७ जेष्ठ २०८१, सोमबार | Monday, 20 May, 2024

हङकङमा एकै व्यक्तिमा दोस्रो पटक कोरोना संक्रमण

एजेन्सी । हङकङका एक व्यक्ति दास्रोपटक कोरोना भाइरसबाट संक्रमित भएको छ । यस घटनालाई वैज्ञानिकहरुले संसारको पहिलो घटना भएको दावी गरेका छन् ।

४ महिनाअगाडि पहिलोपटक कोरोनाबाट संक्रमित भएका ३० वर्षीय उक्त व्यक्तिमा दोस्रोपटक कोरोना भएको एकदमै दुर्लभ घटना हो ।

हङकङ विश्वविद्यालयको रिपोर्टअनुसार उक्त व्यक्ति १४ दिन अस्पतालमा उपचार गरेपश्चात कोरोना संक्रमण निको भएका थिए । संक्रमण निको भएपश्चात घर फर्केका थिए । एयरपोर्टमा स्वास्थ्य जाँचकोक्रममा उनीमा पुनः कोरोना संक्रमणको पुष्टि भएको हो ।

“पहिलो पटक कोरोना संक्रमणबाट निको भएको साढे चार महीनापछि एक स्वस्थ्य युवालाई दोस्रो पटक संक्रमण पुष्टि भएको छ ”, हङकङ विश्वविद्यालयका एक अनुसन्धानकर्ताले भनेका छन् ।

उही व्यक्तिमा कोरोनाभाइरसको पुनःसंक्रमण भेटिएसँगै केही व्यक्तिहरुमा यो भाइरसविरुद्धको प्रतिरोधात्मक शक्ति केही महीनासम्म मात्रै रहने निष्कर्षमा अनुसन्धानकर्ताहरु पुगेका छन् ।

ती युवामा पहिलो पटक कोरोना भाइरस संक्रमणका क्रममा सामान्य लक्षण मात्र देखिएका थिए । पुनःसंक्रमणमा भने उनमा कुनै पनि लक्षण देखिएको छैन ।

ती युवा पछिल्लोपटक स्पेन भ्रमणबाट फर्किएका थिए । उनी भ्रमणकै क्रममा नयाँ कोरोनाभाइरसबाट संक्रमित भएको चिकित्सकको ठहर छ ।

उनमा देखिएका अहिलेका लक्षण गत जुलाईमा युरोपमा देखिएको भाइरससँग मिल्दो खालको भएको अनुसन्धानकर्ताहरुले बताएका छन् ।

लण्डन स्कुल अफ हाइजिन र ट्रपिकल साइन्सका प्रोफेसर ब्रेन्डन रेनका अनुसार कोरोना संक्रमण फर्किने एकदमै दुर्लभ घटना हो । यस घटनाबाट के प्रमाणित हुन्छ भने भाइरसले समयअनुसार आफुलाई परिवर्तन गर्छ त्यसैले यसविरुद्ध खोपको अत्यन्तै जरुरी छ ।

जब कोही ब्यक्तिलाई कोरोना संक्रमण भएर निको हुन्छ उनको शरीरमा रोग प्रतिरोधात्मक क्षमता बिकास हुन्छ र भाइरसलाई फेरी शरीरमा प्रवेश गर्नबाट रोक्छ ।

तर, हङकङका अनुसन्धानकर्ताहरुले दोस्रो पटकको संक्रमणको कारण र भाइरसको प्रकृतिबारे समेत गरेको यो पहिलो अनुसन्धान भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *