पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल  : एक वर्ष म्याद थप्ने तयारी

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल : एक वर्ष म्याद थप्ने तयारी

मेट्रो संवाददाता

२७ असार २०७८ ७:५५

पोखरा, २७असार २०७८ ।

निर्माण अवधिमा कुनै खाले अवरोध नआएको भए शनिबार (जुलाई १०) पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल हस्तान्तरण हुनुपर्ने हो । कोरोना भाइरस संक्रमण र केही आन्तरिक अप्ठेरोले तोकिएको समयमा विमानस्थल निर्माण पूरा हुन सकेन । विमानस्थल निर्माण गरिरहेको कम्पनिले एक वर्ष म्याद थप्न माग गरेको छ । काममा अवरोध नआएको भए यो विमानस्थल ६ महिनाअघि नै निर्माण सक्ने लक्ष्य थियो ।

आयोजना प्रमुख विनेश मुनकर्मीका अनुसार अहिलेसम्म ८१ प्रतिशत काम सकिएको छ । अबको ६ महिनाका काम सकिने र बाँकी तीन महिनामा अरू परीक्षण सकिने हुँदा नौ महिना पर्याप्त हुने भए पनि निर्माण कम्पनिले एक वर्षका लागि म्याद थप्न माग गरेको मुनकर्मीले जानकारी दिए । ‘तोकिएको समयमा विमानस्थल पूरा हुन सकेन । पहिलोपटक पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि म्याद थप हुँदैछ,’ उनले भने ।

मुनकर्मीको अनुमानमा अबको ६ महिनामा विमानस्थल निर्माणको सबै काम सकिन्छ । त्यसपछि तीन महिनामा परीक्षणका काम हुनेछन् । ‘अबको नौ महिनामा विमानस्थल तयार पार्ने योजना हो । तर निर्माण कम्पनिले एक वर्ष समय मागेको छ,’ मुनकर्मीले भने, ‘थोरै समय म्याद थपेर त्यो अवधिमा काम नसकिएमा पुनः थप्नुपर्ने भएकोले अहिले नै एक वर्ष म्याद थप्न कम्पनीले आग्रह गरेको छ ।’ म्याद थपको प्रक्रिया अघि बढिसकेको छ ।

उनका अनुसार कोरोनाको तेस्रो लहरको सम्भावना रहेको र फेरि पनि काम रोकिने सम्भावना भएकोले केही बढी समय आवश्यक परेको हो । ‘कोरोना संक्रमणको तेस्रो लहर सुरु भयो भने फेरि काम अवरुद्ध हुने त्रास छ । विमानस्थल निर्माण सुरु भएपछि सोच्दै नसोचेको अवरोध सिर्जना भयो,’ उनले भने, ‘त्यसले गर्दा कामले गति लिन पाएन । अझै पनि काममा अवरोध आउने हो कि भन्ने त्रास छ ।’ अवरोध नआए अबको नौ महिनाभित्र काम सक्ने आफूहरूको लक्ष्य रहेको उनले बताए ।


अघिल्लोपटक प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले २०७३ वैशाख १ गते यो आयोजनाको शिलान्यास गरेका थिए । शिलान्यासको डेढ वर्षपछि विमानस्थलको पूर्वाधार बनाउन थालिएको थियो । विमानस्थल बनाउन चिनियाँ कम्पनी चाइना सिएएमसी इन्जिनियरिङ र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बीच सहमति भएको थियो । म्याद थपिए पनि २०२२ को सुरुका केही महिनाभित्रै व्यावसायिक उडानमा सञ्चालनमा ल्याउने लक्ष्य पनि रहेको उनले बताए ।

उनका अनुसार अहिलेसम्म विमानस्थल निर्माणको धेरै काम सकिएको छ । भौतिक पूर्वाधार सम्पन्न भइसकेको र अब उपकरण जडान र फिनिसिङको काम मात्र बाँकी छ । त्यसले गर्दा कुनै अप्ठेरो नआएमा ६ महिनाभित्रै काम सकिने अनुमान गरिएको हो । ‘यो बीचमा प्राविधिक आउन सकेनन् । अझै पनि विदेशी प्राविधिक आउन सकेका छैनन्,’ मुनकर्मीले भने, ‘कपितय उपकरण ल्याउन पनि सकिएको छैन । ती उपकरण र प्राविधिक आउन नपाउँदा काम ढिला भएको हो ।’

