दाफा गायन तथा हार्माेनियम बाजा प्रशिक्षण

दाफा गायन तथा हार्माेनियम बाजा प्रशिक्षण

मेट्रो संवाददाता

१४ पुष २०७८ ११:३७

कीर्तिपुर नगरपालिकाले दाफा गायन र हार्माेनियम प्रशिक्षण शुरू गरेको छ । अमूर्त सम्पदा दाफा संस्कृतिलाई संरक्षण र संबर्द्धन गर्ने उद्देश्यका साथ कीर्तिपुरका विभिन्न दाफा खलःहरूलाई यस्ताे प्रशिक्षण शुरू गरिएकाे हाे ।

कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले बिहीबार एक कार्यक्रमकाबीच पानसमा दीप प्रज्वलन गरी प्रशिक्षणको उद्घाटन गर्नुभएको थियो ।

कीर्तिपुर नगरपालिका वडा नं. २, न्यामासिमास्थित नेपालभाषा एकेदेमी हलमा सञ्चालन भैरहेको प्रशिक्षण गत हप्ताको आइतबारदेखि नै शुरू भए तापनि औपचारिक उद्घाटन भने यही बिहीबार मात्र भएको हो ।

कार्यक्रमको उद्घाटन गर्नुहुँदै नगर प्रमुख महर्जनले नेपालको संविधानद्वारा प्रदत्त संघीय संरचनाअनुसार तीन तहको सरकार रहेकोले जनतासँग प्रत्यक्ष सरोकार राख्ने नगरपालिका पहिले जस्तो निकाय नभई स्थानीय सरकार नै भएकोले यहाँका सबै क्षेत्रको विकास गर्नु पर्ने दायित्व रहेको बताउनुभयो ।

निर्वाचनका बेला आफूहरूले घोषणा गरे अनुसार नयाँ बस्तीहरूलाई व्यवस्थित गर्ने र पुराना बस्तिहरूलाई साँस्कृतिक शहरको रुपमा विकास गर्ने भन्ने कुरालाई ध्यानमा राखी यहाँका मूर्त अमूर्त सम्पदाहरूको संरक्षण र पुनर्निर्माणका कामहरू गरिरहेको बताउनुभयो ।

यसै सिलसिलामा कीर्तिपुरको मौलिक अमूर्त सम्पदा मध्ये यो दाफालाई पनि संरक्षण गर्ने र निरन्तरता दिने उद्देश्यले यो प्रशिक्षण शुरू गरिएको उल्लेख गर्नुभयो ।

यो दाफालाई पनि आय आर्जनसँग जोड्न सकिने बताउनुहुँदै नगर प्रमुख महर्जनले कीर्तिपुुर मै पनि थुप्रै संगीतसँग आवद्ध व्यक्तिहरू संगीतलाई नै आफ्नो मुख्य पेशाको रुपमा अंगालिरहेको उदाहरण प्रस्तुत गर्नुभयो ।

कार्यक्रममा उप–प्रमुख सरस्वती खड्काले यो तीन महिनाको हार्माेनियम प्रशिक्षण उपलब्धिमूलक रहोस् भनी कामना गर्नुहुँदै यो सिकाइ आफैलाई पनि राम्रो हुने र संस्कृतिको पनि जगेर्ना हुने बताउनु भयो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले कीर्तिपुरमा बासोबास गरिरहने अन्य समुदायले पनि यहाँको संस्कृति बुझ्नु पर्ने र बुझाउनु पर्ने बताउनु भयो ।

प्रत्येक दाफा खलःबाट दुई वा तीन जनासम्म प्रतिनिधिहरूलाई प्रशिक्षण दिइरहेको यस प्रशिक्षणमा नगरका अधिकांश दाफा खलःहरू सहभागी छन् । कीर्तिपुर नगरपालिकामा हालको जनप्रतिनिधि आउनु अघि जम्मा ११ वटा मात्र दाफा खलः सक्रिय रहेका थिए भने हालको जनप्रतिनिधि आइसकेपछि दाफाको महत्वलाई ध्यानदिई विभिन्न कार्यक्रम गरिएकोले हाल १७ वटा दाफा खलः सक्रिय रहेका छन् ।

यो प्रशिक्षण पश्चात यसको संख्या बढ्ने विश्वास लिइएको छ । यस दाफा संस्कृतिलाई निरन्तर सञ्चालन गर्न यसको ताल र सूर नै आधार भएकोले सबैको ताल र सूर मिलोस् भनी कीर्तिपुर नगरपालिकाले हार्माेनियम समेत वितरण गरिसकेको छ । नगरपालिकाले दुई चरणमा गरी नगरका ३३ वटा दाफा खलःलाई हार्माेनियम वितरण गरेको हो । हार्माेनियम वितरणसँगै दाफामा गीत गाउन र सूर मिलाउन यो प्रशिक्षण दिइएको हो ।

नेपालभाषा एकेदेमि हलमा तीन महिनासम्म सञ्चालन हुने यस प्रशिक्षणमा तीर्थ माली, सुरेन्द्र श्रेष्ठ र राजेन्द्र महर्जनले प्रशिक्षण दिइरहनुभएको हो । कार्यक्रममा प्रशिक्षण तीर्थ माली, कीर्तिपुर नगरपालिका वडा नं. २ का अध्यक्ष रमेशमान डंगोलले पनि आ–आफ्नो धारणा राख्नु भएको थियो भने कीर्तिपुर नगरपालिकाको नगर प्रमुख सचिवालयका विकास महर्जनले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन

काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...

३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता

वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...

६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता

नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न

तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...

२६ साउन २०८२ १४:२९ |मेट्रो संवाददाता