्पण कार्यक्रम सम्पन्न भएको थियो ।
६) सरकारी लेटर प्याडमा नेपाल संवत्‌को प्रयोग गरियो । प्रधानमन्त्री गरिजाप्रसाद कोइरालाको कार्यकालमा ११२८ देखि सरकारी लेटर प्याडमा नेपाल संवत्‌को प्रयोग भएको हो ।
७) नेपाल संवत्‌को नयाँ वर्षमा सार्वजनिक बिदाको घोषणा । २०७० सालको यस निर्णयलाई नेपाल राजपत्रमा पनि प्रकाशित गरियो ।
८) अमेरिकाको नासामा कार्यरत भक्तपुरका शौनक रञ्जितकारले लामो समयसम्म अन्वेषण गरी वैज्ञानिक रूपमा प्रमाणित गरेपश्चात् नेपाल संवत्, विक्रम संवत् र इस्वी संवत्समेत समेटेर क्यालेन्डर एप अर्थात् पात्रो एप्लिकेसन तयार गरे । विक्रम संवत् र इस्वी संवत्‌मा समेत तिथिमिति हेर्न मिल्ने गरी नेपाल संवत्‌को एप तयार भयो ।
नयाँ तयार गरिएको एपले केही वर्ष यतादेखि नेपाल संवत्‌मा देखिएको घटबढको समस्या हल हुने विश्वास लिइएको छ । यसअघि, पात्रो ठाउँअनुसारले फरक हुँदा लक्ष्मीपूजा, म्हपूजा र किजापूजा मनाउने दिनमा अलमल थियो ।
देशका विभिन्न ठाउँमा शंखधर साख्वाःका प्रतिमा स्थापना गरिएका छन् । दोलखाको चरिकोट, गोरखा जिल्लाको गोरखा बजार, कास्कीको पोखरा, झापाको दमक, पाल्पाको तानसेन, बाँकेको नेपालगञ्ज, काठमाडौंस्थित कीर्तिपुरको बाघभैरव परिसर, शंखरापुर नगरपालिका (साँखु/सक्व), काठमाडौंकै शंखधर उद्यान (रत्नपार्क), मध्यपुर थिमिको शंखधर चोकमा शंघधरको प्रतिमा देख्न सकिन्छ ।
मध्यपुर थिमि शंखधर चोकमा अवस्थित शंखधर साख्वाःको प्रतिमामा केही वर्ष यतादेखि सरकार प्रमुखबाट माल्यार्पण हुँदै आएको छ । यो वर्ष कात्तिक १९ गते अर्थात् नेपाल संवत् नयाँ वर्ष ११४२ को उपलक्ष्यमा दोलखा, कास्की र गोर्खामा अवस्थित शंखधर साख्वाःको प्रतिमामा पनि माल्यार्पण हुने भएको छ ।

नेपाल संवत्‌का १२ महिना र पुरुषोत्तम महिनाः
१) कछला २) थिंला ३) पोहेला ४) सिल्ला ५) चिल्ला ६) चौला ७) बछला ८) तछला ९) दिल्ला १०) गुंला ११) ञला १२) कौला । यी बाह्र महिनामध्ये प्रत्येक तीन वर्षमा अनला महिना अर्थात् पुरूषोत्तम महिना हुन्छ ।

नेपाल संवत् आन्दोलन र संवत् विरोधीहरूको राजनीतिः
मध्यकालमा राज्यस्तरले प्रयोग गरेको नेपाल संवत्‌लाई श्री ३ चन्द्र शमशेरले विस्थापित गरेका हुन् । नेपालका १३औं प्रधानमन्त्री तथा श्री ३ महाराजले १२ राशिका संक्रान्तिलाई प्रवेश गराई भारतीय विक्रम संवत् नेपालमा चलाएका हुन् । चतुर तथा केही हदसम्म सुधारक शासकको रूपमा उदाएका चन्द्र शमशेरदेखि सुरू भएको नेपाल संवत्‌विरुद्धको राजनीति अझै कायम छ । राजनीतिको प्रकृति भलै फरक छ, तर यो षड्यन्त्र अझै कायम छ ।
तानाशाही राज्य व्यवस्थामा नेपाल संवत्‌को पक्षमा नेवार समुदायबाट थालिएको आन्दोलन दबाइए पनि प्रजातन्त्र बहालीसँगै यसको स्वरूप परिवर्तन गरी आन्दोलनलाई पनि निरन्तरता दिइएको छ । नेपाल संवत्‌लाई राष्ट्रिय संवत् बनाउनुपर्ने मागसहित विभिन्न चरणमा आन्दोलन भए ।
पञ्चायती व्यवस्थामा केही हदसम्म यो आन्दोलन सिथिल भए पनि लोकतन्त्रसँग यसले उच्च सफलता हासिल ग-यो । नेपाल संवत् आफैमा संकीर्ण सोच, जातीय मुद्दा तथा सरकारविरोधी अभियान ठान्नेहरूले फरक प्रकृतिमा उपलब्धि मास्ने कुटिल प्रयास गरेका छन् । त्यसमध्ये तिथिमा अलमल गरेर नेपाल संवत् व्यावहारिक छैन भन्ने प्रमाणित गर्न खोज्नु अर्को नेपाल संवत्‌विरुद्धको षड्यन्त्र हो ।
नेपाल पञ्चाङ्‌ग निर्णायक समितिका पदाधिकारीहरू पनि यस संवत्‌को विरोधी देखिएका छन् । एक त सरकारी मान्यता प्राप्त पञ्चाङ्‌गले सांस्कृतिक पक्षदेखि खगोल विज्ञानलाई सही व्यवस्थापनमार्फत सरोकारवालासँग सहकार्य गरेर अघि बढ्नुपर्ने देखिन्छ भने अर्कोतिर विवादरहित पात्रो प्रकाशन गर्नुपर्ने देखिन्छ ।
आम नागरिकले आधार मान्ने पात्रो नै हो, त्यसमै अलमल भएपछि सांस्कृतिक रूपमा विचलन हुनु स्वाभाविक छ । सभ्य समाजको प्रतिविम्ब रूपी संस्कृतिलाई नै प्रभावित बनाउने नियोजित षड्यन्त्र नेपाल संवत्‌माथि लाद्नु दुर्भाग्यपूर्ण छ ।

नेपाल समाचारपत्र दैनिकमा प्रकाशित फिचर
(लेखक केके मानन्धर सञ्चारकर्मी तथा विभिन्न कलेजमा आमसञ्चार तथा पत्रकारिता अध्यापन गर्ने लेक्चरर हुनुहुन्छ ।)

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता