मेट्रो संवाददाता
२८ फागुन २०७७ २२:५०
काठमाडौँ महानगर क्षेत्र भित्रका विद्यालयमा अब १ देखि ८ सम्म १०० पूर्णाङ्कको स्थानीय विषयको पठन–पाठन
काठमाडौं । काठमाडौं महानगरपालिकाले आधारभूत तहको स्थानीय पाठ्यपुस्तक तथा पाठ्यक्रम ‘येँ देय् म्हसीके’ (काठमाडौं चिनौं) को विमोचन भएको छ । काठमाडौं महानगरपालिका शिक्षा विभागले आयोजना गरेको कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ, काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ , प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, सहरी योजना आयोगका निमित्त उपाध्यक्ष गुजेश्वरी श्रेष्ठसहित अधिकारीले संयुक्त रुपमा ती पुस्तकको विमोचन गर्नुभएको हो ।
विमोचन कार्यक्रममा बोल्नुहुँदै मन्त्री श्रेष्ठले काठमाडौँ महानगरपालिकाले स्थानीय शिक्षाको क्षेत्रमा ऐतिहासिक र साहसिक काम गरेको भन्दै प्रसंषा गर्नुभयो । ‘काठमाडौँ महानगरपालिकाले स्थानीय शिक्षाको क्षेत्रमा ऐतिहासिक र साहसिक काम गरेको छ,’ मन्त्री श्रेष्ठले भन्नुभयो, ‘तल्लो तहदेखि नै काठमाडौं चिनौँ पाठ्यक्रम लागु गरेर स्थानीय भाषाका लागि रोजगारीको समेत अवसर सिर्जना गरेको छ । यो ठूलो काम हो ।’

मन्त्री श्रेष्ठले मेयर शाक्य उपत्यका नगरपालिका फोरमको समेत अध्यक्ष भएको भन्दै अब विस्तारै कम्तीमा पनि काठमाडौँ र उपत्यकामा यो शिक्षा लागु गर्ने एजेण्डा बनाएर अघि बढ्न सुझाव दिनुभयो ।
प्रमुख शाक्यले यःमरि, मरुहिटी, क्वहिटी, थँहिटी आदि जस्ता रैथाने शब्दहरू अरु भाषामा बुझाउन सकिँदैन, ती कुराहरूलाई बुझ्ने मात्र होइन विद्यार्थीहरूले त्यसलाई आत्मसात समेत गर्न सकुन भन्ने उद्देश्यले त्यस्ता स्थानहरूको अवलोकन भ्रमण सहित स्थानीय भाषामै पढाउने गरी पाठ्यक्रम तयार पारेको जानकारी दिनुभयो ।
‘पाठ्यक्रम बनाएर पाठ्यपुस्तक तयार पार्नेसम्मको चरणमा आउँदा धेरै चुनौतिलाई अवसरका रुपमा परिणत गर्न सफल भएका छौँ,’ शाक्यले भन्नुभयो, ‘हामी सामूदायिक विद्यालयको स्तर उकास्ने अभियानमा छौँ । सामूदायिक विद्यालयको स्ततरोन्नती गर्ने हो भने संस्थागत विद्यालय स्वतः कमजोर भएर जान्छन् ।’

शाक्यले काठमाडौँ नेवारहरुको बाहुल्यता रहेको ठाउँ भएको र यहाँ ७७ वटै जिल्लामा नागरिक बसोबास गर्ने भएकाले सबैलाई यहाँको हावापानी, संस्कृति, परम्पराबारे जानकारी दिने उदेश्यले यो शिक्षा लागु गरेको पनि जानकारी दिनुभयो । ‘विदेश र उपत्यका बाहिर जाँदा यहाँको संस्कृति परम्पराबारे दुई शब्द बोल्न सकुन भनेर यो शिक्षा लागु गरेका हौँ,’ उहाँले भन्नुभयो, ‘काठमाडौँ मानवनिर्मित महानगर हो ।
यहाँका गुठी–परम्परा, जात्रा–पर्वलगायतले आत्मिएता बढाएको छ । अनेकतालाई एकतामा बाँधेको छ । यो शिक्षाले यसलाई अझ बलियो बनाउने अपेक्षा गरेका छौँ ।
उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले पनि यहाँका गुठी–परम्परा, जात्रा–पर्वलगायतका बारेमा विदेशमा जानकारी दिनलाई शिक्षा उपयोगी हुने बताउनुभयो । काठमाडौं महानगरपालिका क्षेत्र भित्र मानिने चाडपर्व, संस्कार संस्कृति, सीप कौशल, व्यवसाय, नैतिक शिक्षा, भौगोलिक प्राक् स्वरुप, स्वास्थ्य र सरसफाई, रहनसहन, व्यक्तित्व परिचय, भाषा र लिपी जस्ता विषय बारे परिचित गराउने उद्देश्यले उक्त विषयको पठन–पाठन सुरु गरेको उहाँको भनाइ छ ।
आधारभत तह कक्षा १ देखि कक्षा ८ सम्म हुने भए पनि आज कक्षा १ देखि ४ सम्मको पाठ्यपुस्तक विमोचन गरिएको हो । काठमाडौं महानगरपालिकाले आफु मातहत रहेका सम्पूर्ण सामुदायिक र निजी विद्यालयहरूमा यसै वर्षदेखि उक्त पाठ्यपुस्तक पठनपाठन गर्ने निर्णय गरिसकेको छ ।
नेपालको संविधानको भाग ३ मौलिक हक अन्तर्गत धारा ३२ को उपधारा (२) व (३) मा मुलुकको हरेक स्थानीय तहबाट आफू मातहत रहेका सामुदायिक र संस्थागत विद्यालयहरूमा स्थानीय पाठ्यक्रमका रूपमा आफैले एक विषय अध्ययन अध्यापन गराउन सकिने व्यवस्था गरिएको छ ।
काठमाडौं महानगरपालिकाले सोही व्यवस्था अन्तर्गत यो पाठ्यपुस्तक तयार गरेको हो ।
काठमाडौं महानगरपालिका क्षेत्रभित्र मूलतः नेपालभाषाभाषीहरूको बाहुल्यता रहेको कारणले महानगरपालिकाले नेपालभाषाको माध्यमबाट उक्त पाठ्यक्रम पठनपाठन गर्ने नीति लिएको हो ।
पाठ्यपुस्तक र पाठ्यक्रम लेखनमा शुरुदेखि सहभागी हुँदै आउनुभएका वरिष्ठ संस्कृतिविद् डा. चुन्दा वज्राचार्य पाठ्यपुस्तक नेपालभाषामा लेखिएको भए पनि यो भाषा सिकाउने पुस्तक नभएको बताउनुहुन्छ । पाठ्यपुस्तकमा काठमाडौं महानगरभित्र रहेका विभिन्न जात्रा, पर्व, ढुंगेधारा, पाटी, सत्तल, व्यक्ति आदि सम्बन्धी पाठहरू मात्र समावेश गरिएको उहाँको भनाई छ ।
पाठ्यपुस्तकमा काठमाडौंका प्रमुख जाति नेवारको जनजीवन, कला, खानपान, जात्रापर्व, भाषा, लिपि, परम्परागत खेलजस्ता विषय समेटिएका छन् । पाठ्यपुस्तक लेखन समितिका प्रमुख प्राविधिक सल्लाहकार एवं लेखक वरुणप्रसाद वैद्यकाअनुसार, बालबालिकालाई नेपाल भाषा लाद्ने गरी होइन, परम्परागत ज्ञानसीपबारे जानकारी दिने गरी पाठ्यक्रम विकास गरिएको छ । पुस्तकको अध्ययनले काठमाडौं महानगरलाई नजिकै रहेर हार्दिकतापूर्वक बुझ्न सकिने बताउनुभयो ।
बालबालिकालाई सिक्न सजिलो होस भन्ने उदेश्यले १ देखि ३ सम्म १०० पूर्णाङ्कमा १०० नै अभ्यासगत पठन–पाठन गरिने छ । ‘कक्षा ४ र ५ मा ७५ अभ्यासगत र २५ सैद्धान्तिक पठन–पाठन हुने छ,’ शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदीले भन्नुभयो, ‘कक्षा ६, ७ र ८ मा भने ५० अभ्यासगत र ५० सैद्धान्तिक पठन–पाठन हुने व्यवस्था गरेका छौँ ।’
काठमाडौं महानगरपालिकाको सातौं नगरसभाले स्थानीय पाठ्यक्रम अन्तर्गत स्थानीय महत्वका विषयहरू बारे महानगरवासीलाई परिचित गराउने उद्देश्यले स्थानीय भाषाबाटै पठनपाठन गर्ने निर्णय गरेको थियो ।

RECOMENDED News
Latest News
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн)
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн) ▶️ OYNA Содержимое Pinco Casino Azərbaycanda Pinco...
२९ जेठ २०८३ २३:१४ |मेट्रो संवाददाता
तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन
काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...
३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता
वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...
६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता
नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न
तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...


