कामपा २२ वडाद्वारा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम

कामपा २२ वडाद्वारा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम

मेट्रो संवाददाता

१ फागुन २०८१ १९:२१

विश्वभर करिब ४८ प्रतिशत मानसिक स्वास्थ्यसम्बन्धी समस्या १८ वर्षको उमेरमै देखापर्छन्,

काठमाण्डाैं : काठमाडौं महानगरपालिका वडा नं २२ को आयोजनामा “मानसिक स्वास्थ्य आजको आवश्यकता” नाराका साथ एकदिने मानसिक स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न भएको छ। Sattwa Mind Clinic को सहकार्यमा आयोजित कार्यक्रममा मानसिक स्वास्थ्यका विविध पक्षहरूबारे जानकारी दिइयो।

कार्यक्रममा वडा अध्यक्ष चिनीकाजी महर्जनले मानसिक स्वास्थ्यलाई संवेदनशील विषयका रूपमा लिँदै वडाले आगामी दिनहरूमा पनि मागअनुसार सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने बताए। उनले वडावासीलाई मानसिक स्वास्थ्यसम्बन्धी जानकारी पुर्‍याउनु आवश्यक रहेको उल्लेख गर्दै वार्षिक कार्ययोजनामै यस्ता कार्यक्रम समावेश गरिने जानकारी दिए।

अध्यक्ष चिनीकाजी महर्जनले मानिसहरू आफूसँग नभएर भन्दा पनि अरूसँग भएको देखेर दुःखी हुने मनोवृत्तिले मानसिक समस्याहरू झन् बढ्ने बताए। उनले स्वास्थ्यमा लगानी न्यून भएकाले मानिसहरू औषधि पसललाई नै पहिलो डाक्टर ठान्ने प्रवृत्ति देखिएको उल्लेख गर्दै सवारी साधनको नियमित हेरचाह गरेजस्तै आफ्नै शरीरको पनि ध्यान दिनुपर्ने आवश्यकता औंल्याए।

कार्यक्रममा त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जका प्रोफेसर डा. सरोज प्रसाद ओझा, चिकित्सक मनोविद् डा. सुरज शाक्य तथा मानसिक स्वास्थ्य विज्ञहरू सहभागी थिए। उनीहरूले मानसिक स्वास्थ्यको महत्त्व, मनोसामाजिक समस्या तथा उपचारका उपायहरूबारे जानकारी गराए। कार्यक्रममा तनाव व्यवस्थापन, सकारात्मक सोचको विकास, सक्रिय जीवनशैली तथा बालबालिका तथा किशोर-किशोरीको मानसिक स्वास्थ्यका विषयमा गहन छलफल भएको थियो।

कार्यक्रममा सहप्राध्यापक डा. सुरज शाक्यले मानसिक स्वास्थ्यको अवस्था सामान्य जीवनसँग कसरी जोडिएको छ भन्ने स्पष्ट पार्दै भने, “एक स्वस्थ मानसिकता भएका व्यक्तिले आफ्ना क्षमताहरू बुझ्न सक्छ, जीवनका तनावहरू सामना गर्न सक्छ र समुदायमा सक्रिय भूमिका खेल्न सक्छ।”

उनका अनुसार विश्वभर करिब ४८ प्रतिशत मानसिक स्वास्थ्यसम्बन्धी समस्या १८ वर्षको उमेरमै देखापर्छन्, तर धेरैजसो केसहरू समयमै पत्ता नलाग्दा उपचार नै नगरिएको अवस्थामा रहन्छन्।

मानसिक स्वास्थ्य समस्याका लक्षणहरू

विशेषज्ञहरूले मानसिक स्वास्थ्य तथा मनोसामाजिक समस्याका लक्षणहरूबारे सचेत रहन आग्रह गरे। तीमध्ये प्रमुख लक्षणहरू यस्ता छन्:
✔ एक्लोपनको अनुभूति, साथी वा परिवारबाट टाढा रहने प्रवृत्ति
✔ ध्यान केन्द्रित गर्न नसक्ने, निन्द्रामा गडबडी हुने
✔ छिट्टै थकान महसुस हुने, टाउको वा पेट दुख्ने समस्या देखा पर्ने
✔ निराशाजनक सोचहरू बढ्दै जानु, आत्महत्याको विचार आउनु

स्वस्थ मानसिकताका लागि आवश्यक उपायहरू

विशेषज्ञहरूका अनुसार मानसिक स्वास्थ्यको स्याहार गर्न निम्न उपायहरू प्रभावकारी हुन सक्छन्:
🔹 नियमित रूपमा शारीरिक व्यायाम, योग तथा ध्यान गर्ने
🔹 दैनिक कार्यतालिका बनाएर जीवनलाई व्यवस्थित राख्ने
🔹 सजिलोसँग पच्ने र पोषणयुक्त खानेकुरा खाने

कार्यक्रममा सहभागीहरूले मानसिक स्वास्थ्यसम्बन्धी चेतना फैलाउन यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्नुपर्नेमा जोड दिए। विद्यालय तहदेखि नै मानसिक स्वास्थ्यसम्बन्धी जानकारी दिनुपर्ने सुझाव सहभागीहरूले राखेका थिए।

कार्यक्रममा ७० जना भन्दा बढीको उपस्थिति रहेको थियो। कार्यक्रम संयोजकले यस्ता सचेतनामूलक कार्यक्रमलाई अन्य वडाहरूमा पनि विस्तार गर्ने तयारी भइरहेको जानकारी गराए। आयोजकका अनुसार विद्यालय, युवा समूह तथा अभिभावक लक्षित थप कार्यक्रमहरू आयोजना गर्ने योजना रहेको छ।

तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन

काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...

३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता

वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...

६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता

नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न

तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...

२६ साउन २०८२ १४:२९ |मेट्रो संवाददाता