अल्लोका सामग्री किन्न महोत्सव कुर्छन् उपभोक्ता

अल्लोका सामग्री किन्न महोत्सव कुर्छन् उपभोक्ता

मेट्रो संवाददाता

२८ पुष २०७८ ९:१३

चितवन महोत्सव अवलोकन गर्न आउनुभएका चितवनको गीतानगरका रामनाथ वाग्ले अल्लोबाट उत्पादित सामग्री बिक्रीको कक्षमा भेटिनुभयो । टोपीका सौखिन उहाँले दुईवटा खरिद गर्नुभयो । अल्लोको टोपी किन्नकै लागि महोत्सव आएको वाग्ले बताउनुहुन्छ । अल्लोबाट बनेका टोपी खरिद गर्न पाइन्छ भनेर जानकारी पाएपछि उहाँ महोत्सवस्थलमा आउनुभएको हो ।

यसअघि पनि वाग्लेले महोत्सवकै बेला अल्लोका दुईवटा टोपी खरिद गर्नुभएको हो । अल्लोका सामग्री मेला महोत्सवमा मात्र किन्न पाइने उहाँको अनुभव छ । “अरुबेला बजारमा खोज्दा पनि भेटिँदैन”, वाग्लेले भन्नुभयो ।

यस्तै भरतपुर–४ का देवीप्रसाद शर्मा पनि अल्लोको टोपी किन्न महोत्सवस्थल आउनुभयो । वाग्ले र शर्मा जस्तै अरु धेरैले अल्लोबाट निर्मित सामान महोत्सवमै आएर किन्न पाएको बताए । सङ्खुवासभाको खाँदबारीबाट चितवन महोत्सवमा कक्ष राख्नुभएका नरेन्द्रकुमार राई अल्लोका सामग्री बेच्न भ्याइनभ्याई भएको बताउनुहुन्छ । उहाँले टोपी, हाते झोला, पर्स तथा अल्लोका कपडा बिक्री महोत्सव अवलोकनकर्ताको रोजाइमा परेको बताउनुभयो । “मेला महोत्सवकै अवसरमा अल्लोका सामान बढी बिक्री हुन्छन्”, राईले भन्नुभयो, “अरु बेला बिक्री न्यून हुन्छ ।” उहाँ चितवन महोत्सवमा पहिलोपटक आउनुभएको हो ।

नवलपुरको गैँडाकोटबाट आउनुभएकी सुस्मिता कँडेलले स्वदेशी सामान किन्न पाइन्छ कि भनेर महोत्सवमा आएको बताउनुभयो । “बजारमा भारतीय र चिनीयाँ कपडा मात्र पाइने, स्वदेशी उत्पादन किन्न महोत्सव नै कुर्नुपर्छ”, उहाँले भन्नुभयो, “अरु बेला पाउनै मुश्किल हुन्छ ।”

चितवन महोत्सवमा अल्लोबाट बनेका सामग्रीका दुईवटा मात्र कक्ष  छन् । दाङबाट आउनुभएकी शर्मिला पुनले पनि राईले जस्तै अल्लोबाट बनेका सामग्रीको कक्ष राख्नुभएको छ । उहाँ यसरी बिक्री गर्न दाङबाट चितवन चौथोपटक आउनुभएको हो । उहाँको कक्षमा पनि अल्लोबाट बनेका कोट, झोला, हाते झोला, पर्स, ढाड दुख्दा कम्मरमा बाँध्ने बेल्टलगायत सामग्री राखिएका छन् ।

अघिल्ला महोत्सवमा सामान थोरै ल्याउँदा गुनासो रहने गरेकाले यसपटक धेरै ल्याएको पुनले बताउनुभयो । “अल्लोका सामग्री धेरै बिक्ने भनेकै मेला महोत्सवमा हो”, उहाँले भन्नुभयो, “नियमित बिक्रीको वातावरण अझै बन्न सकेको छैन ।” साना उद्यमीद्वारा उत्पादित वस्तुको प्रवद्र्धनका लागि सरकारले सहयोगी भूमिका खेल्नुपर्ने उहाँको भनाइ छ । 

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता