मेट्रो संवाददाता
१३ साउन २०७७ १:१८
नेपालभाषाको माध्यमबाट स्थानीय विषय पढाउन कामपाका विभिन्न विद्यालयहरुले सहमति जनाएको छ ।
महानगरपालिका क्षेत्रभित्र रहेका सबै संस्थागत र सामूदायिक विद्यालयहरूमा कक्षा १ देखि ८ सम्म पठन–पाठन गराउनका लागि महानगरपालिकाले स्थानीय विषयको पाठ्यक्रम तयार गरेको छ ।
अब यी सबै विद्यालयहरूमा कक्षा १ देखि ८ सम्म १०० पूर्णाङ्कको स्थानीय विषयको पाठ्यक्रम पठन–पाठन हुनेछ । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्र भित्र मानिने चाडपर्व, संस्कार संस्कृति, सीप कौशल, व्यवसाय, नैतिक शिक्षा, भौगोलिक प्राक् स्वरुप, स्वास्थ्य र सरसफाई, रहनसहन, व्यक्तित्व परिचय, भाषा र लिपी जस्ता विषय बारे परिचित गराउने उद्देश्यले यस्तो पाठ्यक्रम तयार पारेको जानकारी दिएको छ ।
काठमाडौं महानगरपालिकाको स्थानीय विषय नेपालभाषाबाट पढाउने निर्णय कार्यान्वयन गर्ने बारे कामपा शहरी योजना आयोगले गरेको अन्तरक्रिया कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापकहरुले सहमति जनाएको छ ।
काठमाडौँ महानगरपालिका भित्र ९२ वटा सामूदायिक विद्यालय मध्ये ८६ वटा साधारण विद्यालय, ३ वटा विशेष र ३ वटा विद्यालय बन्दीहरुका लागि रहेका छन् । संस्थागत विद्यालयको संख्या ६ सय ४० छ ।
‘पाठ्यक्रम स्थानीय भाषा नेपालभाषाको माध्यमबाट पठनपाठन गरिने छ,’ पाठ्यक्रम तयार गर्न महानगरपालिकाले गठन गरेको पाठ्यक्रम समितिका संयोजक डा. चुन्दा वज्राचार्यले भने, ‘कक्षा १ देखि ८ सम्म पठनपाठन गराउन महानगरपालिकाले नेपालभाषाबाट तयार गरेको पाठ्यक्रम महानगरपालिकाको शिक्षा समितिबाट पारित गर्ने चरणमा छ । पाठ्यक्रम पारित हुने बित्तिकै त्यसैको आधारमा पाठ्यपुस्तक पनि तयार हुनेछ ।’ बज्राचार्यले बालबालिकालाई सिक्न सजिलो होस भन्ने उदेश्यले १ देखि ३ सम्म १०० पूर्णाङ्कमा १०० नै अभ्यासगत पठन–पाठन हुने जानकारी दिए । ‘कक्षा ४ र ५ मा ७५ अभ्यासगत र २५ सैद्धान्तिक पठन–पाठन हुने छ,’ उनले भने, ‘कक्षा ६,७ र ८ मा भने ५० अभ्यासगत र ५० सैद्धान्तिक पठन–पाठन हुने व्यवस्था गरेका छौँ ।’
काठमाडौं महानगरपालिकाको सातौं नगरसभाले स्थानीय पाठ्यक्रम अन्तर्गत स्थानीय महत्वका विषयहरू बारे महानगरवासीलाई परिचित गराउने उद्देश्यले स्थानीय भाषाबाटै पठनपाठन गर्ने निर्णय गरिसकेको छ । वज्राचार्यका अनुसार काठमाडौंको रहनसहन र जनजीवन यहींको स्थानीय भाषामा जीवन्त रहने भएकोले यसको पाठ्यक्रम पनि स्थानीय नेपालभाषामै तयार गरिएको हो । ‘यःमरि, मरुहिटी, क्वहिटी, थँहिटी आदि जस्ता रैथाने शब्दहरू अरु भाषामा बुझाउन सकिँदैन, ती कुराहरूलाई बुझ्ने मात्र होइन, विद्यार्थीहरूले त्यसलाई आत्मसात समेत गर्न सकुन भन्ने उद्देश्यले त्यस्ता स्थानहरूको अवलोकन भ्रमण सहित स्थानीय भाषामै पढाउने निर्णय भएको हो,’ डा. वज्राचार्यले बताए ।
त्यस्तै, पाठ्यक्रम तयार गर्ने अर्का सदस्य वरुणप्रसाद वैद्यले उक्त विषय पढाउनको लागि आफुहरुले शिक्षकहरुलाई तालिम दिन लागेको बताए ।
‘तालिम प्राप्त गरिसकेपछि स्थानीय विषय पढाउन सहज हुन्छ । हरेक विद्यालयमा एक शिक्षकले पाँच पिरियड पढाउने हिसावले तालिम दिन लागेका छौं,’ उनले भने ।
अर्का सदस्य नरेशवीर शाक्यले स्थानीय विषय पढाएर महानगरपालिकाले केवल नगर बारे जानकारी दिने उद्देश्य रहेको बताए ।
कार्यक्रममा ज्ञानोदय माविका प्रधानाध्यापक नातिकाजी महर्जनले महानगरपालिकाले तयार पारेको पाठ्यक्रम वास्तवमा गैर नेवारलाई मनपा बारे जानकारी दिनको लागि अपरिहार्य रुपले पढाउनु पर्ने बताए । ‘मनपा स्थानीय सरकार हो, सरकारले गरेको निर्णय पालना गर्दिन भन्नु उचित हुन्न,’ उनले भने ।
पञ्चकन्या आधारभूत माविका प्रअ विनिता रंजितले केहि नजानेका विद्यार्थीहरुलाई अंग्रेजी त पोख्त हुनेगरी पढाउन सकिन्छ भने नेपालभाषा पढाउन नसकिने कुरा नै नहुने भन्दै त्यसका लागि शिक्षक व्यवस्थापन राम्ररी हुनु पर्ने बताए ।
प्रभात माविका प्रअ राजेश्वर श्रेष्ठले हरेक स्कूलमा नेवार भाषा जानेका शिक्षकहरुलाई नै यसमा सक्रिय गराउनु पर्ने भन्दै यसलाई अनलाइन कक्षा पनि सञ्चालन गर्नु पर्ने बिचार राखे ।
गीतामाता माविका प्रअ हरि श्रेष्ठले साना बालबालिकालाई सनो सानो कुरा सिकाउँदै उक्त विषय पढाउनु पर्ने बताए ।
सरश्वती निकेतनका प्रअ रविना महर्जनका अनुसार कामपाको यो निर्णय ऐतिहासिक हो । उनले यसलाई सफल पार्नै पर्ने बताए ।
विश्वनिकेतन माविका प्रअ हेरम्बबहादुर कँडेलले काठमाडौंको जानकारी दिन यो पाठ्यक्रम तयार गरिएको एकदम राम्रो हो तर, आजकाल स्कूलमा नेवार विद्यार्थीहरु कम भएकोले नेपालभाषाबाट पढाउन सुरुमा केहि समस्या आउने हो की भन्ने आशंका व्यक्त गरे ।
कामपा शिक्षा विभागका अधिकृत मोति खनालले काठमाडौं नगरको बारे काठमाडौंको भाषामा जान्न र सिक्न पाउने राम्रो कुरा भएको बताउँदै थप एउटा भाषा सिकेर केही हानी नहुने बताए ।
त्यस्तै शिक्षा विभागका निमित्त प्रमुख तारापति खरेलले कामनपाले तयार पारेको नेपालभाषाको यो पाठ्यक्रम लागू गर्ने सवालमा केही चुनौती आउने देखिएता पनि कामपाले त्यसको सामना गरी अघि बढ्ने प्रतिवद्धता जनाए ।
कार्यक्रमलाई मनपा शहरी योजना आयोगका सदस्य गुजेश्वरी श्रेष्ठले सहजीकरण गरेका थिए ।
RECOMENDED News
Latest News
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн)
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн) ▶️ OYNA Содержимое Pinco Casino Azərbaycanda Pinco...
२९ जेठ २०८३ २३:१४ |मेट्रो संवाददाता
तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन
काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...
३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता
वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...
६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता
नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न
तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...