उनका अनुसार विमानस्थलका लागि चाहिने उपकरण अमेरिका, अस्ट्रेलिया, चीन लगायत मुलुकबाट आउनुपर्छ । केही दक्ष प्राविधिक विदेशी नै हुने र उनीहरू आउन ढिलो भएकोले पनि तोकिएको समयमा काम सक्न कठिन भएको उनले बताए । यो विमानस्थलको निर्माण गति हेर्दा तोकिएको समयभन्दा ६ महिनाअघि नै निर्माण सक्ने लक्ष्य थियो । तर कोरोना संक्रमणका कारण एक वर्षदेखि काममा अवरोध हुँदा ढिला भएको पदाधिकारीको भनाइ छ । विमानस्थल बनाउन झन्डै २२ अर्ब रूपैयाँ लागत अनुमान छ । यो रकम अर्थ मन्त्रालयले चीनको एक्सपोर्ट–इम्पोर्ट (एक्जिम) बैंकसँग सहुलियत ऋणका रूपमा लिने सहमति छ । विमानस्थलको अहिलेसम्म २५ सय मिटर लम्बाइ, ४५ मिटर चौडाइ र ३४ सेन्टिमिटर बाक्लो धावनमार्ग तयार भएको छ । त्यस्तै, प्रतिघन्टा ६ सय यात्रु आउजाउ गर्न सक्ने क्षमताको टर्मिनल भवन बनिसकेको छ । जहाजको पार्किङस्थल (एप्रोन) पनि तयार भइसकेको छ । पार्किङस्थलमा ३ ठूला र ८ आन्तरिक उडानका गरी ११ जहाज पार्किङ गर्ने ठाउँ छ ।

वान–वे एप्रोचको यो विमानस्थलमा पूर्वबाट मात्र जहाज अवतरण गर्न सक्छन् । पूर्वतिरै फर्केर उड्ने गर्ने गरी विमानस्थल बन्दैछ । प्राधिकरण र सिएएमसीइ बीचको सम्झौतामा इपिसी (इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्सट्रक्सन) मोडलमा आइकाओ (अन्तर्राष्ट्रिय नागरिक उड्डयन अर्गनाइजेसन) को मापदण्ड अनुसार ‘फोरडी’ मोडलमा विमानस्थल बनाउने उल्लेख छ ।

विमानस्थल निर्माण सम्पन्न भइसक्दा पनि मुख्य दुईवटा समस्या भने अझै समाधान नभएको आयोजनाका पदाधिकारीको भनाइ छ । अहिले पनि विमानस्थल क्षेत्र हुँदै सिँचाइको पानी बग्ने गरेकोले समस्या थपिएको मुनकर्मीको भनाइ छ । सिँचाइको पानीका कारण विमानस्थल क्षेत्र बर्सेनि डुबानमा पर्ने गरेको छ । सिँचाइ विभागले नहर व्यवस्थापन नगरेको मुनकर्मीको भनाइ छ । त्यस्तै, अर्काे समस्या ल्यान्डफिल साइटको छ । विमानस्थलनजिकै अहिले पोखराको फोहर फ्याँक्ने ल्यान्डफिल साइट छ । त्यो ल्यान्डफिल साइट अन्यत्रै सार्ने भने पनि पोखरा महानगरपालिकाले ढिलाइ गरेको मुनकर्मीको भनाइ छ । ‘हामीले विमानस्थल निर्माण सक्न थाल्यौं, तर अरू निकायले असहयोग गर्दा अप्ठेरो परेको छ,’ उनले भने ।

चार दशकअघि पोखरा–१४, १५ र १८ वडा को ३ हजार १ सय ६ रोपनी जग्गा विमानस्थल बनाउन अधिग्रहण गरिएको थियो । त्यसले नपुगेपछि थप ५ सय २१ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । त्यसले पनि नपुगेपछि विमानस्थल वरिपरि १० किलोमिटर सडक बनाउन थप ६० रोपनी जग्गा अधिग्रहण गरिएको छ ।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता